डम्पिङ साइट योजना अलपत्र

भीमदत्त नगरपालिकाबाट उत्पादन हुने फोहोर बजार क्षेत्रका खाल्डाखुल्डीमा पुर्ने गरिएको छ
भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि ठाउँ खोजी हुन थालेको दुई दशकभन्दा बढी भयो । सुरुमा डम्पिङ साइटका लागि जमिन खोजी भयो । पाँच बिघा जमिनका लागि सूचना नै प्रकाशित भयो । तर डम्पिङ साइटका लागि जमिन दिन कोही तयार भएनन् ।

डम्पिङ साइट योजना अलपत्र

पछिल्लो पटक भीमदत्त नगरपालिकामा एसियाली विकास बैंकको ग्रामीण सहरी विकास कार्यक्रम (आरयूडीपी) लागू भएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको विषय अगाडि बढेको छ । तर यसमा पनि तीन वर्षको अवधिसम्म जमिन खोज्न सकिएको छैन । कार्यक्रमअन्तर्गतका अन्य पूर्वाधार निर्माणको काम अघि बढे पनि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि भने प्रगति शून्य छ ।

भीमदत्त नगरपालिकाले चुरे फेदीको वडा नं. ३, ७ र ८ को सिमानामा रहेको सिद्ध सामुदायिक वनमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठाउँ छनोट गरेको छ । तर स्थानीयको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । ‘फोहोरमैला व्यवस्थापनका लागि जमिन खोजी गर्न लागेको २०/२५ वर्ष भयो,’ भीमदत्त नगरपालिकाको योजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनियर गोरखबहादुर सिंहले भने, ‘आरयूडीपी सुरु भएदेखि हामी निरन्तर त्यसकै प्रयासमा छौं, सुरुमा सबैले हुन्छ भन्छन्, तर जब काम अघि बढाउन खोज्छौं विरोध हुन्छ ।’

आरयूडीपी कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रसँगै सडकलगायत पूर्वाधार निर्माणका लागि ३ अर्ब बढी बजेट आउने निश्चित भएको छ । तर त्यसको पहिलो सर्त फोहोरमैला व्यवस्थापन केन्द्र नै हो । उक्त काम अघि नबढेसम्म अन्य काम पनि सुरु नहुने प्रावधान छ । कार्यक्रमको कम्तीमा २० प्रतिशत बजेट अर्थात् ६० करोड फोहोरमैला व्यवस्थापन केन्द्रमा खर्च गर्नुपर्ने हुन्छ ।

उक्त कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माणको काम सुरु भएको छ । तर ती काम पनि फोहोरमैला व्यवस्थापन केन्द्रको काम छिट्टै सुरु गर्ने प्रतिबद्धतापछि अघि बढेको हो । त्यसका लागि जमिनको टुंगो अझै लागेको छैन । इन्जिनियर सिंहका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्रका लागि २५ हेक्टर बढी जमिन आवश्यक पर्छ । डम्पिङ साइट प्रस्तावित क्षेत्रका ३ सय बढी स्थानीयलाई विभिन्न क्षेत्रमा निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन भ्रमण पनि गराइएको छ । ‘प्रभावित क्षेत्रका धेरैलाई अवलोकन भ्रमण पनि गराइसकेका छौं,’ भीमदत्त नगरपालिकाको वातावरण अधिकृत गणेश ठगुन्नाले भने, ‘तर भ्रमणबाट फर्केपछि सबै तयार हुन्छन्, केही दिनमै विरोध सुरु हुन्छ ।’

भीमदत्त नगरपालिकामा दैनिक ११ देखि १४ टन फोहोर उत्पादन हुने अनुमान छ, जसमध्ये दैनिक ७ टन मात्रै संकलन हुने गरेको ठगुन्ना बताउँछन् । उक्त फोहोर अहिले बजार क्षेत्रका खाल्डाखुल्डीमा पुरिँदै आएको छ । यसअघि ठाउँ अभावका कारण नगरपालिका परिसरमै फालिन्थ्यो । ‘अब बजार क्षेत्रका खाल्डाखुल्डी पनि भरिन लागेका छन्, त्यसपछि कहाँ फाल्ने भन्ने चिन्ता छ,’ ठगुन्नाले भने ।

नगरपालिकाले राम्ररी समन्वय गर्न नसकेका कारण हालसम्म डम्पिङ साइटका लागि जमिन प्राप्त हुन नसकेको भीमदत्त नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले बताए । ‘हामी पनि यसमा चुकेका छौं, आगामी दिनमा स्थानीयसँगै सहजीकरण गरेर सहमतिमा ल्याउन प्रयास गर्छौं,’ चन्दले भने । भीमदत्त नगरपालिकाले व्यवस्थापन केन्द्र उद्योगका रूपमा अघि बढने भएकाले यसबाट रोजगारीसमेत सिर्जना हुने जनाएको छ । त्यसमा स्थानीयलाई नै प्राथमिकता दिइनेछ । नगरपालिकाले प्रस्तावित क्षेत्रमा विकास निर्माणदेखि विभिन्न किसिमका प्याकेजसमेत घोषणा गरेको छ ।

सडक, अस्पताल, विद्यालयसँगै उक्त क्षेत्रका बालबालिकालाई प्राविधिक शिक्षामा विशेष छुटलगायतका योजना अघि सारेको छ । आरयूडीपी कार्यक्रमअन्तर्गत भीमदत्त नगर क्षेत्रमा ३६ किमिस्तरीय कालोपत्रे सडक निर्माण हुने योजना छ । तर फोहोरमैला व्यवस्थापन केन्द्र नबने कार्यक्रम नै फिर्ता जान सक्नेसमेत देखिएको छ । प्रस्तावित क्षेत्रका बासिन्दाहरूले चुरेक्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको र चुरे क्षेत्रमा विभिन्न भौतिक संरचनाहरू निर्माण भएमा जंगल विनाशसँगै वातावरण्यी अवस्था खलबलिने भएकाले डम्पिङ साइटका लागि अन्यत्र जग्गा खोज्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : वैशाख ६, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?