भाडा नहुँदा भारतमै अलपत्र- सुदूरपश्चिम - कान्तिपुर समाचार

भाडा नहुँदा भारतमै अलपत्र

‘परिवारको पालनपोषण गर्न दुई/चार पैसा कमाउन आउने हामी आफैं भोकमरीमा पर्नुपरेको छ’
मेनुका ढुंगाना

अछाम — गत वर्ष भारतमा कोरोना संक्रमण बढेपछि त्यहाँका विभिन्न सहरमा काम गर्ने अछामी घर फर्के । केही महिनाको बसाइपछि पुनः कामको खोजीमा भारत पसे । भारत गएको महिना दिन नपुग्दै फेरि संक्रमण बढेपछि भारत सरकारले विभिन्न सहरमा लकडाउन गर्‍यो । त्यसको मारमा फेरि नेपाली परे ।

गत वर्ष ज्यान जोगाउनका लागि मात्रै भए पनि घर फर्केका नेपाली यो पटक भने जसोतसो भारतमै बसिरहेका छन् । जाने बेला ऋण निकालेर गएका धेरै अछामी गाडी भाडा जुटाउन नसकेर फर्किएका छैनन् । कतिपय भारतमा लकडाउन सकिएपछि फेरि फर्किनुपर्ने झन्झटले उतै बसेका छन् । अछामको चौरपाटी गाउँपालिका–४ पायल घर भई हाल महाराष्ट्रको मुम्बईबाट कान्तिपुरको टेलिफोन सम्पर्कमा आएका हिक्मत कुमालले गाडी भाडा नपाएर धेरै अछामी फर्किन नसकेको बताए । ‘कामका लागि हामी यहाँ आएको १ महिना मात्रै भयो । गाउँबाट ऋण मागेर कामको खोजीमा यहाँ आइयो । यता आफ्नै वरिपरि कोरोना संक्रमणले दिनहुँ मान्छे मरिरहेका छन्,’ उनले भने, ‘हामीलाई पनि घर जान त मन छ नि । अर्काको ठाउँमा कोसँग पैसा मागेर घर जाने, बरु बिहान, साँझको छाक जसोतसो टरेको छ, यतै बस्छौं ।’

अछामकै कमलबजार नगरपालिका–४ का दीपक नेपाली भारतको उत्तरप्रदेशमा रोजगारीका लागि गएको दुई महिना मात्रै भयो । पहिलो चरणको कोरोना संक्रमण कम भएपछि उनी सपरिवार भारत पसे । ‘छोरीको उपचार गर्नुपर्ने भएकाले सपरिवार आयौं । एक महिना काम खोज्दै बित्यो । अन्तमा एक होटलमा काम पाएको थिएँ । कोरोनाले भारत पूरै लकडाउन भयो,’ उनले भने । होटल बन्द भएपछि उनको रोजगारी मात्र गुमेन, साँझ, बिहान छाक टार्नसमेत मुस्किल भएको छ ।

भारतको लखनउबाट कान्तिपुरको सम्पर्कमा आएका दीपकले आफू जस्तै थुप्रै नेपालीले छाक टार्न नसकेको बताए । ‘आफू मात्रै भए त जेनतेन गुजारा चल्थ्यो । नखाएरै बसे पनि तनाव हुन्थेन । श्रीमती र छोराछोरी पनि सँगै छन्,’ उनले भने, ‘अहिले त चुल्होमा आगो बल्न छोडी सक्यो । केही गरी आफ्नो घर जान पाएको भए बाँझो जग्गा खनेरै भए पनि गुजारा त चल्थ्यो । अहिले घर जानलाई पैसा नै छैन ।’ घरको मुख्य कमाउने माछे नै अलपत्रमा परेपछि परिवारमा पनि चिन्ता बढेको उनले बताए ।

भारतमा लकडाउन हुने थाहा पाएपछि मंगलसेन नगरपालिका–४ का शेरबहादुर विक दस दिनअघि घर आए । ‘आफ्नो गाउँका सबैलाई एक ठाउँमा जम्मा गरेर गाडी रिजर्भ गरेर उनी अछाम पुगेका हुन् । ‘हामीसँग अलिअलि पैसा थियो । घरसम्म पुग्यौं । अरू त आउनै सकेका छैनन् । कामको खोजीमा गएका धेरै नेपाली भारतमा अलपत्र छन्,’ उनले भने, ‘कतिपय युवाहरू फेरि भारतमै फर्कनुपर्ने भएकाले जसोतसो उतै बस्छौं भन्छन् ।’

उनका अनुसार भारतका महाराष्ट्र, दिल्ली, गुजरात, पञ्जाब, लखनउलगायतमा रोजगारीका लागि गएका नेपाली समस्यामा छन् । होटलमा भाडा माझ्नेदेखि, गाडी सफा गर्ने, होटलमा सरसफाइ गर्ने जस्ता काम गर्ने मजदुर अलपत्र परेको विक बताउँछन् । ‘सुदूरपश्चिम प्रदेशका अछामलगायत सबै नौ जिल्लाका मानिस प्रायः कामको खोजीमा भारतका विभिन्न सहर चहार्ने गर्दै आएका छन्,’ उनले भने, ‘भारतमा कुल्ली, चौकीदार, वाचमेन, होटल मजदुरसहितका कामदार उनीहरू कोरोना महामारीसँगै बेरोजगार बनेका छन् । खान, बस्न पनि पाएका छैनन् ।’

