कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बझाङमा संक्रमित थपिँदै, लापरबाही उस्तै

कर्मचारी नहुँदा पीसीआर प्रयोगशाला बन्द , भेन्टिलेटर सञ्चालनमा आएन, भ्याक्सिन लगाएकालाई पनि संक्रमण
एक–दुई सातामा अवस्था नियन्त्रणबाहिर जान्छ : जिल्ला अस्पताल
वसन्तप्रताप सिंह

बझाङ — भारतबाट मंगलबार घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो । आइतबार मात्रै जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिकाका एक र जयपृथ्वी नगरपालिकाका एक जनालाई परीक्षण गर्दा संक्रमण पत्ता लागेको थियो । जिल्ला अस्पतालका अनुसार उनीहरूमा लक्षण देखिएपछि मात्रै परीक्षण गरिएको हो ।

बझाङमा संक्रमित थपिँदै, लापरबाही उस्तै

जिल्ला अस्पतालमै कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा पनि कोरोनाका लक्षणहरू देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भयो । उनले कोभिडविरुद्धको भ्याक्सिन (कोभिसिल्ड) को पहिलो मात्रा लगाइसकेकी थिइन् । कोभिड भ्याक्सिन लगाउनुपूर्व पनि संक्रमित भइसकेकी ती स्वास्थ्यकर्मीमा अहिले पहिलाभन्दा कडा खालका लक्षणहरू देखिएका छन् ।

दुई हप्ताको अवधिमा लक्षण देखिएका ५९ जनाको परीक्षण गर्दा बझाङका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बझाङमा कडा खालको लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढेको भए पनि न्यून संख्यामा मात्रै परीक्षण भैरहेको छ । भीडभाड नियन्त्रण, सुरक्षा सतर्कता र उपचारका लागि पूर्वाधारको तयारीमा भने कसैको ध्यान गएको देखिँदैन ।

भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किनेहरूको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । भारतबाट आएका र परीक्षण गरिएका प्रायःजसो व्यक्तिहरूमा संक्रमण देखिए पनि सबैको परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने काम गरिएको छैन । सरकारले भारतको हरिद्वारको कुम्भ मेलाबाट फर्किनेलाई चौध दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशन दिएको भए पनि बझाङमा त्यसको बेवास्ता गरिएको छ ।

भारतमा संक्रमण बढेको अवधिमा कति मानिस जिल्ला भित्रिए भन्ने तथ्यांकसमेत कसैसँग छैन । ‘पहिला आइसोलेसन क्वारेन्टाइनको व्यवस्था हुँदा कति मानिस आए भनेर राख्ने गरेका थियौं । त्यो बन्द भएपछि तथ्यांक राख्ने काम बन्द भएको छ । सरकारले फेरि भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको सुनिएको छ । यो काम छिट्टै सुचारु हुन्छ होला,’ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख कमल चौधरीले भने ।

भारतको संक्रमण फैलिएको क्षेत्रबाट आएकाहरूलाई निर्बाध छोड्दा समुदायमा संक्रमण फैलिने चिन्ता स्थानीयमा छ । ‘हरिद्वारको कुम्भ मेलाबाट मात्रै तीन/चार हजार मानिसहरू फर्किएका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राख्नु त कता कता सामान्य ज्वरोसमेत नजाँचेर घर पठाइएको छ,’ खप्तड छान्ना गाउँपालिकाका मंगलबहादुर खड्काले भने, ‘यसरी लापरबाही गर्दा त सबैतिर कोरोना फैलिने डर भयो ।’ उनले पछिल्लो समय बालबालिका बढी संक्रमित भएको खबर सुन्दा र जिल्लामा देखिएको लापरबाहीले निकै डर लाग्ने गरेको बताए ।

केही दिनयता परीक्षण गरिएकामध्ये धेरैजसोमा संक्रमण देखिन थालेको र उनीहरूमा कडा खालको लक्षणहरू भेटिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । बझाङमा देखिएका संक्रमितहरूमध्ये ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने हातखुट्टा, कम्मर दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर मिलन खड्काले बताए ।

