कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

हिमपातले यार्सा संकलन भएन

बझाङ — लेकाली क्षेत्रमा दैनिकजसो हिमपात हुन थालेपछि यार्सा संकलनका लागि उच्च हिमाली पाटनमा पुगेका संकलकहरू घर फर्किन थालेका छन् । यार्सा संकलन क्षेत्र हिउँले ढाकेपछि यार्सा टिप्न भनेर पाटन उक्लिएकाहरू जाडो छल्न बेसी झर्न थालेका हुन् ।

हिमपातले यार्सा संकलन भएन

‘सबैतिर हिउँ जमेको छ । यार्सा टिप्ने ठाउँ सबैतिर हिउँले छोपेको छ,’ यार्सा संकलनका लागि पाटन पुगेर फर्किएका बझाङको छबिस पाथीभेरा गाउँपालिकाको बुडखोरीका बालु धामीले भने ‘सबैतिर डेढ/ दुई फिट हिउँ छ, जाडोले बस्न नसकेर फर्केर आयौं ।’ उनले गत शनिबारदेखि सुरु भएको हिमपात नरोकिएकाले आफूसहित बुडखोरीबाट यार्सा संकलनका लागि गएका ५५ जनाको टोली फर्किएको बताए । ‘हिउँ पर्न रोकिएको एक सातापछि मात्रै पाटन जाने सोच बनाएका छौं । अहिले त त्यहाँ को बस्न सक्ने ?’ उनले भने ।

लामो समयसम्म खडेरी परेको बझाङमा वैशाख ४ गतेदेखि निरन्तर वर्षा भैरहेको छ । बेंसी क्षेत्रमा वर्षा भए पनि लेकाली र उच्च हिमाली भेगमा भने भारी हिमपात भएकाले यार्सा संकलन कार्य प्रभावित भएको हो । दिनहुँजसो भैरहेको हिमपातले साइपाल गाउँपालिकामा पर्ने माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवनलगायतका यार्सा संकलन क्षेत्र सेताम्मे छन् । यस्तै सुर्मा गाउँपालिकाअन्तर्गतका जलजला, डाँफेचुली, तपोवन, डांँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगालगायतका क्षेत्रमा पनि बाक्लो हिउँ जमेको स्थानीयले बताएका छन् । यार्सा टिप्नका लागि भने चैत अन्तिमतिरै पाटन पुगेका केही संकलकहरू पनि सामल सकिन लागेकाले फर्किएको बताउँछन् ।

प्रकाशित : वैशाख १२, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?