कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीर्ण घरमा प्रहरी चौकी

मेनुका ढुंगाना

अछाम — स्थानीय रामारोशन गाउँपालिका–३ सान्तडामा रहेको प्रहरी चौकी जीर्ण भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । सान्तडा प्रहरी चौकीले रामारोशन गाउँपालिकाको ७ वडा र बान्नीगढी जयगढ गाउँपालिकाका केही वडासमेत हेर्दै आएको छ ।

जीर्ण घरमा प्रहरी चौकी

‘तल भैंसी बाँध्ने र माथि गोठालो सुत्नका लागि बनाइएको पुरानो गोठ हो,’ प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायले भने, ‘त्यसलाई रंगरोगन गरेर अलि बस्न मिल्ने बनाएका छौं ।’ उनले सर्पको डरले रातभरि जाग्राम बस्नुपर्नेसमेत पीडा सुनाए । बस्ने ठाउँको अभावमा आरोपीहरूलाई समेत आफैंसँग सुताउनुपर्ने बाध्यता भएको उनले बताए ।

प्रहरी चौकी सार्ने भनिए पनि स्थानीयहरूको विरोधका कारण गाउँपालिकाको अन्य वडामा सार्न नसकिएको उनको भनाइ छ । अछामकै ढकारी गाउँपालिकास्थित प्रहरी चौकी ८ दशक पुरानो जीर्ण घरमा छ । प्लास्टिकको पाल हालेर बस्नुपर्ने बाध्यता रहेको स्थानीय नामसिंह साउँदले बताइए । ‘प्रहरीहरू वर्षामा घर चुहिएर बस्नै सक्दैनन् । रातिसमेत छाता ओढेर बस्छन् । डरै डरले पुरानो घर भएकाले काठसमेत कुहिन थालेको छ’ उनले भने ।

यस्तै, मेल्लेख गाउँपालिका रहेको प्रहरी चौकीको अवस्था पनि उस्तै छ । प्लास्टिक हालेर प्रहरी चौकी बसेको जीर्ण घरलाई जोगाउँदै आएका प्रहरी सहायक निरीक्षक रमेशबहादुर बोहराले बताए । ‘पानी परेपछि बस्ने अवस्था हुँदैन, पाल हालेर गुजारा चलाउनुपरेको छ । चुहिएको दिन राति सुत्नै सकिँदैन’ उनले भने ।

स्थानीय तहका नागरिकको सुरक्षाको जिम्मेवारी लिएका ग्रामीण क्षेत्रका प्रहरी नै आफैं असुरक्षित छन् । ग्रामीण क्षेत्रका अधिकांश प्रहरी चौकी भाडाको घरमा सञ्चालनमा छन् ।

अछाममा १ जिल्ला प्रहरी कार्यालय, ७ इलाका प्रहरी कार्यालय, १२ प्रहरी चौकी, ४ अस्थायी प्रहरी पोस्ट गरी करिब ३१ प्रहरी युनिट छन् । यीमध्ये जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय साँफेबगर, प्रहरी चौकी साँफेबगर, चौखुट्टे प्रहरी चौकी र मंगलसेन प्रहरी चौकी मात्र आफ्नै भवनमा सञ्चालनमा छन् ।

गाउँमा रहेका प्रहरी चौकीहरू जीर्ण हुँदा सेवा प्रवाहमा समेत निकै समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी तुल्सीराम अर्यालले बताए ।

प्रकाशित : वैशाख ११, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?