कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

फोहोरमैला व्यवस्थापन केन्द्रलाई जग्गा अभाव

मोहन बुढाऐर

धनगढी — एक दिनमा २० टनभन्दा बढी फोहोर उत्पादन हुने सुदूरपश्चिमको राजधानी सहर धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना हुन सकेको छैन । डम्पिङ साइट निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) ले चार वर्षअघि एक अर्बभन्दा बढी ऋण रकम प्रदान गरे पनि समयमा काम सम्पन्न हुन नसक्दा बर्सेनि फ्रिज हुँदै गएको छ ।

फोहोरमैला व्यवस्थापन केन्द्रलाई जग्गा अभाव

चालु आर्थिक वर्षमा धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन नसके एडीबीको ऋण सहयोग सधैंका लागि फिर्ता जाने आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रवीण शाहले बताए । उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा एडीबीले सुदूरपश्चिमका चारवटा नगरपालिका धनगढी, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाको क्षेत्रीय सहरको स्तरोन्नतिका लागि चारवटा प्याकेजमा करिब ९ अर्ब ऋण सहयोग उपलब्ध गराएको थियो । जसमध्ये दिशाजन्य पदार्थ तथा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि मात्रै २ अर्बभन्दा बढी रकम थियो । आयोजना प्रमुख शाहाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गाको खोजीमा चार वर्ष बितेको बताए । उनले चालु आर्थिक वर्षमा गोदावरी, र शुक्लाफाँटा नगरपालिकाले जग्गा उपलब्ध गराएकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि टेन्डर आह्वान गरिसकेको जनाए । कञ्चनपुरको भीमदत्त र धनगढी उपमहानगरपालिकाले अझै जग्गा उपलब्ध गराउन नसकेको बताए ।

‘धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेलाको राष्ट्रिय वन क्षेत्रलाइ डम्पिङ साइटका लागि छनोट गरेको छ,’ आयोजना प्रमुख शाहले भने,‘ तर ईआई र नेपाल सरकारबाट जग्गामाथिको स्वामित्व हासिल गर्ने काम उपमहानगरपालिकाले पूरा गर्न सकेको छैन ।’ उनले चालु आर्थिक वर्षभित्रमा जग्गामाथिको स्वामित्व र ईआई गर्ने प्रक्रिया पूरा गर्न नसके एडीबीको ऋण सहयोग गुम्ने डर रहेको बताए । उनका अनुसार एडीबीले उपमहानगरपालिकालाई सन् २०२२ भित्र योजना सम्पन्न गरिसक्ने गरी ऋण सहयोग उपलब्ध गराएको हो ।

सहरी विकास योजना कार्यान्वयन एकाइका इन्जिनियर झपट थापाले भीमदत्त नगरपालिकाले जग्गा निर्विवाद छनोट गर्न नसकेकाले चालु आर्थिक वर्षमा टेन्डर आह्वान गर्न सकिने स्थिति नभएको बताए । तर उनले धनगढी उपमहानगरले जग्गा प्राप्तिको सम्पूर्ण प्रक्रियालाई चाँडो पूरा गर्न सके टेन्डरसम्म आह्वान हुन सक्ने बताए ।

धनगढी उपहानगरपालिका लागि फोहोर व्यवस्थापन केन्द्रका लागि एडीबीको ऋण सहयोग ६० करोड रुपैयाँ छ । उक्त व्यवस्थापन केन्द्रसंँगै दिसाजन्य फोहोर प्रशोधन केन्द्रका लागि ४५ करोड बजेट रहेको इन्जिनियर थापाले बताए । भीमदत्त नगरपालिकाका लागि ९० करोड बजेट छ । गोदावरी र शुक्लाफाँटाको एडीबीले दिसाजन्य प्रशोधन र फोहोरमैला व्यवस्थापन केन्द्रका लागि बढीमा ६०/६० करोडमा टेन्डर आह्वान भएको हो । एडीबीको ९ अर्ब ऋण सहयोगअन्तर्गतका शुक्लाफाँटा र गोदावरी नगरपालिकाको भवन निर्माण, चारवटै नगरमा सडक तथा ढलनाली स्तरोन्नति र नगरपालिकाबाट दिइने सफ्टवेयर सेवाका योजना भने पूरा हुने चरणमा छन् ।

धनगढी उपमहानगरपालिका इन्जिनियर द्विजराज भट्टले चालु आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको टेन्डर आह्वान गरिसक्ने गरी नेपाल सरकारबाट जग्गामाथिको स्वामित्व र वातावरणीय प्रभाव मूल्यांकन ईआई यही महिनाभित्र पूरा गर्ने काम अघि बढाएको बताए । उनले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि खोजिएको वडा नम्बर ७ को पटेलाको माटो परीक्षण, सर्भेलगायतका काम पूरा भइसकेको बताए ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?