प्रकाशित : वैशाख २१, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली जिल्लामा बढे संक्रमित

एक साताअघि ‘ग्रिन जोन’ मा रहेको हुम्लामा दैनिक २० प्रतिशतले संक्रमणको दर बढेको छ
छपाल लामा

हुम्ला — जिल्ला बाहिरबाट भित्रिनेको संख्या बढेपछि कर्णालीका हुम्ला र मुगुमा कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढ्न थालेपछि परीक्षणलाई तीव्र बनाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

हुम्लामा सोमबार मात्रै आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि ‘ग्रिन जोन’ मा रहेको हुम्लामा दैनिक २० प्रतिशतले संक्रमणको दर बढेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बाँके र सुर्खेतबाट हवाईमार्ग भएर हुम्ला आएका यात्रुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा एकै दिन आठ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार सोमबार नेपालगन्ज र सुर्खेतबाट सीता र तारा एयरमा आएका ४० यात्रुको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएका सबै जनालाई रानीवनस्थित आइसोलेसनमा भर्ना गर्ने तयारी गरिएको छ । ‘उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्रता दिइनेछ,’ उनले भने, ‘समुदायस्तरमा पनि परीक्षणको दायरा बढाएका छौं ।’ वैशाख १४ गतेपछि सुर्खेत र नेपालगन्जबाट हवाईमार्ग हुँदै करिब ३ सय यात्र् ुभित्रिए पनि उनीहरूको स्वास्थ्य परीक्षण नभएकाले हुम्ला पनि कोरोनाको उच्च जोखिममा परेको उनले बताए ।

एक साताका लागि निषेधाज्ञा

कोरोना संक्रमितको संख्या बढेपछि हुम्लामा मंगलबार रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आगामी सोमबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

समुदायस्तरमा थप संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनका अनुसार संक्रमित बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा स्वास्थ्य, शान्तिसुरक्षा, विद्युत्, सञ्चार, खानेपानीजस्ता अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेछन् । केन्द्रको बैठकले जिल्ला बाहिर तथा भारतबाट फर्केकालाई अनिवार्य रूपमा १० दिनसम्म होम आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

मुगुमा १२ संक्रमित

सहरी क्षेत्रबाट जिल्ला भित्रिनेको संख्या बढेपछि मुगुमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । मुगुमा अहिलेसम्म २ बालबालिकासहित ५ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको निमित्त जिल्ला स्वास्थ्य प्रमुख ज्ञानसिंह बुढाले बताए । उनका अनुसार भेन्टिलेटर र अक्सिजन अभावमा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमित बढे अस्पतालमा शय्या अभाव हुने देखिएको जिल्ला अस्पतालका डा. कविराज पौडेलले बताए । उनका अनुसार अस्पतालका स्वास्थ्यकर्मीसमेत संक्रमणको जोखिममा छन् ।

सदरमुकाममा कोरोना संक्रमणको त्रास बढेको छ भने ग्रामीण क्षेत्रहरूमा झाडापखाला, ज्वरो, रुघाखोकीलगायतका बिरामी बढेका छन् । एक सातादेखि झाडापखालाले थलिएपछि स्थानीय मेडिकलबाट औषधि किनेर ल्याएको सोरु गाउँपालिका–४ का भक्तबहादुर शाहीले बताए । उनका अनुसार घरघरै बिरामी बढेका छन् । ‘ज्वरोले बिरामी नथलिएको घरै छैन,’ उनले भने, ‘गाउँको स्वास्थ्यचौकीमा औषधि नहुँदा मेडिकलबाट महँगोमा औषधि ल्याउनुपर्ने बाध्यता छ ।’ कोरोना महामारी फेलिएकाले सबै स्वास्थ्यकर्मीको ध्यान त्यतैतिर गएको निमित्त जिल्ला स्वास्थ्य प्रमुख बुढाले बताए । उनका अनुसार ज्वरो र झाडापखालाका बिरामी गाउँगाउँमा बढेपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार गराउन आउनेको भीड लाग्न थालेको छ । उनले जिल्ला अस्पतालमा दैनिक ५० जनासम्म बिरामी उपचारका लागि आइरहेको जानकारी दिए ।

मृत्युपछि कोरोना पुष्टि

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाकी ६२ वर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो अस्पताल लगिएकी उनको मृत्युपछि मात्रै एन्टिजेनमार्फत कोरोना परीक्षण गरिएको थियो । श्वासप्रश्वासमा समस्या, खोकी, घाँटी तथा जीउ दुख्ने समस्या बढ्दै गएपछि उनका आफन्तले एम्बुलेन्समार्फत उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए ।

तर उनको अस्पताल पुग्नुअगावै एम्बुलेन्समै मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछि गरिएको एन्टिजेन परीक्षणबाट ती महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पतालको कोरोना नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । योसँगै जिल्लामै ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×