सुनसान कर्णाली किनार

गणेश चौधरी

टीकापुर — आन्तरिक पर्यटकले भरिभराउ रहने कर्णाली किनार कोरोना त्रासको कारण फेरि सुनसान बनेको छ । र्‍याफटिङ, पिकनिक गर्ने तथा कर्णाली चिसापानी पुलमा सेल्फी खिच्नेहरूको भीडभाड कोरोनाले गर्दा सुनसान बनेको हो । 

सुनसान कर्णाली किनार

गत सालको चैतमा पनि लकडाउन भएपछि सुनसान बनेको कर्णाली किनार कोरोनाको जोखिम कम भएपछि आन्तरिक पर्यटकले गुल्जार हुँदै गएको थियो । दोस्रो चरणको कोरोना संक्रमणले फेरि कर्णाली किनारमा आन्तरिक पर्यटकको आगमन घटेर जस्तै बनेको हो । होटेल सिद्धार्थ कर्णाली चिसापानीका प्रबन्धक छत्र बोगटी कर्णाली घुम्न आउने बाँके बर्दियाका धेरै हुने र बाँकेमा लकडाउन भएपछि कर्णालीमा पर्यटक स्वतः घटेको बताउँछन् । उनले भने, ‘कोरोनाले फेरि पर्यटन व्यवसाय पुरै धराशायी हुने भो ।’

२०७८ को नयाँ वर्षको दिन चिसापानी पुलमा आन्तरिक पर्यटकको भरिभराउले सवारी साधन आउजाउमा पनि कठिनाइ भएको बोगटीले सुनाए । कर्णाली र्‍याफ्टिङ तथा एड्भेन्चरका सञ्चालक विष्णुप्रसाद जैसी र्‍याफ्टिङको सिजन यही हो तर कोरोनाले गेस्ट नै नआउने बताउँछन् । जैसीले भने, ‘विभिन्न थरीका रूख बोटविरुवा, फूल, चराचुरुङ्गी र जनावरको अध्ययन अवलोकनका लागि कर्णाली अति उत्तम छ ।’ उनले भने, ‘कर्णाली नदीमा र्‍याफटिङ सुरु भएर पर्यटकीय सम्भावनाको खोजी गरिएपछि आन्तरिक पर्यटक पनि दिनप्रतिदिन पर्यटक बढ्दै गएका हुन् । तर कोरोनाले सबैतिर बन्द हुँदै छ । पर्यटक नै आउँदैनन् ।’

प्राकृतिक दृश्य, नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा चराचुरुङ्गी तथा कर्णालीको स्वच्छ वातावरण पर्यटकका लागि आकर्षण हुन् । कर्णाली नदी किनारको चिसापानी बजारमा पाइने माछाका परिकारले पनि आन्तरिक पर्यटकलाइ कर्णाली किनार घुमफिर गर्न लोभ्याउने गर्थ्यो ।

कर्णाली नदी किनार जताततै पर्यटक आउन थालेका थिए । हुलाकी सडकमा रहेको कर्णाली पुलमा पनि पर्यटक रमाउने गरेका हुलाकी सडक किनारमा रहेको जीतु कटेजका सञ्चालक जीतराम चौधरीले बताए । ‘कर्णाली किनारमा आउने पर्यटक कर्णालीको पानी र माछाको स्वादमा पनि रमाउँछन्’, उनले भने, ‘कर्णाली किनारमा आउने पर्यटक कर्णालीको माछाको स्वाद नलिई फर्कंदैनन् । तर कोरोनाले मान्छेको आउजाउ नै बन्द छ । हामी होटल व्यवसायी पनि मारमा परेका छौं ।’

प्रकाशित : वैशाख १६, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?