कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दार्चुलामा घरबाटै परीक्षा

‘कोरोनाको संक्रमण कम भएपछि विद्यार्थीलाई उत्तरपुस्तिका विद्यालयमा पुर्‍याउन अभिभावकहरुलाई सूचना गरिसकेका छौं’
मनोज बडू

दार्चुला — वार्षिक परीक्षा लिने समयमा कोरोनाको दोस्रो लहर सुरु भएपछि विद्यालयले घरबाटै परीक्षा दिन लगाएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहलाई तत्कालका लागि वैकल्पिक माध्यमबाट परीक्षा गर्न अनुरोध गरेको थियो ।

दार्चुलामा घरबाटै परीक्षा

परीक्षा हुने सातादेखि नै लकडाउन सुरु भएको हुनाले घरबाटै परीक्षा दिन लगाएको महाकाली नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । महाकाली नगरका विद्यालय निरीक्षक मानसिंह धामीले ९ कक्षासम्मका विद्यार्थीले घरमै बसेर परीक्षा दिइरहेको बताए ।

नगरपालिकाले विद्यालयमार्फत वैशाखको दोस्रो साता घरमै बसेर परीक्षा दिन प्रश्नपत्र र उत्तरपुस्तिका विद्यार्थीलाई दिन लगाएको छ । विद्यालय बन्द छन् । भीडभाड नगरी विद्यालयमा विद्यार्थीलाई कक्षागत रूपमा बोलाएर पेपर र उत्तरपुस्तिका उपलब्ध गराएर घरबाट परीक्षा दिन लगाइएको महेन्द्र नमुना माविका प्रअ रामदत्त जोशीले बताए । उनका अनुसार उतिबेला वैशाख २३ गतेसम्म विद्यार्थीलाई परीक्षाको उत्तरपुस्तिका विद्यालयमा बुझाउन भनिएको थियो । कोरोनाको संक्रमण तीव्र फैलिँदै गएपछि विद्यार्थीहरूले लेखेको उत्तरपुस्तिका बुझाउन सकेका छैनन् । उनले भने, ‘कोरोनाको संक्रमण कम भएपछि विद्यार्थीलाई उत्तरपस्तिका विद्यालयमा पुर्‍याउन अभिभावकहरूलाई सूचना गरिसकेका छौं ।’

विद्यार्थीहरूले अहिलेको परीक्षामा स्वतन्त्र हिसाबले लेख्न पाएका छन् । यसले विद्यार्थीको लेखाइको मापन हुने शिक्षक जोशीको बुझाइ छ । ‘विद्यार्थीहरूको शैक्षिकस्तर शिक्षकहरूलाई केही हदसम्म थाहा हुन्छ,’ उनले भने, ‘विद्यार्थीले किताब र

उत्तरपुस्तिका हेरेर लेखेको थाहा भइहाल्छ । घरबाटै भए पनि जुन विद्यार्थीले मौलिकता दिन्छ, त्यस विद्यार्थीको पढाइ र बुझाइको स्तर पनि मापन गर्न सहज हुन्छ ।’ यो परीक्षाको माध्यमबाट विद्यार्थीको लेखाइको स्तरसमेत बुझ्न सजिलो हुने उनी बताउँछन् । त्यस्तै, शैल्यशिखर नगरपालिकामा वैशाख १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने विद्यालयको तयारी थियो । तर त्यसको अघिल्लो दिन जिल्लाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय भएसँगै प्रश्नपत्र र उत्तरपुस्तिका दिएर परीक्षा घरबाटै लिन लागेको छ ।

जिल्लाका सबैजसो स्थानीय तहका विद्यालयले परियोजना कार्यविधिबाट परीक्षा लिन लागेका हुन् । कक्षा १ देखि ९ सम्मका सम्पूर्ण कक्षाका विद्यार्थीको परीक्षा अहिले परियोजना विधिबाट गर्न लागिएको हो । मालिकार्जुन गाउँपालिकाले सम्पूर्ण विद्यालयका विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने भएको हो । यसमा पूर्व परीक्षाफलका आधारमा ४० प्रतिशत, विषयगत परियोजना कार्यका आधारमा ४० प्रतिशत, विद्यार्थीको उपस्थितिका आधारमा १० प्रतिशत र अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा १० प्रतिशत गरी १ सय प्रतिशतको मूल्यांकन हुनेछ । विद्यालयले जेठ ७ गतेभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्नेछ ।

प्रकाशित : वैशाख २८, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?