पालिकाहरू अझै जुटेनन् आइसोलेसन बनाउन

कञ्चनपुर — जिल्लामा दिनहुँ एक सय हाराहारीमा कोरोना संक्रमित थपिँदै गए पनि जिल्लाका स्थानीय तहले अहिलेसम्म आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिएका छैनन् ।

पालिकाहरू अझै जुटेनन् आइसोलेसन बनाउन

गत वर्ष निर्मित आइसोलेसन केन्द्रको व्यवस्थापनसमेत हुन सकेको छैन । कृष्णपुर नगरपालिकामा सक्रिय संक्रमित २४ सबै होम आइसोलेसनमा छन ।

गत वर्ष बनाएको कोभिड अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने भने पनि त्यसको व्यवस्थापन हुन सकेको छैन । ‘आइसोलेसन केन्द्रमा बेड मात्रै छन । अक्सिजनलगायत अन्य सामग्री केही पनि छैन,’ कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नन्दलाल बोहराले भने, ‘आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन निकै खर्चिलो भएकाले यसपटक नबनाउने भन्नेमा छांैं ।’ उनका अनुसार नगरपालिकाले यसका लागि कुनै बजेट पनि छुटयाएको छैन ।

जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकाले त्रिभुवन बस्ती स्वास्थ्यचौकीमा रहेको कोभिड अस्पताललाई नै आइसोलेसन केन्द्र बनाएको छ । यहाँ ५ बेडको अस्पताल र १५ बेडको आइसोलेसन केन्द्र सञ्चालनमा छ । ‘जनता बहुमुखी क्याम्पसको भवनमा थप ५० बेडको आइसोलेसन केन्द्र बनाउने योजनामा छौं,’ पुनर्वासका नगरप्रमुख जीवन थापाले भने, ‘तर अहिले आइसोलेसनमा बस्नै रुचाउँदैनन, स्वास्थ्य समस्या भएका मात्रै बस्छन ।’ उनका अनुसार पुनर्वासमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेका छन । तर उनीहरू होम आइसोलेसनमा पनि सुरक्षित ढंगले नबस्दा संक्रमण समुदायमै पुगिसकेको छ ।

यसैबीच, कोरोना संक्रमण बढ्दै गएपछि कैलालीका स्थानीय तहले आइसोलेसन केन्द्र थप्न थालेका छन । स्थानीय तहमा सञ्चालनमा रहेका अस्पतालमा बिरामीको चाप बढेपछि आइसोलेसन थपिएका हुन । टीकापुर अस्पतालमा १५ शय्याको आइसोलेसन वार्ड सञ्चालनमा रहेकामा बिरामी बढ्दै गएपछि टीकापुरको सीटी हललाई आइसोलेसन वार्ड बनाएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । त्यस्तै, लम्कीचुहा नगरपालिकाले पनि ५० शय्याको आइसोलेसन वार्ड सञ्चालन गरेको छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?