१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भारतबाट धमाधम फर्कंदै विद्यार्थी

भवानी भट्ट

कञ्चनपुर — बुटवलका सुबोध क्षत्री अध्ययनका लागि दुई महिनाअघि मात्रै भारत उत्तराखण्डको देहरादून पुगेका थिए । सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका उनी भर्ना भएर कलेज जान थालेको डेढ महिना मात्रै भएको थियो ।

भारतबाट धमाधम फर्कंदै विद्यार्थी

यसै सातादेखि पहिलो सेमेस्टरको परीक्षा तालिकासमेत प्रकाशित भएको थियो । त्यसका लागि मिहिनेत गरेर पढिरहेका थिए । तर अचानक कलेज बन्द भएपछि घर फर्किनुपर्‍यो ।

‘हामी परीक्षाका तयारीमा थियौं तर कलेज वरिपरि र विद्यार्थीहरूमा समेत कोरोना देखिएपछि बन्द भयो,’ आइतबार गड्डाचौकी नाका हुँदै घर फर्किएका क्षत्रीले भने, ‘परीक्षा पनि अनिश्चित बनेको छ, एक महिनापछि मात्रै सम्पर्क गर्न भनेको छ ।’ उनी माघ अन्तिमतिर देहरादून गएका थिए । फागुनमा भर्ना भएर पढाइ सुरु भएको थियो ।

देहरादूनमा पछिल्लो दुई सातादेखि कोरोनाको संक्रमण तीव्र भएको हो । कलेजहरू त्यतिबेलादेखि नै बन्द भएका थिए । उनका अनुसार त्यहाँ आइतबारदेखि लकडाउनसमेत घोषणा भएको छ । त्यही भएर होस्टेलका विद्यार्थीहरू पनि धमाधम घर फर्किन लागेको उनले बताए । ‘हाम्रो कलेजमा पढिरहेका १५ सयभन्दा बढी नेपाली विद्यार्थीहरू घर फर्किसकेका छन्,’ उनले भने, ‘बाँकी विद्यार्थीहरू पनि एक/दुई दिनमै फर्किने तयारीमा छन् ।’ क्षत्री आठ जना साथीभाइसँगै फर्किएका हुन् । ‘हरिद्वारको कुम्भमेलाका कारण बढी त्रास फैलिएको छ,’ सुनसरी इनरुवाका समिम अन्सारीले भने, ‘पोहोर पनि पढाइ भएन, यसपालि राम्ररी पढाइ होला भनेको फेरि उस्तै भयो ।’ उनी फेब्रुअरीमा देहरादून गएका थिए ।

कृषि विज्ञान अध्ययन गरिरहेका उनको पनि अप्रिल २२ देखि नै परीक्षा तोकिएको थियो । शुक्रबार मात्रै परीक्षा स्थगित भएको सूचना प्रकाशित भएपछि उनी साथीभाइसँगै घर फर्किएका हुन् । ‘मे २ पछि मात्रै अर्को निर्णय हुने भनेको छ,’ अन्सारीले भने, ‘परीक्षाका तयारी गरिरहेका थियौं, एकाएक रद्द भएपछि निराश भएर घर फर्कियौं ।’

‘हामीले परीक्षा दिन पनि पाएनौं, घरबाट गएको दुई महिनामै फर्किनुपर्‍यो,’ सर्लाहीको कविलासी–४ का विशालकुमार यादवले भने, ‘फेरि कलेज कहिले खुल्छ, परीक्षा कहिले हुन्छ, केही टुंगो छैन ।’ बीटेक सीएससी अध्ययन गरिरहेका उनी पनि पहिलो सेमेस्टरका विद्यार्थी हुन् । उनी होस्टेलमा बसेर पढिरहेका थिए । कलेजसँगै होस्टेलसमेत बन्द भएपछि घर फर्किनुपरेको उनले बताए । आइतबार गड्डाचौकी नाकाबाट ९ सय ११ जना नेपाल भित्रिएका थिए । यिनमा ५ सय जनाभन्दा बढी विद्यार्थी छन् । उनीहरू अधिकांश देहरादूनबाट फर्किएका हुन् । यसरी फर्किनेमध्ये नाकामा जाँच गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार १ सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारत उत्तराखण्डको चम्पावत र उद्यमसिंहनगरका सीमावर्ती बजारहरू खटीमा, वनबासा र टनकपुरमा आइतबार लकडाउन घोषणा गरिएको छ । कोरोनाको संक्रमण अत्यधिक बढेपछि हरेक साताको एक दिन हरेक आइतबार लकडाउन गर्ने निर्णय गरिएको हो । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ आउनेलाई रोकटोक नभएपनि भारततर्फ जानेलाई भने पूर्ण रूपमा रोक लगाइएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?