दार्चुला जिल्ला अस्पतालमा इमरजेन्सी बाहेकका सबै सेवा बन्द

मनोज बडू

दार्चुला — जिल्ला अस्पतालका इमरजेन्सी बाहेकका अन्य सेवा बन्द गरिएका छन् । जिल्ला अस्पतालले एक सूचना जारी गरी अस्पतालको इमरजेन्सीबाहेकका सेवा आइतबारबाट अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो कहर देशैभरी तीव्र रुपमा फैलिरहेको र जिल्ला अस्पताल रहेको महाकाली नगरपालिकामा पनि धेरै संख्यामा कोरोनाका संक्रमण देखिन थालेपछि ओपीडी लगायतका सेवाहरु हाललाई बन्द गरिएको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

जिल्लाका विभिन्न स्थानीय तहका नागरिकहरु कोरोना संक्रमित भई जिल्ला अस्पतालमा उपचाररत रहेको र संक्रमितको संख्या तीव्र भइरहेको हुनाले संक्रमण फैलिने सम्भावनालाई ध्यानमा राखी अस्पतालको ओपीडी सेवा केही दिनका लागि बन्द गरिएको हो ।

ज्वरो आएका बिरामीहरुको स्वास्थ्य जाँचका लागि अस्पतालको इमरजेन्सी वार्ड बाहिर ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।

अक्सिजन कम भएपछि एक सैनिकलाई हेलिकप्टरबाट काठमाडौं लगियो

कोरोना पोजिटिभ भएर शरीरमा अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट नेपाली सेनाका एक जना नायकलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । ब्यास गाउँपालिका घर भएका नेपाली सेनामा कार्यरत ४५ वर्षीय पुरुषलाई काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?