कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा संक्रमण बढ्यो, मृत्यु हुनेमा युवा बढी

भवानी भट्ट

कञ्चनपुर — जिल्लामा कोरोना संक्रमण बढेसँगै मृत्यु हुनेमा युवा उमेरका बढी छन् । महेन्द्रनगरस्थित महाकाली अस्पतालमा बिहीबार तीन संक्रमितको मृत्यु भएको छ । उनीहरू सबै ३६ वर्षमुनिका छन् ।

कञ्चनपुरमा संक्रमण बढ्यो, मृत्यु हुनेमा युवा बढी

महाकाली अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार बुधबार राति दोधारा–चाँदनी नगरपालिका–१ का ३० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी भीमदत्त नगरपालिका–१८ का ३६ वर्षीय महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

दोधाराका ३० वर्षीय पुरुष केही दिनअघि भारतबाट फर्केका हुन् । गड्डाचौकीमा एन्टिजेन परीक्षणमा पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार महाकाली अस्पतालको आईसीयूमा भर्ना भए । अर्का पुरुष रक्त क्यान्सरका बिरामी हुन् । बुधबार रगत चढाउन आएका उनलाई संक्रमण देखिएपछि आईसीयूमा राखेर उपचार भएको थियो । बिहीबार बिहान मृत्यु भएकी महिला वैशाख ११ मा अस्पताल भर्ना भएकी हुन् । उनलाई पनि बुधबारदेखि श्वासप्रश्वासमा समस्या देखिएको हो । अहिले महाकाली अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जना गम्भीर रहेको डा. रोकायाले बताए । कोरोनाको दोस्रो लहर सुरु भएयता महाकाली अस्पतालमा ८ जनाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

एकै दिन ७१ संक्रमित थपिए

कञ्चनपुरका बिहीबार ७१ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षणबाट ४५ जना र एन्टिजेन परीक्षणबाट २६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट संक्रमण देखिएका ४५ मध्ये ३९ जना भीमदत्त नगरपालिकाका छन् । पुनर्वासमा २, वेदकोट, बैलौरी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा १/१ तथा पुनर्वासमा २ जनामा संक्रमण देखिएको छ । यसैगरी एन्टिजेन परीक्षण गरिएकामध्ये गड्डाचौकी नाकामा ४, महाकाली अस्पतालमा ४, शुक्लाफाँटा नगरपालिकामा ५ र वेदकोट नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । गड्डाचौकीमा एन्टिजेन किटको अभावमा कञ्चनपुर स्थायी घर भएकाहरूको मात्रै परीक्षण गरिएको हो । हालसम्म जिल्लामा पीसीआर परीक्षण गराएका ३ सय २५ र एन्टिजेन परीक्षण गराएका ४ सय ९६ संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १७, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?