३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मन्त्रीको टोलीद्वारा दार्चुला-तिंकर सडकको हवाइ निरीक्षण

मनोज बडू

दार्चुला — महाकाली लोकमार्ग अन्तर्गतको दार्चुला–तिंकर सडक खण्डको निरीक्षणमा आएको मन्त्रीहरुको टोली सडकको हवाइ निरीक्षण गरेर आइतबार दार्चुलाबाट फर्केको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सडक निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले हवाइ निरीक्षण गरेका हुन् ।

धनगढीबाट जिल्ला सदरमुकाम खलंगामा हेलिकप्टर बिहान साढे ११ बजे अवतरण भएको मन्त्रीहरुको टोली केही मिनेटमै ब्यास गाउँपालिकाको सुन्सेरा प्रस्थान गरेको थियो । तिंकर सडक निर्माणका लागि सुन्सेरामा रहेको नेपाली सेनाको क्याम्पमा अवतरण गरेर उक्त ठाउँमा रहेका सेना प्रमुखबाट ब्रिफिङ्पछि टोली सदरमुकाम फर्किएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । ‘करसापको ब्रिफिङपछि तिंकर सडकको हवाइ निरीक्षण गर्दै टोली तल झरेको हो । सडक निरीक्षणपछि मन्त्रीको टोलीले सदरमुकाममा जिल्लाका सरोकारवाला निकायसँग आधा घण्टा अन्तरक्रिया गरेर धनगढीका लागि हेलिकप्टर प्रस्थान गरेको हो,’ उनले भने ।

अन्तरक्रियामा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले यो सरकारले महाकाली लोकमार्गसँगै देशभरका चार वटा बाटोलाई महत्त्वका साथ अगाडि बढाइरहेको बताए । ‘विगतमा जे भएपनि अब द्रूत गतिमा अगाडि बढाउनुपर्छ भनेर माथिल्लो खण्ड सेनालाई निर्माणको जिम्मा लगायौँ । यो सडक निर्माण गर्न सेनालाई दुई ठाउँमा क्याम्प राखिसकेको हुनाले त्यसलाई हेर्न मन्त्रालयको टोली यहाँ आएको हो,’ उनले भने, ‘सडकलाई चाँडो निर्माण सम्पन्न गर्न सेनासित बसेर मन्त्रालय विभागको टोली छलफल गर्ने र माथिल्लो खण्ड सेना र तल्लो खण्ड योजना कार्यालयले निर्माण गरिने र आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकतामा समेटिने छ ।’

कैलाश मानसरोबर जोड्ने छोटो दूरीको यो सडक धार्मिक पर्यटकिय दृष्टिकोणका साथै अन्तर्राष्ट्रिय व्यापारिक महत्त्वका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको स्थानीयको भनाइ थियो ।

२०६५ सालबाट निर्माण सुरु गरिएको यो सडकको अस्थायी रुपमा ४३ किलोमिटरको ट्रयाक खोलिएको ४० किलोमिटर सडक खण्डमा गाडी गुड्ने दार्चुला तिंकर सडक योजनाले जनाएको छ । कञ्चनपुरको ब्रह्वदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोड्ने गरी यो सडक निर्माण गर्न लागिएको हो । यसको कुल लम्बाइ ४२५ किलोमिटर छ । जसमा अहिलेसम्म १५८ किलोमिटर सडकको ट्रयाक खुला गरिएको महाकाली लोकमार्ग दार्चुला तिंकर सडक योजनाका सब–इन्जिनियर मुकेश मल्लले जानकारी दिए ।

प्रकाशित : वैशाख ५, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?