कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बिरामीलाई अस्पताल पुग्नै सकस

एम्बुलेन्स पाउनै मुस्किल
अस्पतालमा अक्सिजनसमेत छैन

बझाङ र अछाम — कोरोना संक्रमणले सिकिस्त बझाङको मस्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषलाई जिल्ला अस्पतालले धनगढी रेफर गर्‍यो । एम्बुलेन्स व्यवस्थापन गरेर अस्पतालबाट बाहिर निकाल्दै गर्दै उनको मृत्यु भयो । ६ दिनअघि धनगढी रेफर भएका बझाङकै जयपृथ्वी नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि जिल्ला अस्पतालबाट करिब २० मिनेटको बाटोमा पर्ने सुवेडा नपुग्दै मृत्यु भयो । ‘अस्पतालले भनेका बेला एम्बुलेन्स पाइएन । भोलिपल्ट एम्बुलेन्स खोजेर धनगढी लाँदै थियौं । बाटैमा सास उडिहाल्यो,’ उनका एक आफन्तले भने ।

बिरामीलाई अस्पताल पुग्नै सकस

अछामको मंगलसेन नगरपालिका–९ को मंगला नेरा माविका प्रधानाध्यापक बमबहादुर थापा पनि यही समस्यामा परे । वैशाख ११ गते कोरोना देखिएका ४३ वर्षीय थापा अवस्था सामान्य भएको भन्दै सुरुमा होम आइसोलेसनमै बसेका थिए । एक्कासि सास फेर्न समस्या भयो । अन्य लक्षण पनि कडा देखिएपछि २० गते उनलाई जिल्ला अस्पताल अछाममा भर्ना गरियो । अक्सिजनको समेत व्यवस्था नभएको अस्पतालमा तीन दिन राख्दा उनको अवस्था जटिल भइसकेको थियो ।

मंगलबारदेखि नै हेलिकप्टरमा काठमाडौं लैजाने प्रयास गरिए पनि सफल हुन सकेन । ‘सुरुमा हेलिकप्टरबाट लैजाने प्रक्रिया बुझ्दा र पैसा जम्मा गर्न खोज्दा समय लाग्यो । त्यसपछि मौसम खराबका कारण आउन नसक्ने खबर आयो,’ मृतकका भाइले भने, ‘मौसम सुधार होला र काठमाडौं लैजाउला भनेर पर्खाइमा थियौं । बुधबार त परान (प्राण) गइहाल्यो ।’ हेलिकप्टरबाट काठमाडौं लैजान नौ लाख रुपैयाँसमेत जम्मा गरिसकेका उनले जिल्ला अस्पतालमा अक्सिजनको मात्रै व्यवस्था भइदिएको भए दाजुको ज्यान बच्न सक्ने बताए ।

अछाम जिल्ला अस्पतालमै रहेका अर्का एक संक्रमितलाई परिवारले हेलिकप्टर चार्टर गरेर काठमाडौं लैजान खोजेको दुई दिन भयो । ‘सुरुमा हेलिकप्टर सम्पर्क गर्नै गाह्रो भयो । सम्पर्क भएपछि पैसा जुटाउन समस्या भयो । ऋण खोजेर नौ लाख त जम्मा गर्‍यौं । काठमाडौंका कुनै हस्पिटलमा आईसीयू र भेन्टिलेटरसहितको बेड पाइएको छैन,’ ती संक्रमितका आफन्तले भने, ‘अछामबाट बेड कन्फर्म नगरेर लैजाँदा उता अलपत्र परिएला । यता अस्पतालमा अक्सिजन पनि छैन भन्छन् ।’

सर्वसाधारणले उपचार गर्ने जिल्ला अस्पतालको अवस्था देखेर बिरामीका आफन्त जिल्लाका नेताहरूप्रति आक्रोश पोखिरहेका छन् । ‘देशमै नाम चलेका ठूला नेता हाम्रै जिल्लामा छन् । यहाँकै जनता अक्सिजन नपाएर मरिरहेका छन्,’ मंगलसेन नगरपालिका–८ का महेश बोहरा भने, ‘यस्तो महामारीमा पनि हामीले भगवान्कै भरोसा बाँच्नुपरेको छ ।’

अछाममा मात्रै बिहीबारसम्म ४ सय १३ संक्रमित छन् । समुदायस्तरमा संक्रमण फैलिएपछि जिल्लाको अवस्था भयावह बन्दै गएको छ । आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमित दिनहुँ बढिरहे पनि जिल्लामा अक्सिजनसमेतको सुविधा छैन । यसबीचमा उचित उपचार नपाएर ६ जनाले ज्यान गुमाइसकेका छन् ।

बझाङमा बिहीबारसम्म सक्रिय संक्रमित तीन सय पुगेका छन् । जिल्लामा अक्जिसनको पर्याप्त व्यवस्था भए पनि तत्काल भेन्टिलेटर र आईसीयू चाहिने जटिल प्रकृतिका बिरामी बाहिरै रेफर गर्नुपर्ने अवस्था छ । ‘रेफर गरिएका बिरामीको बाटैमा मृत्यु भयो भन्ने खबर कति बेला सुन्नुपर्ने हो भनेर चिन्ता लाग्छ,’ जिल्ला अस्पतालका डा. मिलन खड्काले भने, ‘भेन्टिलेटर भए पनि तालिम प्राप्त जनशक्ति नभएकाले पूर्ण रूपमा सञ्चालन गर्न सकेका छैनौं ।’

अछाममा जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको डा. अतुल भारद्वाजले बताए । ‘भेन्टिलेटर चलाउन कम्तीमा १० स्वास्थ्यकर्मी चाहिन्छ । त्यसमा पनि क्रिटिकल केयर फिजिसियन र एनेस्थेसियोलोजिस्टले चलाउने हो,’ उनले भने, ‘अहिलेको अवस्थामा हामी पनि चलाउन सक्छौं तर अन्य पूर्वाधार र जनशक्तिको अभाव छ ।’ अहिले आइसोलेसन वार्डमा अक्सिजन अभाव भएकाले अक्सिजनको व्यवस्थापन गरेपछि भेन्टिलेटर सञ्चालनमा ल्याउनलाई पहल गरिने उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?