२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सब्जीमन्डीमा भीड

जिल्लामा तीन दिनमै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ
भवानी भट्ट

कञ्चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कञ्चनपुरमा निषेधाज्ञा लागू भएको दुई साता पुग्यो । स्थानीय प्रशासनले सातामा तीन दिन बिहान ३ घण्टा मात्रै तरकारी तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु किनमेलको समय तोकेको छ । तर यही खुला अवधिमा हुने अनियन्त्रित भीडले संक्रमणको जोखिम झनै बढाएको छ ।

सब्जीमन्डीमा भीड

बिहान किनमेलका लागि हुने भीडभाडमा स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पालना भएको हुँदैन । जिल्लामा तीन दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । आइतबार ५, सोमबार ७ र मंगलबार १५ जनाको मृत्यु भएको छ । तर बिहानको समयमा किनमेलका लागि हुने भीडभाड अझै घटेको छैन । ‘प्रशासनले निषेधाज्ञा जारी गरेको छ, तर बजारमा किनमेलका लागि भीडभाड छ,’ महेन्द्रनगर सब्जीमन्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले भने, ‘बिहान तरकारी किन्नेको भीडले जात्रा लागे जस्तै हुन्छ ।’ स्थानीय प्रशासनलाई एक हप्ताअघि नै तरकारीदेखि खाद्यान्नलगायत सबै किसिमका पसलहरू बन्द गर्न आग्रह गरेपछि बेवास्ता भएको उनले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा समेत पटकपटक तरकारी र खाद्यान्न लगायतका पसलसमेत बन्द गर्न आग्रह गरेको अध्यक्ष सोनारले बताए । ‘संक्रमण बढेकै छ, मृत्यु दर झनै बढेको छ, हामीले यो चेन ब्रेक गर्न एक हप्ता पूर्ण लकडाउन या कर्फ्यु लगाउन समेत भनेका हौं,’ उनले भने, ‘तर हाम्रो कुरा कसैले सुनेन, अहिले मृत्यु हुनेको संख्या दैनिक बढ्नुमा यो भीडभाड पनि एउटा कारण हुन सक्छ ।’

स्थानीयले सामाजिक सञ्जालहरूमा समेत तरकारी र खाद्यान्नलगायतको किनमेलका लागि महेन्द्रनगर बजारमा हुने भीडभाड नियन्त्रण गर्न कर्फ्यु लगाउनसमेत आग्रह गरेका छन् । उनीहरूले हरेक दिन बिहान देखिने भीडभाडले जोखिम बढ्दै गएको भन्दै प्रशासनको बेवास्ताप्रति आक्रोश समेत पोखेका छन् ।

‘कञ्चनपुरमा मानवीय क्षति कम गर्नु छ भने तत्काल तरकारी बजार र किराना पसलहरू पूर्ण रूपमा दुई हप्ताका लागि कडाइका साथ बन्द गरिनुपर्छ,’ महेन्द्रनगरका स्थानीय उत्तम विष्टले भने, ‘कोरोना संक्रमण समुदायमा प्रवेश गरिसकेको अवस्थामा विवाहलगायत भोजभतेरहरू पनि बन्द गरिनुपर्छ ।’ उनले पछिल्लो समय दिनहुँ वृद्धि भइरहेको संक्रमण र मृत्युदरका कारण पनि बजार क्षेत्रकै भीडभाड भएको बताए ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?