कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

टीकापुरमा संक्रमितको चाप

लक्षण भएका धेरै छन् तर समयमै परीक्षण हुन सकेन
गणेश चौधरी

कञ्चनपुर — कैलालीको टीकापुर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । अस्पतालमा बिरामीको चाप घटेको छैन । चिकित्सकहरू अझै २/३ साता संक्रमित र मृत्युदर बढ्ने अनुमान गरिरहेका छन् ।

टीकापुरमा संक्रमितको चाप

टीकापुर अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डा. रमेश उपाध्यायले कोरोना समुदायस्तरमै फैलिएको र संक्रमणको अवस्था भयावह भइसकेको बताउँछन् । ‘दुई साताअघि नै कोरोनाका लक्षण भएका केसहरू आउन सुरु भएको हो,’ डा. उपाध्यायले भने, ‘तर समयमै कोरोना जाँचको राम्रो प्रबन्ध भएन । आइसोलेसनमा राख्ने व्यवस्था पनि भएन । समुदायमा भयावह रूपमा फैलियो ।’

टीकापुर नगरपालिका–८ का धनसिंह साउद सरकारले गत वर्षको जस्तो सजगता नअपनाएको बताउँछन् । उनले भने, ‘भारतबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ गर्नेलगायतका काम भएन ।’

समुदायमा कोरोनाका लक्षण भएका बिरामी भए पनि गम्भीर नभएसम्म घरमै रहने गरेको डा. उपाध्यायले बताए । ‘घरमा थेग्न नसकेर सिरियस भएर मात्र बिरामी अस्पताल आउँछन्,’ डा. उपाध्याय भन्छन्, ‘अस्पताल आएकामध्ये २५ प्रतिशत जति बिरामी क्रिटिकल अवस्थाका छन् ।’ १५ शय्या क्षमताको अस्पतालमा हाल ३९ संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा अक्सिजनको अभाव पनि उत्तिकै छ । ‘अक्सिजनको ब्याकअप नहुँदा बिरामीको ज्यान जाने गरेको छ,’ डा. उपाध्यायले भने । समुदाय स्तरमा फैलिए पनि परीक्षण भने प्रभावकारी रूपमा हुन सकेको छैन । टीकापुरमा कोरोना परीक्षणका लागि संकलित स्वाब धनगढी पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा एक साता लाग्ने गरेको छ । कोरोनाको लक्षण भएका धेरै छन् तर समयमै परीक्षण हुन नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?