माओवादी केन्द्रका सांसद झपट बोहरा पदमुक्त
धनगढी — नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई प्रदेशसभाले सोमबार पदमुक्त गरेको छ ।
संविधानको धारा १८० तथा राजनीतिक दल सम्बन्धी ऐन र प्रदेशसभा नियमवाली २०७४ बमोजिम उनी प्रदेशसभा सदस्य पदमा नरहेको जानकारी सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेशसभा बैठकमा जानकारी गराएका हुन् । माओवादी केन्द्रको सुदूरपश्चिम संसदीय दलले बिहीबार बोहरा दलमा नरहेको जानकारी सहितको पत्र प्रदेशसभामा दर्ता गराएको थियो ।
अछाम १ को (ख) बाट निर्वाचित बोहरा यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीसमेत थिए । साविक नेकपामा फाटो आएसँगै उनी नेकपा एमाले ओली पक्षमा लागेर मन्त्री पदबाट राजिनामा दिएका थिए । लेखराज भट्ट निकट बोहरा आफ्नो पार्टी छाडेर ओली समूहमा लागेपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव नेपबहादुर चौधरीले यसअघि नै २४ घण्टे स्पष्टिकरण सोधेका थियो ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट १४ सदस्य थिए । अब १३ जना मात्रै छन् ।
प्रकाशित : वैशाख ६, २०७८ १४:५२