२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

महामारीमा मूल्य वृद्धिको मार

‘अघिल्लो दिन ९० रूपैयाँमा किनेको एक पोका तेलको मूल्य भोलिपल्ट १ सय ४० पुग्यो’

अछाम/बझाङ — कोरोनाले दैनिकी आक्रान्त भइरहेका बेला उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारण झन् मारमा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ ।

महामारीमा मूल्य वृद्धिको मार

‘यहाँ त रातारात सामानको मूल्य बढ्छ । अघिल्लो दिन ९० रुपैयाँमा किनेको एक पोका तेलको भोलिपल्ट १ सय ४० पुग्यो,’ अछामको मंगलसेन नगरपालिका–५ की धनसरा सुवेदीले भनिन्, ‘एक पोका तेलकै मूल्यमा ५० रुपैयाँ बढ्दा हामीलाई गुजारा चलाउन गाह्रो भइसक्यो ।’

निषेधाज्ञाले बाहिरतिर काम गर्न नसकिएको र खाद्यान्नको मूल्य बढ्दा समस्या भएको उनको गुनासो छ । ‘महामारीका बेला सारा जनता समस्यामा छन् । यसैबेला व्यापारीले मूल्य बढाउँछन् । गरिबले किनेर खानै नसक्ने बनाइदिन्छन्,’ मंगलसेनमा लामो समयदेखि मजदुरी गरिरहेकी सीतादेवी विकले गुनासो गर्दै भनिन्, ‘जति मूल्य बढाए पनि किनिहाल्छन् भनेर मनोमानी मूल्य बढाउँछन् ।’

पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्य वृद्धि गरेर बेच्न बाध्य भएको जयगढका खुद्रा व्यापारी पदम बोहरा बताउँछन् । उनका अनुसार बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्य वृद्धि भएको छ । एक व्यापारीका अनुसार मुसुरोको दाल २ दिन अगाडि किलोको १ सय ८ रुपैयाँमा पाइरहेकामा लकडाउनले गर्दा १ सय ३५ देखि ५० सम्ममा दिने गरेको बताए । त्यस्तै खानेतेल १ पेटी २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीहरूले २ हजार ६ सयमा किन्ने गरेको बताएका छन् । सनफ्लावर तेलसमेत मूल्य वृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई २ हजार २ सय २५ मा दिने गरे तापनि अहिले २ हजार ६ सय ५० मा दिने गरेका छन् ।

खुद्रा व्यापारीका अनुसार लकडाउनपछि होलसेलले दालमा प्रतिकेजी २७ देखि ४०, चनामा प्रतिकेजी २०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रतिकार्टुन २ सयदेखि २ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्य वृद्धि गरेका छन् । होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीको भनाइ छ ।

अछामका होलसेल व्यापारीले कुनै पनि सामानको मूल्य नबढाएको तर धनगढीबाट मूल्य बढेर आएको मंगलसेनका होलसेल व्यापारी देवराज उपाध्यायले बताए । ‘धनगढीबाट अछाम आउने समानमा प्रतिक्विन्टल ५/६ सय बढेर आएको छ । हामीले पनि खुद्रा व्यापारीलाई त्यहीअनुसार सप्लाइ गरेका हौं,’ उनले भने, ‘लकडाउनको हल्ला सुन्नेबित्तिकै ठूला सहर बजारका व्यापारीहरूले पहिल्यै सामान राख्छन् । हामीलाई मूल्य बढाएर पठाउँछन् ।’

बजारमा खाद्यन्न सामग्रीको मूल्य बढेको गुनासो आएपछि मंगलबारदेखि बजार अनुगमन गर्न थालिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सैनाले बताए । ‘सामानको मूल्य अस्वाभाविक ढंगबाट बढाइएको पाइए कानुनअनुसार कारबाही गर्छौं । अहिले जिल्लाभर अनुगमनलाई निरन्तरता दिएका छौं ।’

बझाङमा पनि मनपरी

कोरोना महामारीसँगै बझाङमा पनि उपभोग्य वस्तुको भाउ अकासिएको छ । सदरमुकाम र जिल्लाका अन्य बजारहरूमा चामल, दाल, तेल, मासु, चाउचाउ, बिस्कुट जस्ता दैनिक उपभोग्य सामानको मूल्य एक्कासि बढेको हो । व्यापारीहरूले वैशाखको दोस्रो साताबाट उपभोग्य सामानको मूल्य अस्वाभाविक तरिकाले बढाएका छन् । चैतको अन्तिमसम्म बोरा (५० केजी) को १ हजार ८ सय पर्ने मोटा चामलको मूल्य दुई सातामै बढेर २ हजार १ सय ५० सम्म पुगेको छ । यस्तै वैशाख १५ गतेसम्म प्रतिकेजी ७ सयका दरले बिक्री भइरहेको खसीको मासुको मूल्य साता दिनमै बढेर १ हजार पुर्‍याइएको छ । बजारमा तरकारी तथा फलफूलको मूल्य पनि अस्वाभाविक रूपमा बढेको उपभोक्ताहरूको गुनासो छ ।

‘कोरोना आयो भन्ने हल्ला आएसँगै मनपरी तरिकाले मूल्य असुल्न थालेका छन्,’ सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने एकजना गृहणी कविता रोकायाले भनिन्, ‘यातायात बन्द नहुँदै सामानको मूल्य बढाएर लुट्ने काम हुँदा पनि कसैले हेरेका छैनन् । यस्तै हो भने गरिबले के खाएर बाँच्ने ?’ उनले हरेक सामानको मूल्यमा वृद्धि भएको र पसलैपिच्छे उही सामानको मूल्य पनि फरकफरक लिने गरेको बताइन् ।

‘आइतबारसम्म एक लिटर भटमासको तेलको मूल्य १ सय ८० थियो । आज दुई दिनमै २ सय २० रुपैयाँ लिटर पुर्‍याएछन्,’ जयपृथ्वी नगरपालिकाका–२ का कुम्भराज जोशीले भने, ‘दुई/तीन दिनमै यति धेरै मूल्य कसरी बढ्छ । यो त अचाक्ली भयो ।’ उनले तरकारी र फलफूलमा पनि आइटम हेरेर प्रतिकिलो २० देखि १ सय रुपैयाँसम्म बढाएको बताए ।

उद्योग, वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले भने बजारमा खानेतेलबाहेक अन्य सामानको मूल्य नबढेको दाबी गरे । संघले महामारीमा कसैले मूल्य वृद्धि गर्न सक्छ भनेर आफूहरूले १५ दिनअघि मात्रै प्रत्येक सामानको दररेट सार्वजनिक गरेको बताए । तेलको मूल्य धनगढीबाटै बढेको जानकारी आएको उनको भनाइ छ । महामारीका बेला सबैले सबैलाई सहयोग गर्नुपर्नेमा उल्टै मूल्य वृद्धि गरेर सामान बेच्नेलाई कडा कारबाही हुनुपर्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले मूल्य वृद्धि भएको गुनासो आइरहेकाले तत्काल सरोकारवालासँग छलफल गरी अस्वाभाविक वृद्धि गरेको पाइए कारबाही गरिने बताए । ‘अहिले मूल्य वृद्धि हुनुपर्ने कुनै कारण छैन । यस्तो बेलामा कसैले अनुचित मूल्य लिएको छ भने हामी छानबिन गरेर कारबाही गर्छौं,’ उनले भने ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?