महाकाली अस्पतालमा अक्सिजन अभाव

अहिले ६० संक्रमित उपचाररत रहेकोमा ९० प्रतिशतलाई अक्सिजन आवश्यक
भवानी भट्ट

कञ्चनपुर — शुक्रबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा अक्सिजन सकियो । नेपालगन्जबाट आउन लागेको अक्सिजन पुग्न ढिला भए पछि आधा घण्टासम्म बिरामीलाई अक्सिजन पुर्‍याउन निकै सास्ती भयो ।

महाकाली अस्पतालमा अक्सिजन अभाव

अस्पतालकै अक्सिजन प्लान्टबाट अलिअलि भरेर बिरामीलाई दिइयो । ‘आधा घण्टापछि नेपालगन्जबाट अक्सिजन नआएको भए धेरै क्षति व्यहोर्नुपर्थ्यो,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘एक/डेढ हप्तादेखि यसरी नै चलिरहेको छ, कतिबेला सकिन्छ भन्ने चिन्ता हुन्छ ।’ उनका अनुसार कोरोना संक्रमितको चाप बढ्दै गएर अक्सिजनको माग पनि बढेको छ । खाली सिलिन्डर अभावका कारण अक्सिजन आपूर्ति हुन सकिरहेको छैन ।

अहिले महाकाली अस्पतालमा ६० संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ९० प्रतिशतलाई अक्सिजन आवश्यक पर्छ । दैनिक १ सय सिलिन्डर अक्सिजन आवश्यक परिरहेको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए । उनका अनुसार आईसीयूमा भर्ना भएका बिरामीलाई ५० र अन्य बिरामीलाई ५० सिलिन्डर आवश्यक छ ।

अहिले अस्पतालको प्लान्टबाट दिनमा ६ सिलिन्डरमात्रै भरिन्छ । बाँकी नेपालगन्जबाटै मगाएर आपूर्ति भएको छ । धनगढीमा रहेको उद्योगबाट पनि थोरै मात्रै उत्पादन हुने गरेको छ, जुन धनगढीकै लागि अपुग हुन्छ । ‘शुक्रबार अक्सिजन सकिँदा निकै समस्या पर्‍यो, बिरामीहरूमा पनि मनोवैज्ञानिक त्रास बढ्छ,’ डा. रोकायाले भने, ‘कताकताबाट व्यवस्थापन गरियो, अस्पतालकै प्लान्टबाट पनि सबै सिलिन्डरमा अलिअलि भरेर काम चलायौं ।’

यस क्षेत्रका व्यवसायी र विभिन्न संघसंस्थाले अक्सिजनका लागि सहयोग गरिरहेका छन् । तर उनीहरूले खाली सिलिन्डर भरेर मात्रै ल्याउने काम गरिरहेका छन् । अहिले खाली सिलिन्डरकै अभाव भएका कारण समेत नेपालगन्जबाट भरेर ढुवानी गरि यहाँ पुर्‍याउन समस्या भएको छ । ‘खाली सिलिन्डरकै बढी अभाव देखियो,’ अस्पताल विकास समितिका अध्यक्ष जोशीले भने, ‘५०/५० सिलिन्डर भरेर ल्याउँदा पनि यहाँ सकिनै लागेको जस्तो हुन्छ ।’

अहिलेको बिरामीको अनुपात हेर्दा अस्पतालमा २ सय खाली सिलिन्डर आवश्यक पर्ने जोशी बताउँछन् । उनका अनुसार सय सिलिन्डर स्टक राख्ने र अर्को सय सिलिन्डर भर्न पठाउने गरी व्यवस्थापन गर्न सके मात्रै अहिलेको अभाव टर्ने देखिन्छ । ‘अहिले त साँझ ल्याए बिहानको चिन्ता, बिहान ल्याए साँझको चिन्ता छ,’ उनले भने, ‘यसरी कहिलेसम्म गुजारा चलाउने ?’

महाकाली अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उत्पादन क्षमता निकै कम भएका कारण पनि समस्या चर्किएको हो । अस्पताल विकास समितिले त्यतिबेलै ठूलो प्लान्ट बनाउने योजना अघि सारेको थियो । तर प्रदेश सरकारले बजेट नदिएका कारण सानो प्लान्ट बनाइएको अध्यक्ष जोशी बताउँछन् । ‘अब अक्सिजनको दीगो समाधानका लागि ठुलो प्लाण्ट निर्माण तर्फ जानुपर्छ,’ जोशीले भने, ‘यसका लागि हामीले कुरा अघि बढाएका छौं, कसै न कसैले अगुवाइ गर्नुपर्छ ।’ दिनहुँ बस्ने जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा समेत अक्सिजनको दिगो व्यवस्थापनका विषयमा अगाडि बढ्न आग्रह गरेको उनले बताए ।

अहिले जिल्लाका विभिन्न व्यक्ति, सहकारी संस्थाहरू र उद्योगी व्यवसायीहरूले महाकाली अस्पताललाई अक्सिजनका लागि सहयोग प्रदान गर्दै आएका छन् । कसैले एक हप्तासम्म दैनिक ५० सिलिन्डर अक्सिजन दिने प्रतिबद्धता जनाएका छन् भने कसैले १० दिनसम्म दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धताअनुसार अकिसजन उपलब्ध पनि भइरहेको छ । तर खाली सिलिन्डरकै अभावका कारण अहिलको आवश्यकताअनुसारको नियमित आपूर्तिको समस्या समाधान हुन सकिरहेको छैन । अस्पतालमा भएका खाली सिलिन्डर भरेरै दाताहरूले पनि आपूर्ति गरिरहेका छन् ।

स्वास्थ्यकर्मी संक्रमित भएपछि समस्या

महाकाली अस्पतालका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि उपचारमा झनै समस्या भएको छ । शुक्रबार मात्रै ५ जना चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । यसअघि ३० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि उपचार गराउन निकै समस्या भएको छ,’ महाकाली अस्पतालका कोरोना फोकल पर्सन डा. रोकायाले भने, ‘केही निको भए, धेरै अझै संक्रमित नै छन् ।’ उनका अनुसार स्वास्थ्यकर्मीले रातदिन लगातार डिउटी गर्नुपरेको छ । आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीसमेत संक्रमित हुँदा समस्या झनै थपिएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?