कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संक्रमित बढे, परीक्षण सुस्त

महाकाली अस्पतालमा एन्टिजेन किटको अभावका कारण फिभर क्लिनिकमा पुग्नेहरुको समयमै परीक्षण हुन सकेको छैन
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ की एक महिलालाई लगातार रुघाखोकी लागेपछि परीक्षणका लागि मंगलबार महाकाली अस्पताल पुगिन् । पहिलो दिन उनले स्वाब संकलनका लागि बिल नै पाइनन् । त्यतिकै घर फर्किइन् । दोस्रो दिन बिहानै आएर बिल काटेर लाइनमा लागिन् । जेनतेन स्वाब त संकलन भयो । तर तीन दिनसम्म पनि उनको स्वाब परीक्षण हुन सकेन ।

संक्रमित बढे, परीक्षण सुस्त

‘मोबाइलनमा म्यासेज आउँछ भनेको थियो, अहिलेसम्म केही आएको छैन,’ शुक्रबार ती महिलाले भनिन्, ‘रिपोर्ट नआएरै रुघा र ज्वरो निको हुने बेला भयो ।’ उनी अहिलेसम्म होम क्वारेन्टाइनमै बसेकी छन् । रिपोर्ट आएको भए कि त खुलेर परिवारसँगै बस्थिन् । कि आइसोलेसनमा बस्थिन् । चार दिनदेखि उनलाई रिपोर्ट नआएर तनाव भएको छ ।

एन्टिजेन परीक्षणमा संक्रमण देखिएपछि मंगलबार नै पीसीआर परीक्षणका लागि स्वाब दिएका भीमदत्त नगरपालिका–५ का एक युवक अझै रिपोर्ट नआएको बताउँछन् । शुक्रबार उनी आफैं रिपोर्टबारे बुझ्न अस्पताल पुगेका थिए ।

‘एक हप्तादेखि ज्वरो र रुघा कम भएको छैन, परीक्षणको रिपोर्ट पनि आउँदैन,’ उनले भने, ‘रिपोर्ट आएको भए डाक्टरसँग त्यहीअनुसार सल्लाह गरेर उपचार गराउनु हुन्थ्यो ।’ उनी शुक्रबार यही विषयमा सल्लाह गर्न अस्पताल पुगेका हुन् ।

महाकाली अस्पतालको इमरजेन्सी वार्ड अगाडि सञ्चालन भएको फिभर क्लिनिकमा पनि जरो आएका र रुघाखोकी लागेका बिरामीको चाप बढी नै छ । उनीहरूको एन्टिजेन परीक्षणपछि मात्रै थप उपचार अगाडि बढ्छ । तर केही दिनयता महाकाली अस्पतालमा एन्टिजेन किटको अभावका कारण फिभर क्लिनिकमा पुग्नेहरूको समयमै परीक्षण हुन सकिरहेका छैन ।

जसका कारण बिरामीले समयमै उपचार नपाउने अवस्थासमेत आएको छ । बेड अभावका कारण बिरामी भुइँमै पल्टिरहेका हुन्छन् । समयमै परीक्षण भएर उपचार पाउने आसमा बसिरहेका बिरामीका कतिपय आफन्त अक्सिजन खोजीमा भौतारिएका देखिन्छन् ।

‘ज्वरो आएर दुई/तीन दिन परीक्षणका लागि आए किट अभावका कारण हुन सकेन,’ कञ्चनपुरको बेलडाडी गाउँपालिकाकी कमला जोशीले भनिन्, ’तीन दिनपछि टेस्ट गराएर नेगेटिभ आएपछि निजी क्लिनिकमा गएर उपचार गराए ।’ उनी रुघा र ज्वरो आएका कारण बाहिर उपचार गराउन डराइरहेकी थिइन् ।

‘महाकाली अस्पतालमा दैनिक ५०/६० जनाको एन्टिजेन परीक्षण हुँदै आएको थियो । केही दिनयता किटको अभावका कारण न्यून मात्रामा परीक्षण भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरि श्रेष्ठले बताए । उनले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा विभागबाट आउने भनेको किट आपूर्तिमा ढिलो भएका कारण अहिले समस्या आएको छ । ‘एन्टिजेन किट निकै महँगो पनि छ र स्थानीय बजारमा उपलब्ध पनि छैन,’ उनले भने, ‘आज भोलिमा विभागबाट किट पुग्छ भन्ने आश्वासन पाएका छौं, त्यसपछि केही सहज हुनेछ ।’

महाकाली अस्पतालको पीसीआर ल्याबमा पनि परीक्षण गराउनेको चाप निकै बढेको छ । केही दिनयता जिल्लामा संक्रमणको दर बढ्दै गएका कारण परीक्षण गराउनेको चाप पनि बढ्न थालेको हो । दैनिक डेढ सयको मात्रै नमुना परीक्षण गर्न सकिने भए पनि दुई सय बढी स्थानीय स्वाव परीक्षणका लागि आउने गरेका छन् ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?