बल्ल बन्दै आइसोलेसन- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल्ल बन्दै आइसोलेसन

भारतबाट आउनेहरु सीधै घर जाने भएकाले कोरोना समुदायमा फैलिएको आशंका
वसन्तप्रताप सिंह

बझाङ — जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयको निरन्तर ताकेता र स्थानीयको दबाबपछि बझाङमा आइसोलेसन सेन्टर निर्माण हुन थालेका छन् । केही स्थानीय तहले आइसोलेसन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

बझाङको बित्थड चिर गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टर ।

केहीले एक/दुई दिनभित्र निर्माण पूरा गर्न लागेका छन् । १२ वटा स्थानीय तह रहेको बझाङका पाँचवटा पालिकाले भने अहिलेसम्म आइसोलेसन बनाउने सुरसार गरेका छैनन् ।

हालसम्म वित्थड चिर, खप्तडछान्ना, दुर्गाथली, तल्कोट गाउँपालिका र बुंगल नगरपालिकाले आइसोलेसन बनाएर सञ्चालनमा ल्याइसकेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । थलारा र केदारस्यूँ गाउँपालिकाले आइसोलेसन निर्माण गर्दैछन् । केही दिनभित्र सम्पन्न गर्ने जानकारी आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । हाल सञ्चालनमा रहेका धेरैजसो आइसोलेसनमा अक्सिजन र आवश्यक औषधिसहित चौबीसै घण्टा स्वास्थ्यकर्मी खटिने व्यवस्था गरिएको जोशीले बताए ।

जयपृथ्वी नगरपालिका, साइपाल, सुर्मा, छबिसपाथीभेरा र मस्टा गाउँपालिकाले भने हालसम्म महामारीलाई बेवास्ता गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले बताए । ‘महामारीले भयानक रूप लिन थालिसक्यो । अब थेग्न गाह्रो छ, भनेर पटकपटक अनुरोध गर्दा पनि उहाँहरूले कुनै वास्ता गर्नुभएको छैन’ जोशीले भने, ‘यस्तै हो भने उहाँहरूले गर्नुभएको लापरबाहीको मूल्य सिंगै जिल्लाले चुकाउनुपर्ने हुन सक्छ ।’ उनले संक्रमितहरूको निगरानी र सम्पर्क परीक्षणको काममा पनि स्थानीय तहले साथ नदिएको बताए ।

यता जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्रबहादुर खड्काले सदरमुकामको नगरपालिका भएको हुनाले आइसोलेसन सेन्टर निर्माणको लागि केन्द्रबाट बजेट नआएको र जिल्ला अस्पतालको आइसोलेसन नै प्रयोग गर्ने भएकोले नबनाएको बताए । ‘बरु हामीले परीक्षणलाई तीव्रता दिने भनेर ५ सय वटा भीटीएम किट खरिद गरेका छौं,’ उनले भने ।

भारत र देशका अन्य जिल्लाबाट आएकाहरू सोझै घर जान थालेकाले पछिल्लो समय संक्रमण समुदायमा फैलिन थालेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । भारतसँग जोडिएका तराईका नाकाहरूमा नेपाल आउनेहरूको परीक्षणको व्यवस्था गरिए पनि दार्चुलाका धार्चुला, बैतडीको झुलाघाट नाकाबाट आउनेहरू विनापरीक्षण जिल्ला भित्रिने गरेको उनको भनाइ छ ।

‘उतै परीक्षण गरेर पठाउनुपर्थ्यो या त उतै रोक्नुपर्थ्यो । नाकाका जिल्लाबाट सोझै पठाइदिन्छन्,’ उनले भने, ‘बझाङको सीमामा पुगिसकेकाहरूलाई हामीले पनि फर्काउन सक्ने अवस्था हुँदैन । यता पनि परीक्षण, क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा समुदायमा संक्रमण फैलन थाल्यो ।’ प्रजिअ अधिकारीले बाहिरी जिल्लाबाट आएकाहरूको परीक्षण र व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गर्ने काम भइरहेको बताए ।


प्रकाशित : वैशाख २३, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

अक्सिजनका लागि सहयोग जुट्दै

कान्तिपुर संवाददाता

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालमा कोरोनाका बिरामीका लागि अक्सिजन अभाव हुन थालेपछि स्थानीय तह र विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

महाकाली अस्पतालको प्रयोगशाला । तस्बिर : भवानी भट्ट/कान्तिपुर

मंगलबार कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था तथा मेघा सहकारी संस्थाले डेढ/डेढ लाख गरी ३ लाख रुपैयाँ सहयोग प्रदान गरे । दुवै संस्थाका तर्फबाट उदयदेवका अध्यक्ष पूर्णबहादुर चन्दले सामाजिक भलाइका काममा संस्थाले सहयोग गर्दै आएको बताए ।

यसअघि महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि आइतबार वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । नगर प्रमुख अशोककुमार चन्दले अस्पताल विकास समितिका अध्यक्ष कृष्ण जोशीलाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भीमदत्त नगरपालिकाले पनि अक्सिजनकै लागि २० लाख दिने निर्णय गरेको छ । पछिल्लो समय कोभिडका बिरामीका लागि अक्सिजन अभाव नहोस् भनेर उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ‘कोभिडका बिरामीको उपचारका लागि हामी सकभर प्रयासरत छौं,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘अक्सिजनदेखि आवश्यकताअनुसार स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छौं ।’

ह्युमानिटी फाउन्डेसनले पनि सोमबार ४० सिलिन्डर अक्सिजन उपलब्ध गराएको छ । फाउन्डेसनले ८० सिलिन्डर अक्सिजन उपलब्ध गराउने भने पनि खाली सिलिन्डरको अभावका कारण तत्काल ४० सिलिन्डर मात्रै उपलब्ध गराउन लागेको हो । फाउन्डेसनले धनगढीको सेती प्रादेशिक अस्पताल र डडेलधुरको उपक्षेत्रीय अस्पताललाई समेत अक्सिजन उपलब्ध गराएको छ ।

महेन्द्रनगरका युवा व्यवसायीहरू दिनेश मल्ल र सुशील श्रेष्ठले एक सातासम्म दैनिक ५० सिलिन्डर अक्सिजन निःशुल्क उपलब्ध गराउने जनाएका छन् । उनीहरूले सोमबार अस्पतालसँग सम्झौता गरी मंगलबारदेखि एक सातासम्म उनीहरूले दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउनेछन् ।

अहिले महाकाली अस्पतालमा ५० जना कोभिडका बिरामीको उपचार भइरहेको छ । उनीहरूका लागि दैनिक ५० सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक छ । ‘हामीले आर्थिकभन्दा पनि अक्सिजन नै दिन आग्रह गरेका छौं,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष जोशीले भने, ‘खाली सिलिन्डर पनि पाइन छाडेको छ, सिलिन्डर पाइए अक्सिजन पाइँदैन ।’

महाकाली अस्पतालको प्लान्टबाट दैनिक ६ सिलिन्डर मात्रै अक्सिजन उत्पादन भइरहेको छ । यसले दुई/तीन जना बिरामीलाई मात्रै पुग्ने अध्यक्ष जोशी बताउँछन् । अक्सिजनका लागि ठूलो प्लान्ट बनाउने योजना भए पनि तत्काल सम्भव नभएको उनको भनाइ छ । भीमदत्त नगरपालिकाले अस्पतालमा प्लान्ट निर्माणका लागि अध्ययन अगाडि बढाएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×