कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

त्रिपाल टाँगेर होल्डिङ सेन्टर

भवानी भट्ट

कञ्चनपुर — भारतबाट घर फर्किनेलाई नाकामा स्वास्थ्य परीक्षणपछि गन्तव्यमा पठाउने बेलासम्मका लागि बस्न बनाउने भनिएको होल्डिङ सेन्टर अझै बन्न सकेको छैन । प्रदेश सरकारले स्थायी प्रकृतिको होल्डिङ सेन्टर निर्माण गर्ने भने पनि अहिले त्रिपाल टाँगेर बनाउन थालिएको छ । 

त्रिपाल टाँगेर होल्डिङ सेन्टर

सेनाको टोली बाँसमा पाल टाँगेर होल्डिङ सेन्टर बनाउने काममा जुटेका छन् । तर न त त्यहाँ बस्न कुनै साधन छ, नत बिरामीलाई सुताउने बेडहरू नै । ‘अहिले पाल टाँगेर छाप्रो मात्रै बनाइएको छ, प्रयोगमा आइसकेको छैन,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘अहिले भित्र बस्ने वा बिरामी राख्ने साधन पनि छैन ।’

भारतबाट घर फर्किनेको विवरण संकलनदेखि स्वास्थ्य जाँचपछि उनीहरूलाई गन्तब्यतर्फ पठाउने काम होल्डिङ सेन्टरमै हुनुपर्ने हो । सबै काम एकै ठाउँमा हुँदा सहज पनि हुन्छ । परीक्षणका क्रममा पोजिटिभ देखिएका र गम्भीर बिरामी भएकालाई राख्नका लागि बेडहरू पनि अनिवार्य हुनुपर्छ । ‘परीक्षणदेखि विवरण संकलन तथा गन्तव्यमा पठाउने काम एकै ठाउँमा हुँदा छिटो र सजिलो हुन्थ्यो,’ बारुडीले भने, ‘तर अहिले विवरण एक ठाउँमा संकलन हुन्छ, परीक्षण अर्को ठाउँमा र त्यसपछि घरतर्फ अर्कै ठाउँबाट पठाइन्छ ।’ यसले घर फर्किने र व्यवस्थापनमा जुटेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सबैलाई झन्झटिलो बनाएको छ ।

सरकारले गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणको योजना अघि सारेको हो । तर हालसम्म पनि प्रदेश सरकारबाट बजेट प्राप्त नभएपछि भीमदत्त नगरपालिका र निड्स नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा अस्थायी खालको होल्डिङ सेन्टर निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । ‘हावाहुरी र वर्षाका बेलासमेत घर फर्किनेलाई बस्ने ठाउँ नै भएन, खुलाचौरमै जाँच र विवरण संकलन गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘प्रदेशको बजेट आएपछि स्थायी खालको बनाउँछौं, अहिले यसैले काम चलाउँछौं ।’ उनले भारतबाट फर्किनेलाई केही समय होल्ड गर्नका लागि सहज हुने बताए । ‘अहिले दशगजामै रोकेर विवरण संकलनदेखि परीक्षण र गन्तव्यमा पठाउने काम भइरहेको छ,’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रराज जोशीले भने, ‘होल्डिङ सेन्टर बनेपछि कम्तीमा यो समस्या समाधान हुनेछ ।’ उनले यात्रुहरूका लागि बस्न तथा बिरामीका लागि बेडहरूको अभाव रहेकाले छिट्टै व्यवस्थापन गरिने बताए ।

घर फर्किनेको चाप घट्दै

भारतमो कोरोना संक्रमण तीव्र गतिमा बढेसंँगै विभिन्न राज्यहरूमा लकडाउन भएपछि घर फर्किने नेपालीको संख्या पनि कम हुन थालेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक साताअघिसम्म दैनिक ७/८ सयको संख्यामा नेपालीहरू घर फर्किरहेका थिए । अहिले उक्त संख्या घटेर दुई/अढाई सयमा झरेको छ ।

‘भारमा पनि ठाउँठाउँमा लकडाउन र कर्फ्यु लागेको छ, यात्रा गर्नै गाह्रो भएको छ,’ गड्डाचौकी नाकाबाट घर फर्किनेको पीडा सुनाउँदै हेल्थ डेस्कका इन्चार्ज बारुडीले भने, ‘फेरि धेरैजसो नेपाली घर फर्किसकेका छन् ।’

प्रकाशित : वैशाख २८, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?