कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डेरामा बस्नेलाई बढी समस्या

तृप्ति शाही

बैतडी — अछामको चौरपाटी गाउँपालिका घर भएका २८ वर्षीय पुरुष रोजगारीको सिलसिलामा बैतडीमा छन् । जिल्ला सदरमुकाम बैतडीको एक बैंकमा कार्यरत उनको वैशाख १३ गते कोरोना रिपोर्ट पोजिटिभ आयो ।

डेरामा बस्नेलाई बढी समस्या

कार्यालयका साथीलाई कोरोना देखिएपछि उनले पनि १२ गते पीसीआर परीक्षण गराए । दोस्रो दिन पोजिटिभ देखिँदा उनलाई घरबाट टाढा एक्लो डेरामा कसले हेरचाह गरी देला भन्ने सबैभन्दा बढी चिन्ता भयो ।

साढे ४ वर्षदेखि बैतडीमा एक्लै भाडामा बस्न थालेका उनलाई यतिबेला भने कोरोना संक्रमित हुँदा घरपरिवार र आफन्तको यादले खुब सताउने गरेको छ । उनले वर्षौं एक्लै बस्दा घरपरिवारको आवश्यकता यतिबेलाको जस्तो कहिल्यै गरेनन् । कोरोना संक्रमण भएको दिनबाटै घरबाट टाढा भएकामा उनलाई सबैभन्दा बढी पिरोलेको थियो ।

अन्य ससानो बिरामीको बेला एक्लै हुँदा केही अप्ठेरो नलागेको भए पनि महामारीको रूपमा फैलिएको कोरोनाले संक्रमण गर्दा एक्लै हुनुको पीडा महसुस गरिरहेको उनले दुखेसो पोखे । ‘एक्लै खाना पकाएर खानुपर्छ, आफ्नो ख्याल आफैंले गर्नुपर्ने हुन्छ, बोलिदिनेसम्म कोही छैनन्,’ उनले भने, ‘कहिलेकाहीं अप्ठेरो महसुस हुन्छ, परिवारसँगै भएको भए त खानपिन र अन्य हेरचाह गर्थे भन्ने कुरा मनमा खेलिरहन्छ, एक्लै हुँदा त धेरै गाह्रो हुँदो रहेछ ।’

यस्तै डेरामा बस्ने कोरोना संक्रमितहरू कुनै न कुनै प्रकारका समस्या झेलिरहेका छन् । घरबेटीको चिन्ता एकातिर छ भने आफ्नो कारणले समुदायमा कोरोना फैलिन्छ कि भन्ने पीर अर्कोतिर छ । आफ्नै घरमा भाडामा बस्नेहरू संक्रमित भएपछि त्यति धेरै वास्ता नगरे पनि भाडामा बस्नेलाई भने कोरोना लिएर आयो भन्ने आरोप छिकेमीहरू लगाउँछन् ।

दशरथचन्द नगरपालिका–४ को सदरमुकाममै रहेको अर्को एक बैंकका कर्मचारीलाई पनि केही दिनअघि कोरोना देखिएको थियो । भाडाको घरमा बस्ने उनलाई घरबेटीले केही नभने पनि छिमेकीले कोरोना लिएर आएको भन्दै साँझ–बिहान सुनाउँथे । यही तनाब थेग्न नसकेर संक्रमित भएकै अवस्थामा महेन्द्रनगर घर जानुपर्ने बाध्यतामा परेको उनले गुनासो पोखे । ‘छिमेकीले कचकच गरेरै झनै बिरामी बनाए । अनि घर आए । धन्न शौचालय फरक भएकाले घरबेटीले केही भन्ने मौका पाएनन् ।’

जिल्लाको मेलौली नगरपालिकाकी एक जना स्वास्थ्यकर्मीलाई पनि गत शुक्रबार कोरोना देखियो । कार्यालय नजिकै भाडाको घरमा बस्ने उनको परिवार पनि महेन्द्रनगरमै बस्छ । कोरोना देखिनासाथ उनले कोठा नै छोडेर जानुपर्ने बाध्यता भयो । पुर्ख्यौली घर मेलौलीमै उनी बसिरहेकी छिन् । आजभोली आफन्तहरूले सहयोग गरिरहेका भन्दै उनले भनिन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?