जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स

अर्जुन शाह

धनगढी — डडेल्धुराको अमरगढी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्दै आएको एउटा गाडीलाई एम्बुलेन्स र फोहर बोक्ने टिप्परलाई शव–वहानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

जनप्रतिनिधि चढ्ने गाडीलाई एम्बुलेन्स

नगरपालिकामा कोरोना संक्रमणबाट गम्भीर बिरामीको संख्या थपिँदै गएकाले उनीहरूलाई तत्काल अस्पताल पुर्‍याउन एम्बुलेन्सको समस्या हुन थालेपछि हामीले चढ्दै आउको जीपलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरिएको नगरप्रमुख विपीन ओझाले बताए ।

से १ झ २३९ नम्बरको बोलेरो जीपलाई बिहीबारदेखि एम्बुलेन्सका रुपमा प्रयोग गर्न सुर गरिएको उपप्रमुख संगीता भण्डारीले बताइन् । ‘संक्रमण बढ्दै गएको अहिलेको जटिल अवस्थालाई ख्याल गर्दै सर्वसाधारण बिरामीले एम्बुलेन्स नपाएर छट्पटाउनु पर्ने अवस्थाबाट बिरामीलाई सहज गर्न नगर कार्यपालिकाको बैठकबाट उक्त निर्णय गरेका हौं,’ नगरप्रमुख ओझाले भने, ‘यतिबेला हाम्रो पालिकाभित्र ग्रामीण क्षेत्रमा बसोवास भएका संक्रमितमध्ये कतिपयको स्वास्थ्य अवस्था अप्ठ्यारो भएर तुरुन्तै अस्पतालमा ल्याउनु परिरहेको अवस्था छ ।’ उनले आफूहरु जनप्रतिनिधि भएकाले गाडीमा चढ्ने प्राथमिकताभन्दा विरामीको उपचार प्रमुख कुरा भएको बताए ।

उक्त गाडीमा सिट, चालक सुरक्षित राख्ने प्रबन्ध र अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि ग्यारेजमा कुरा भइरहेको सूचना अधिकारी लालबहादुर साउँदले बताए । ‘तर आजै पनि बिरामीलाई ल्याउनु पर्ने भएकाले त्यस काममा उपयोग गर्न सुरु गरिसक्यौं,’ साउँदले भने । बधुबारसम्म अमरगढी नगरपालिकामा १ सय ४१ जना संक्रमितहरु रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै, नगरपालिका क्षेत्रभित्र फोहर उठाउन प्रयोग गर्ने गरिएको टिपरलाई नगरपालिकाले शव–वाहनका रुपमा प्रयोग गर्ने भएको छ । यसअघि कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई बोक्न समस्या भएकाले शव-वाहनको जरुरी महसुस भएको नगरप्रमुख ओझाले बताए । ‘संक्रमणबाट यसअघि मृत्यु भएका शवहरुलाई अन्त्यष्टी स्थलसम्म पुर्‍याउन तनाव व्यहोर्नु पर्‍यो,’ नगरप्रमुख ओझाले भने, ‘जिल्लाभर एउटा पनि शव–वाहन छैन । अहिलेलाई यही टिपरलाई प्रयोग गरेर पछि बेग्ले वहान खरिद गर्छौं ।’

साथै, अमरगढी नगरपालिकाले संघिय सरकार मातहत सञ्चालनमा रहेको डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव हुन नदिन हालै ४ जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । यस्तै, डडेलधुराकै अजयमेरु गाउँपालिकाले पनि जनप्रतिनिधि चढ्दै आएका तीनमध्ये एउटा गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएको अध्यक्ष उमेश भट्टले बताए ।

प्रकाशित : वैशाख २३, २०७८ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?