‘परीक्षण सीमित भए पनि अहिले दैनिकजसो संक्रमितहरू भेटिन थालेका छन्,’ उनले भने, ‘अघिल्लो लहरमा संक्रमण पुष्टि भएकामध्ये एक/दुई प्रतिशतमा मात्रै लक्षण देखिएको थियो । यो पटक भने प्रायः सबैजसोमा लक्षण देखिएको छ । फोक्सोमा गम्भीर खालको संक्रमण देखिएका संक्रमितहरू पनि आउन थालेका छन् ।’ संक्रमितको संख्या दैनिक बढ्न थालेकाले अस्पतालको जनशक्ति र पूर्वाधारले धान्न गाह्रो हुने उनले बताए । ‘दैनिक दुई जनाको संख्यामा मात्रै लक्षणसहितका संक्रमित आए भने हाम्रो अस्पतालले एक/दुई हप्ताभन्दा बढी धान्न सक्ने अवस्था छैन । छिट्टै अवस्था नियन्त्रण बाहिर जाने पक्का जस्तै भएको छ,’ डा. खड्काले भने ।

भेन्टिलेटर र प्रयोगशाला बन्द

जिल्लामा संक्रमितको संख्या बढ्दै गएको बेला बझाङका पालिकाहरूको पहलमा स्थापित पीसीआर प्रयोगशाला डेढ महिनायता बन्द छ । जनशक्ति अभावका कारण प्रयोगशाला बन्द गर्नुपरेको जिल्ला अस्पतालले जनाएको छ । प्रयोगशाला सञ्चालन गर्नका लागि आवश्यक जनशक्तिलाई प्रदेश सरकारका तर्फबाट तलबसुविधा दिने प्रतिबद्धता आएको भए पनि रकम नआएपछि प्रयोगशाला बन्द गरिएको बझाङ अस्पतालका निमित्त प्रमुख डा. खड्काले बताए ।

‘कर्मचारीको तलबसुविधा प्रदेशले व्यहोर्ने भनेर हामीले ल्याब स्थापना गर्‍यौं तर प्रदेशले एक रुपैयाँ पनि तलब हालेन । अस्पताल विकास समितिको कोषबाट रकम हालेर निरन्तर चलाउन सम्भव नभएपछि बन्द गर्नुपर्ने अवस्था आएको हो,’ उनले भने । प्रयोगशाला सञ्चालनका लागि चार जना कर्मचारी आवश्यक पर्ने र सबैको तलबसुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि डेढ महिनाअघि नै बन्द गरिएको उनले बताए ।

यस्तै, प्रदेश सरकारले ६ महिनाअघि पठाएका २ वटा भेन्टिलेटर पनि हालसम्म सञ्चालनमा नआएर त्यसै थन्किएका छन् । ‘मेसिन त पठाइयो तर यसको सञ्चालन गर्नका लागि आवश्यक तालिम र जनशक्ति अहिलेसम्म दिएको छैन,’ डा. खड्काले भने, ‘अस्पतालको मौजुदा जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव नभएकाले त्यसै थन्काएर राखेका छौं ।’

सुरक्षा मापदण्डको उल्लंघन

जिल्लाका विभिन्न ठाउँमा सयौंको भीड उपस्थित हुने खालका मेलाहरू दैनिकजसो सञ्चालन भइरहेका छन् । भीडभाड हुने ठाउँमा मास्कको समेत प्रयोग गर्ने गरिएको छैन । ‘पहिलेभन्दा अवस्था भयावह हुँदै छ । स्थानीय तह र समुदायले भने यसको बेवास्ता गरिरहेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले भने, ‘यस्तै खालको बेवास्ता कायमै रह्यो भने सबैले पछुताउनुपर्ने निश्चित छ ।’

यता जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने आफूहरू कोरोना नियन्त्रणका लागि बझाङका सबै पालिकाका प्रमुखहरूसँग समन्वय गरिरहेको बताए ।

प्रकाशित : वैशाख ८, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?