३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संक्रमण अझै उच्च

नेपालगन्ज — कोरोना संक्रमण जिल्लामा एकाएक फैलिएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएको दुई साता बितेको छ । तर संक्रमण दर भने अझै उच्च छ । चिकित्सकका अनुसार निषेधाज्ञापछि संक्रमणमुक्त हुनेको संख्या बढ्दो छ ।

संक्रमण अझै उच्च

होम आइसोलेसन र अस्पतालमा उपचारार्थ गरेर प्रत्येक साता चार सय संक्रमित निको भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । निको हुनेको तुलनामा नयाँ संक्रमितको संख्या धेरै छ । बिहीबार बाँकेमा ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । जिल्लामा मृत्युदर पनि बढेको छ । दुई साताको निषेधाज्ञापछि पनि कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

‘पछिल्लोपल्ट निषेधाज्ञा लगाउनुभन्दा पहिले नै कोरोनाको संक्रमण घरघरमा पुगिसकेको छ । होली, नयाँ वर्ष, मेला महोत्सव र राजनीतिक दलका ठूला आमसभा गरिएकाले कोरोना संक्रमण फैलिएको हो,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल अधिकृत तथा फिजिसियन डा.राजन पाण्डेले भने, ‘निषेधाज्ञा जारी नगरिएको भए अहिलेको भन्दा झन् भयावह परिस्थिति आउँथ्यो ।’ उनले दुई साताको निषेधाज्ञाले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको जनाए । यसैगरी संक्रमणको संख्या बढ्दै जाने हो भने निषेधाज्ञाको समयावधि बढाउनुपर्ने उनको सुझाव छ । ‘एकै दिन आठ सय संक्रमित फेला परिरहेका छन् । पीसीआर परीक्षण गरेका मध्येमा २५ प्रतिशतमा मात्रै संक्रमण देखियो भने केही खुकुलो गर्दा हुन्छ,’ उनले भने, ‘तर यहाँ त सयमा ८१ प्रतिशत बढीमा संक्रमण देखिन थालेको छ ।’

फागुन र चैत महिनामा परीक्षणको संख्या सरदर समान रहे पनि चैत महिनामा संक्रमण पुष्टि हुने दर भने करिब ४ गुणाले बढेको देखिन्छ । जिल्ला प्रशासनले पहिलोपटक गत वैशाख ८ गते रातिबाट एक साताका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको थियो । त्यसबेला जिल्लाभरि एक हजार हाराहारीमा सक्रिय संक्रमित थिए । तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्रै ७ सय ३५ थिए । पहिलो आदेश सकिएको एक सातापछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । यहाँ संक्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि बजारमा चहलपहल कम भएको छैन ।

मूल सडकमा प्रहरीले गस्ती गरे पनि भित्री गल्ली अनि चोकहरूमा भीडभाड उस्तै छ । पसलमा किनमेल गर्नेको भीड देखिन्छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमणको दर कम गर्नका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । सामान्य अवस्थामा भन्दा बजारमा हुने भीडभाड नियन्त्रणमा आएको उनले दाबी गरे । ‘दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गरेका छौं,’ प्रजिअ गेलालले भने, ‘तर, साँझको समयमा मुभमेन्टलाई अझै नियन्त्रण गर्न सकेका छैनौं ।’

संक्रमण दर बढेसँगै उनीहरूको व्यवस्थापन फितलो बनेको छ । अधिकांश सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । तर कुनै निकायसँग होम आइसोलेसनमा रहेका व्यक्तिको यथार्थ जानकारी छैन । ‘कोरोनाका संक्रमितको अवस्था र मुभमेन्टलाई वडास्तरकै स्वास्थ्यकर्मी र जनप्रतिनिधिले नै वाच गर्न सकेका छैनन्,’ अधिकारकर्मी वसन्त गौतमले भने, ‘संक्रमित स्वयंले नै स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन । एउटा संक्रमित समुदायसँग घुलमिल भइरहँदा अरूलाई पनि संक्रमण हुने सम्भावना स्वतः बढेर जान्छ ।’

गत वर्ष कोरोना संक्रमण सुरु भएपछि संक्रमितहरूको अनुगमन, फलोअप, कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसका कारण बाँकेको नरैनापुर र नेपालगन्जको जोलहनपुरमा फैलिएको संक्रमण पूर्णरूपमा नियन्त्रण आएको थियो । तर अहिले संक्रमण भुसको आगोझैं फैलिँदा पनि सरोकारवालाले चासो देखाएका छैनन् । ‘संक्रमित आफैं बजार पुगेर आउँछन् । मास्क नलगाई घरघरमा पुगेर कुरा गर्छन्,’ नेपालगन्ज उपहानगरपालिका–४ गणेशपुरकी सुमित्रा विकले भनिन्, ‘उनीहरूका कारण हामी उल्टै जोखिममा परेका छौं ।’ अस्पतालले दिएको जानकारीअनुसार परीक्षण दर बढ्दै गएकाले पनि संक्रमण पुष्टि संख्या बढ्दै गएको हो ।

प्रकाशित : वैशाख २६, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?