२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

शक्तिपीठमा घुइँचो

तृप्ति शाही

बैतडी — कोरोना संक्रमणका बीच पनि बैतडीमा मंगलबार चैतेदसैं धुमधामसँग मनाइएको छ । जिल्लाका भगवती मन्दिरमा पशु बलिसँगै पूजाआजा गरेर चैतेदसैं अर्थात् चैत्र शुक्ल अष्टमी पर्व मनाइएको हो ।

शक्तिपीठमा घुइँचो

सरकारले २५ जनाभन्दा बढी मानिस भेला भएर कार्यक्रम गर्न रोक लगाए पनि शक्तिपीठहरूमा हजारौंको संख्यामा स्थानीय भेला भएर पूजाआजा गरेका छन् । जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखसँगै कर्मचारी पनि मन्दिर दशर्नका लागि पुगेका थिए ।

कोरोना संक्रमणलाई दृष्टिगत गरी सुरक्षाका सामग्रीसहित आफूहरूले मेलामा सहभागी हुन आम नागरिकलाई आग्रह गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । मंगलबार जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकमा अबदेखि भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउनतर्फ लाग्ने निर्णय भएको उनले बताए ।

दशरथचन्द नगरपालिकाको देहिमाडौंस्थित निङलासैनी मन्दिर, दशरशचन्द नगरपालिकाकै त्रिपुरा सुन्दरी मन्दिर, मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर, डिलासैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा रहेको भगवती मन्दिरमा धुमधामले पूजाआजा भएको छ । भगवतीका ७ वटा बहिनीमध्ये पाँच वटा बैतडीमै रहेको धार्मिक विश्वास छ ।

भारतका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट पनि पूजाआजाका लागि दर्शनार्थीहरू मन्दिर पुगेका निङलासैनी मन्दिरका पण्डित लोकराज भट्टले बताए । राँगा र बोकाको बलिसहित भाकल गरेका अन्य वस्तुहरू मन्दिरमा चढाएर पूजाआजा भएको उनले बताए । ‘मनोकामना पूरा हुने हेतुले बर्सेनि श्रद्धालुहरू चैतेदसैंमा यहाँका भगवतीका मन्दिरहरूमा पुग्ने गर्छन्,’ उनले भने, ‘यो वर्ष पनि निङलासैनीमा मात्र हजारौंको संख्यामा दर्शनार्थीहरू आएर पूजाआजा गरेका छन् । अन्य भगवती मन्दिरमा पनि दर्शनार्थीहरू पुगेका छन् ।’

कोरोनाका कारण जिल्ला बाहिरबाट यो बेला अरू वर्षजस्तो धेरै श्रद्धालुहरू नआए पनि केही मात्रामा आएका उनले बताए । निङलासैनी मन्दिरमा वर्षको ४ पटक पूजाआजासँगै मेला लाग्ने गरेको भट्टले जानकारी दिए । ‘यो दोस्रो ठूलो दसैं हो । योभन्दा ठूलो असोज शुक्लपक्षको दसैंमा मेला हुन्छ । भाद्र महिनाको अनन्त चतुर्दशी र मंसिरको शुक्लपक्षमा पनि ठूलै पूजाआजा हुने गरेको छ,’ उनले भने ।

घटस्थापनाका दिनबाट सुरु भएको पूजा अष्टमीको दिन समापन गरिएको निङलासैनी मन्दिरका मुखिया मानबहादुर बोहराले बताए । चैत्र शुक्ल प्रतिपदाको दिनबाट व्रत बसेकाहरूले पनि व्रतको समापन गर्ने गरेको उनले बताए । परम्पराबाट चलिआएको रीतिरिवाजलाई निरन्तरता दिएर विश्व शान्तिको कामना गर्दै कोरोनाको समयमा पनि बलिसहितको पूजाआजा गरिएको उनको भनाइ थियो ।

मेलौली भगवतीको मन्दिरमा पनि पूजाआजा भएको स्थानीय निर्मला चन्दले बताइन् । कोरोनाले गर्दा पहिले जस्तो धुमधामसँग मेला भने यो वर्ष नलागेको उनको भनाइ थियो । कोरोनाले गर्दा दर्शनार्थीहरू पनि कमै आएका उनले बताइन् । उनले भनिन्, ‘अरू वर्ष पूजाआजासँगै ठूलो मेला पनि लाग्थ्यो भने यो वर्ष पूजा मात्र भयो । तर पनि कोरोनाको डरभन्दा दर्शन गर्नु ठूलो ठानेर स्थानीय भक्तजनहरू मन्दिर पुगेका थिए ।’

गत वर्ष कोरोनाको डरले सामान्य रूपमा चैतेदसैं मनाइए पनि यो वर्ष पूजाका लागि ठूलो संख्यामा श्रद्धालुहरू आएको दशरथचन्द नगरपालिकाका स्थानीय दिनेश भट्टले बताए । जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा लागेका मेलाहरूले संक्रमणको जोखिम बढाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लामा कोरोना व्यवस्थापन बैठकले सबै पालिकालाई २५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन नदिन भन्दै पत्राचारसमेत गरे पनि मेलामा लागू हुन सकेन ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?