धमाधम आइसोलेसन बन्दै

जिल्लामा ६ सयभन्दा बढी संक्रमित 
११५ जना आइसोलेसन सेन्टरमा, अरु होम आइसोलेसनमा
तृप्ति शाही

बैतडी — जिल्लाका स्थानीय तह आइसोलेसन केन्द्र निर्माणमा जुटेका छन् । अहिले १० वटै स्थानीय तहमा कोरोना संक्रमितलाई राख्न आइसोलेसन केन्द्र निर्माणमा जुटेका हुन् । सोमबारसम्म जिल्लाका १८ स्थानमा २ सय ५६ बेड तयार भइसकेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।

धमाधम आइसोलेसन बन्दै

जिल्ला अस्पतालमा अहिले १६ बेडको आइसोलेसन सञ्चालनमा छ । यसबाहेक सदरमुकाममै रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा ५० बेडको छ । शाहीलेकमा १९ बेडको सञ्चालनमा आएको छ । जिल्लामा संक्रमितको संख्या ६ सय नाघिसकेको छ । १ सय १५ जना आइसोलेसनमा बसेका छन् । अरू होम आइसोलेसनमा बसेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

पालिकाहरूले स्थापना गरेका कुनै आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था पनि गरिएको छ । सुर्नया गाउँपालिकाले ३० बेडको आइसोलेसन सेन्टरमा ५ वटा अक्सिजन सिलिन्डरसहितको बनाइएको अध्यक्ष वीरबहादुर विष्टले बताए । उनले भने, ‘हामीले संक्रमितलाई सवारीसाधनको व्यवस्थापन पनि पालिकाले नै गर्ने निर्णय पनि गरेका छौं ।’

यस्तै १० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको डिलासैनी गाउँपालिकाले पालिकाको एक एम्बुलेन्ससँगै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीलाई पनि कोरोनाका संक्रमितहरूका लागि प्रयोग गर्ने निर्णय गरेको छ । दोगडाकेदार गाउँपालिकाले पनि संक्रमित बोक्नका लागि ३ वटा गाडीको व्यवस्था गरेको बताएको छ ।

अस्पतालमा अक्सिजन हाहाकार

थेग्नै नसक्ने गरेर बिरामीको चाप बढिरहेकाले अक्सिजनको हाहाकार भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा अक्सिजन सकिएर उपचारमा समस्या हुन थालेको अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘१५ जना संक्रमित भर्ना छन् । त्यसमा १२ जना अक्सिजन चाहिने हुनुहुन्छ,’ उनले भने, ‘यही अवस्थामा अरू अक्सिजन चाहिने बिरामीहरू थप भएमा भने भर्ना गर्नै नसकिने अवस्थामा पुगेका छौं ।’

बचाउन सकिने बिरामीहरूलाई पनि अक्सिजनकै अभावमा नसकिने अवस्थामा पुगेको डा. जोशीले बताए । स्रोतसाधन र जनशक्तिभन्दा दोब्बर बिरामी भर्ना गरेको र प्रतिदिन बढिरहेको डा. जोशीको भनाइ छ ।

प्रदेश सरकारले जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट निर्माणका लागि ८० लाख दिने पत्र पठाए पनि प्लान्ट बनाउन कम्तीमा २ महिना लाग्ने डा. जोशीले बताए । ‘असार मसान्तमै पनि हुन्छ कि हुँदैन हेरौं । सरकारी प्रक्रियाअनुसार काम अगाडि बढाएका छौं । बनाउन पनि समय लाग्न सक्छ’ उनले भने ।

प्रकाशित : वैशाख २८, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?