२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रिपोर्ट ढिलाइले उपचारमा समस्या

गणेश चौधरी

टीकापुर — स्वाब परीक्षणका धनगढी पठाउनुपर्ने र रिपोर्ट आउन ढिलाइ हुने भएकाले टीकापुरमा उपचारमा समस्या भएको छ । टीकापुरमा कोरोनाको परीक्षण छैन । कोरोना संक्रमणको रिपोर्ट धनगढीबाट नआउन्जेल बिरामीलाई अब्जरभेसनमा राख्नुपर्ने बाध्यता रहेको टीकापुर अस्पतालका डाक्टर रमेश उपाध्यायले बताए ।

रिपोर्ट ढिलाइले उपचारमा समस्या

‘ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण भएका बिरामी आएपछि कोरोनाको आशंका हुन्छ,’ उनले भने, ‘उनीहरूलाई रिपोर्ट नआउन्जेल अब्जरभेसनमा राख्नुपर्ने बाध्यता छ । चाँडै रिपोर्ट आए त्यहीअनुसार उपचार अघि बढाउन सकिन्थ्यो ।’

अब्जरभेसनमा रहेका अधिकांश बिरामीलाई अक्सिजन दिएर राख्नुपरेको डा. उपाध्यायले बताए । अस्पतालमा क्षमताभन्दा बढी बिरामी छन् । ‘यही क्रम रहे अस्पतालले धान्न सक्ने अवस्था रहन्न’ उनले भने । कोरोना परीक्षणको रिपोर्ट आउन कम्तीमा ५ दिन लाग्ने गरेको डाक्टर उपाध्यायले जानकारी दिए । ‘टीकापुरमा साताको २ दिन स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाउने गरिएको छ,’ उनले भने, ‘त्यसको रिपोर्ट एकदमै ढिलो आउँछ ।’

टीकापुरमा ४ सय ७ जनाको स्वाब संकलन भएकामा २ सय ८५ जनाको मात्र रिपोर्ट आएको छ । १ सय २२ जनाको रिपोर्ट आउन बाँकी छ । परीक्षण भएकामध्ये ८१ जनाको पोजिटिभ रिपोर्ट आएको अस्पतालले जनाइएको छ । संक्रमितमध्ये ६२ सक्रिय संक्रमित छन् । टीकापुरमा अहिलेसम्म कोरोनाका कारण ९ जनाको ज्यान गएको छ । टीकापुर अस्पतालमा पनि अक्सिजनको अभाव हुन थालेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रेमकुमार राईले स्थिति भयावह बन्दै गएकाले सबैले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?