१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वायु प्रदूषणले बिरामी बढे

‘राति झ्याल–ढोका लगाएर सुत्यो भने सास फेर्न सकिँदैन, झ्याल–ढोका बन्द नगरे कोठा धूलैधूलोले भरिन्छ’
वसन्तप्रताप सिंह

बझाङ — आकाशमा धूलोजन्य तुवाँलो बाक्लिदै गएपछि चैत दोस्रो सातादेखि बझाङमा राम्रोसँग घाम लागेको छैन । बाक्लो धूलो र तुवाँलोका कारण स्थानीयमा श्वासप्रश्वासलगायत विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । भिजिविलिटी कम हुँदै गएका कारण हवाई यातायात पनि बन्द भएको छ ।

वायु प्रदूषणले बिरामी बढे

‘यत्रो उमेर भयो, यति बाक्लो तुँवालो लागेको कहिल्यै देखिनँ’ जयपृथ्वी नगरपालिका– १, कैलासका ७८ वर्षीय भिकु खड्काले भने, ‘दिउँसै रात परेजस्तो हुन थालेको छ । यसरी तुवाँलो लाग्छ होला भनेर मैले त सोचेको पनि थिइनँ ।’ उनले २०५४/०५५ सालतिर ठूलो खडेरी पर्दा आकाशमा बाक्लो तुवाँलो लागेको सम्झना भए पनि अहिलेको अवस्थाको जस्तो नभएको बताए । ‘त्यतिबेला बिहानतिर तुवाँलोले घाम मधुरो देखिए पनि दिउँसो झलमल्ल भैहाल्थ्यो । अहिले त हड (शरीरमा) घाम नलागेकै दुई हप्ताभन्दा बढी भैसक्यो’ उनले भने ‘राति झ्याल–ढोका लगाएर सुत्यो भने सास फेर्न सकिँदैन । झ्याल–ढोका बन्द नगरे भने कोठा धूलैधूलो भरिन्छ ।’

बाक्लो तुवाँलोका कणहरू घरका कोठाभित्र पनि पस्ने भएकाले पानी र खानेकुराको भाँडामा पनि धूलो जम्ने गरेको र घरभित्र राखिएका लत्ताकपडा र सामानहरूमा पनि धूलो जम्न थालेको छ । ‘पानी र खानेकुरा छोप्न बिर्सियो भने एकै छिनमा एक तह धूलो जमिसकेको हुन्छ । झ्याल–ढोका राम्रोसँग बन्द नगर्दा कोठाभरि धूलैधूलो हुन्छ । यस्तो त कहिले देखेकी थिइनँ’ जयपृथ्वी नगरपालिकाकी लक्ष्मी खड्काले भनिन् ।

स्वस्थ मानिसलाई राति सुत्दा पनि उकुसमुकस भएर सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, आँखा, नाक र घाँटी पोल्ने, खर्खराउनेजस्ता समस्या भैरहेको स्थानीयले बताउन थालेका छन् । तुवाँलोले बाक्लिँदै जान थालेपछि विभिन्न समस्या लिएर स्वास्थ संस्थामा पुग्नेहरूको भीड पनि बढ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘अहिले श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउनेको संख्या पहिलाको भन्दा दोब्बर छ,’ कैलास स्वास्थ्य चौकीका इन्चार्ज कमलराज जोशीले भने ‘बालबालिका र बृद्धबृद्धाहरूलाई त झन बढी जोखिम छ । निमोनिया र दमका रोगीहरू पनि बढिरहेका छन् । यो सबैको कारण वायु प्रदूषण नै हो ।’ उनले चैत पहिलो हप्तासम्म यस्ता समस्या लिएर आउनेहरू दैनिक चार पाँच जनाको हाराहारी हुने गरेकोमा दोस्रो हप्तादेखि २० जनाभन्दा माथि हुने गरेको बताए ।

धूलो र तुवाँलोको कारण जिल्ला अस्पताललगायत जिल्लाभरिका सबै स्वास्थ्य संस्थाहरूमा श्वासप्रश्वास, आँखा र छालासम्बन्धी बिरामीको संख्या एक्कासि बढ्न थालेको जिल्ला अस्पताल बझाङले जनाएको छ । वायुमण्डलमा प्रदूषित हुँदा रुघाखोकीलगायत घाँटी र फोक्सोको संक्रमण बढेका बिरामीहरू साविकभन्दा २५ प्रतिशतले बढिरहेको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दीप ओखेडाले बताए । यस्तै आँखा चिलाउने, रातो हुने, आँसु आउने र आँखामा विभिन्न खालका संक्रमण भएका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको उनले जानकारी दिए । तुवाँलोकै कारण छाला चिलाउने, रातो हुने, एलर्जी हुने खालका बिरामी पनि बढिरहेको उनको भनाइ छ ।

वायु प्रदूषणको जोखिमबाट बच्न सकभर घरबाट बाहिर ननिस्किने, निस्कनैपर्दा मास्क र चस्मा प्रयोग गर्ने, जीउ ढाकिने खालको लुगा लगाउनुपर्ने उनको सुझाव छ । यस्तो अवस्थामा हावामा अक्सिजनको मात्रा कम हुने हुनाले हुरी चलेको अवस्थामा बाहेक झ्याल–ढोका बन्द नगर्न उनले सुझाए । विभिन्न ठाउँमा लागेको डढेलोका कारण वायुमण्डल नराम्ररी प्रभावित भएको र जोडले हावा नचल्दा र पानी नपर्दा धूवाँ र फोहोरका कणहरू घनीभूत रुपमा जम्मा भएका कारण बाक्लो तुवाँलो लागेको जानकारहरू बताउँछन् ।

उडान बन्द

तुवाँलोले आकाश ढाकेपछि हवाई सेवा पनि बन्द भएको छ । हवाई सेवा बन्द हुँदा जिल्लामा उपचार हुन नसकेर जिल्लाबाहिर रिफर गरिएका गम्भीर प्रकृतिका बिरामीहरूलाई बढी समस्या भएको छ ।

भीएफआर (आँखाले हेरेको भरमा गरिने उडान) प्रणालीबाट नियमित उडान गरिरहेको एक मात्रै कम्पनी समिट एयरले मौसमकै कारण नियमित उडान भर्न नसकेको जनाएको छ । भिजिविलिटी (नाङ्गो आँखाले देखिने क्षेत्रको दायरा) कम हुँदै गएका कारण विमान उडान र अवतरण गर्न कठिन भएकाले नियमित उडानहरू रद्द भैरहेको बझाङ विमानस्थल प्रमुख एयर ट्राफिक कन्ट्रोलर महेन्द्र सिंहले बताए ।

‘भीएफआर फ्लाइटका लागि कम्तीमा पनि ५ किलोमिटर सराउन्डिङ भिजिबिलिटी आवश्यक हुन्छ तर बाक्लो तुवाँलोका कारण भिजिबिलिटी १५ सय मिटरभन्दा पनि कम छ’ उनले भने ‘यस्तो अवस्थामा उडान गर्न नमिल्ने भएकाले मौसम सफा नहुन्जेल विमानस्थल नखोल्ने निर्णय गरेका छौ ।’ उनले उडान भर्नका लागि जहाजहरू तयारी अवस्थामा रहेकोले मौसममा सुधार हुनेबित्तिकै नियमित उडान हुने बताए ।

प्रकाशित : वैशाख ५, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?