कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अक्सिजनका लागि सहयोग जुट्दै

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अस्पतालमा कोरोनाका बिरामीका लागि अक्सिजन अभाव हुन थालेपछि स्थानीय तह र विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

अक्सिजनका लागि सहयोग जुट्दै

मंगलबार कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था तथा मेघा सहकारी संस्थाले डेढ/डेढ लाख गरी ३ लाख रुपैयाँ सहयोग प्रदान गरे । दुवै संस्थाका तर्फबाट उदयदेवका अध्यक्ष पूर्णबहादुर चन्दले सामाजिक भलाइका काममा संस्थाले सहयोग गर्दै आएको बताए ।

यसअघि महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि आइतबार वेदकोट नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ । नगर प्रमुख अशोककुमार चन्दले अस्पताल विकास समितिका अध्यक्ष कृष्ण जोशीलाई चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, भीमदत्त नगरपालिकाले पनि अक्सिजनकै लागि २० लाख दिने निर्णय गरेको छ । पछिल्लो समय कोभिडका बिरामीका लागि अक्सिजन अभाव नहोस् भनेर उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । ‘कोभिडका बिरामीको उपचारका लागि हामी सकभर प्रयासरत छौं,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘अक्सिजनदेखि आवश्यकताअनुसार स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छौं ।’

ह्युमानिटी फाउन्डेसनले पनि सोमबार ४० सिलिन्डर अक्सिजन उपलब्ध गराएको छ । फाउन्डेसनले ८० सिलिन्डर अक्सिजन उपलब्ध गराउने भने पनि खाली सिलिन्डरको अभावका कारण तत्काल ४० सिलिन्डर मात्रै उपलब्ध गराउन लागेको हो । फाउन्डेसनले धनगढीको सेती प्रादेशिक अस्पताल र डडेलधुरको उपक्षेत्रीय अस्पताललाई समेत अक्सिजन उपलब्ध गराएको छ ।

महेन्द्रनगरका युवा व्यवसायीहरू दिनेश मल्ल र सुशील श्रेष्ठले एक सातासम्म दैनिक ५० सिलिन्डर अक्सिजन निःशुल्क उपलब्ध गराउने जनाएका छन् । उनीहरूले सोमबार अस्पतालसँग सम्झौता गरी मंगलबारदेखि एक सातासम्म उनीहरूले दैनिक ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउनेछन् ।

अहिले महाकाली अस्पतालमा ५० जना कोभिडका बिरामीको उपचार भइरहेको छ । उनीहरूका लागि दैनिक ५० सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक छ । ‘हामीले आर्थिकभन्दा पनि अक्सिजन नै दिन आग्रह गरेका छौं,’ महाकाली अस्पताल विकास समितिका अध्यक्ष जोशीले भने, ‘खाली सिलिन्डर पनि पाइन छाडेको छ, सिलिन्डर पाइए अक्सिजन पाइँदैन ।’

महाकाली अस्पतालको प्लान्टबाट दैनिक ६ सिलिन्डर मात्रै अक्सिजन उत्पादन भइरहेको छ । यसले दुई/तीन जना बिरामीलाई मात्रै पुग्ने अध्यक्ष जोशी बताउँछन् । अक्सिजनका लागि ठूलो प्लान्ट बनाउने योजना भए पनि तत्काल सम्भव नभएको उनको भनाइ छ । भीमदत्त नगरपालिकाले अस्पतालमा प्लान्ट निर्माणका लागि अध्ययन अगाडि बढाएको छ ।

प्रकाशित : वैशाख २३, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?