३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रोजगारी गुमाएर फर्किने बढे

कोरोनाका कारण व्यवसाय बन्द हुन थालेपछि भारतबाट रोजगारी गुमाएर नेपाली धमाधम घर फर्किंदै
मेनुका ढुंगाना

अछाम — अछामको मंगलसेन नगरपालिका–५ का पुष्प विक भारतबाट घर फर्किएको एक साता भयो । गत वर्ष पनि यही बेला घर फर्किएका उनी कोरोना संक्रमण कम भएको खबर पाएपछि असोजमा भारतको पुना गएका थिए । ‘पहिले होटेलमा काम गर्थें । यताबाट जाँदा झन् दुःख पाइयो । ५ महिना जसोतसो गाडी धोएरै बिताएँ,’ उनले भने, ‘अहिले अवस्था झन् गाह्रो छ । फर्केर जाँदा पनि काम पाइँदैन । यता केही काम थालौं भन्दा लगानी छैन ।’

रोजगारी गुमाएर फर्किने बढे

कोरोनाका कारण भारतका विभिन्न सहरमा सानाठूला व्यवसाय बन्द हुन थालेपछि अछामीहरू पनि रोजगारी गुमाएर धमाधम घर फर्किन थालेका हुन् । यतिखेर सार्वजनिक स्थान, पसलहरूमा घर फर्केकाहरूको घुँइचो लाग्ने गरेको छ । ‘भारत जाँदा काम पाइँदैन । यहाँ बस्दा तनाव मात्रै हुन्छ, अहिले त्यत्तिकै बसिरहेका छौं,’ मंगलसेन–५ का प्रसादसिंह भाटले भने, ‘गहुँ काट्ने सिजन भएकाले अलिअलि त्यसैमा व्यस्त भइएको थियो । अब त त्यो काम पनि सकियो । पसलतिर आउने बस्नेबाहेक अरू केही छैन ।’ लकडाउन अवधिमा मात्रै अछाममा ३० हजारभन्दा बढी भारतबाट फर्किएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । तीमध्ये करिब १५ हजार फेरि भारत फर्किएका थिए । भारतका विभिन्न ठाउँमा काम खोज्दा पनि नभेटिएपछि नयाँ वर्ष र चैते दसैंको मौकामा उनीहरू घर फर्किन थालेका हुन् । कमलबजार नगरपालिका–७ का मोसन भण्डारी उत्तर प्रदेशमा रोजगारीका लागि गएको तीन महिनामै घर फर्किएका छन् । ‘एक महिना काम खोज्दै बित्यो, दोस्रो महिना एउटा होटेलमा काम पाएँ,’ उनले भने, ‘अर्को महिना कोरोनाको त्रासले होटेलै बन्द भयो ।’ परिवार सबैको जिम्मेवारी भएकाले अहिले निकै समस्या भएको उनले दुखेसो पोखे । ‘दुईतीन महिना खेतबारीको उब्जनीले गुजारा चल्यो । अब त चुलामा आगो बल्न नसक्ने अवस्था आयो,’ उनले भने, ‘पर्याप्त जग्गा नहुँदा झनै समस्या छ ।’ घरको मुख्य कमाउने मान्छे नै बेरोजगार बसेपछि परिवारमा चिन्ता बढेको उनको भनाइ छ । कोरोना कहर कम भयो भने फेरि भारतमै जाने सोचमा उनी छन् तर भारतमा संक्रमण भयावह बनिसकेको छ ।

मंगलसेनन–५ का सेते कामी कामकै खोजीमा ३० वर्षअघि भारत छिरेका थिए । यतिका वर्ष एकै ठाउँमा काम गर्ने उनको टुंगो भएन । जस्तो काम भए पनि सानोतिनो कमाइ जुटाएर परिवार पालिरहेका थिए । भारतमा संक्रमण तीव्र भएपछि आत्तिएर उनी घर फर्किएका छन् । ‘गत असोजमा भारत गएको थिएँ, घर फर्केको एक साता भयो,’ उनले भने, ‘अब त साँझबिहान छाक टार्नै मुस्किल भइसक्यो ।’

प्रकाशित : वैशाख ४, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?