कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

महामारी रोक्न स्थानीय तहको बेवास्ता

कुनै पनि ट्राभल हिस्ट्री नभएका जयपृथ्वी नगरपालिकाका–१ र तलकोट गाउँपालिकाका १ गरी दुई महिला संक्रमितको मृत्यु
वसन्तप्रताप सिंह

बझाङ — कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा बझाङका स्थानीय तहले महामारीको बेवास्ता गरेका छन् । क्वारेन्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, संक्रमण फैलिन नदिन कन्ट्रयाक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला सुस्त देखिएका हुन् ।

महामारी रोक्न स्थानीय तहको बेवास्ता

महामारी रोकथामका लागि पालिकाहरू सक्रिय नभएका कारण भारत तथा नेपालका अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा समुदायस्तरमा संक्रमण फैलिएको छ ।

सोमबारमात्रै कुनै पनि ट्राभल हिस्ट्री नभएका जयपृथ्वी नगरपलिकाका–१ र तलकोट गाउँपालिकाका १ गरी दुई महिला संक्रमितको मृत्यु भएको थियो । सोमबार दिउँसोसम्म २ सय २० जनालाई संक्रमण पुष्टि भइसकेको छ । दुई साताको अवधिमा बझाङमा ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । परीक्षण अत्यन्तै कम भएको भए पनि परीक्षण गरिएकामध्ये ५० प्रतिशत हाराहारीमा संक्रमण पुष्टि हुन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्थानीय तहले महामारी नियन्त्रणका लागि अग्रसरता नलिँदा जिल्लामा संक्रमणको अवस्था भयावह हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । ‘अघिल्लो वर्ष जिल्लामा कोही पनि संक्रमित नहुँदै, क्वारेन्टाइनमा राख्ने राहत बाँड्ने काम गरेका स्थानीय तहहरू यो पाला मान्छेहरू धमाधम मरिरहेको देख्दादेख्दै पनि कानमा तेल हालेर बसेका छन्,’ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले भने, ‘अहिले घरघरमा कोरोना संक्रमितहरू उपचारको आशामा बसिरहेका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएर जनप्रतिनिधिहरूले गैरजिम्मेवार चरित्र देखाएका छन् ।’ उनले पालिकाहरूले अरू काम रोकेर भए पनि जनताको ज्यान जोगाउने कुरामा सक्रियता देखाउनुपर्ने बेला आएको बताए ।

यसैबीच स्वास्थ्य कार्यालय बझाङले पालिकाहरूले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय र स्वास्थ्य कार्यालयले गरेको अनुरोधको समेत बेवास्ता गरेकाले संक्रमण भयावह हुन थालेको भन्दै ध्यानाकर्षण पत्र लेखेको छ । ‘यस्तो जटिल अवस्थामा पनि स्थानीय तहहरूमा आइसोलेसन केन्द्र स्थापना नहुँदा संक्रमितहरू जोखिमपूर्ण तरिकाले घरमै बस्नुपर्ने बाध्यता छ,’ स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘केस अनुसन्धान र सम्पर्क परीक्षण कार्य नहुँदा समुदायस्तरमा महामारी फैलिइरहेको छ ।’

पत्रमा महामारीको जोखिमको गाम्भीर्यतालाई मध्यनजर गर्दै अवस्था थप भयावह हुन नदिन प्रत्येक पालिकाले कम्तीमा २० बेडको आइसोलेसन केन्द्र स्थापना गरी संक्रमितको व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ । कार्यालयले पटक–पटक पत्राचार गरेको र डीसीसीएमको बैठकले निर्णय गर्दा पनि महामारी नियन्त्रणका लागि पालिकाहरू सक्रिय नभएकोले ध्यानाकर्षण पत्र लेख्नुपरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । ‘महामारी घरघरमा पुगिसक्दा पनि पालिकाहरू अझै चुपचाप छन् । दुईवटा गाउँपालिकाबाहेक कुनै पनि आइसोलेसन सेन्टर तयार गरेका छैनन्, ’जोशीले भने, ‘पालिकाले नै असहयोग गरेपछि महामारी नियन्त्रण गर्न सम्भव नै छैन ।’ उनले हालसम्म खप्तड छान्ना र बित्थडचिर गाउँपालिकाले मात्रै आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको र अरू पालिकाहरूले कुनै चासो नदेखाएको बताए ।

कान्तिपुरले पालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्दा कोही महामारी नियन्त्रणलाई लिएर हल्का रूपमा प्रस्तुत भए भने केहीले स्वास्थ्य कार्यालयले भने जस्तो आफूहरूले बेवास्ता नगरेको बताए । ‘आइसोलेसन पनि कति ठाउँमा बनाउनु, भारतबाट आएकाहरू सोझै घर गएका छन् । संक्रमितहरू जता पनि हुन सक्छन् । बनाइहाल्यौं भने पनि आएर बसिदिनुपर्‍यो । भने जस्तो सजिलो कहाँ छ र ?’ सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने ।

यता तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले भने आफूहरू महामारीप्रति संवेदनशील भएको र संक्रमण नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेको बताए । ‘संक्रमित देखिएका गाउँ सिल गर्ने काम गरेका छौं । प्रहरीलाई भनेर गाउँगाउँमा माइकिङ गराइरहेका छौं । स्वास्थ्यकर्मीहरू पनि खटिरहनुभएको छ,’ उनले भने, ‘जनताको जीउज्यानको कुरामा हामीले बेवास्ता गर्ने कुरै हुँदैन । महामारी नियन्त्रण गर्न हामीले सक्दो प्रयास गरिरहेका छौं’ ।

प्रकाशित : वैशाख २१, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?