बालमैत्री भएन पढाइ

‘शिक्षकले जिम्मेवारीबोध गर्न सकेनन्, शिक्षक संघ/संगठनहरु पनि विद्यार्थीको हितभन्दा शिक्षककै हितमा लागे’
भवानी भट्ट

ख — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ हल्दुघाटस्थित महाकाली आदर्श माविमा कक्षा ८ मा अंग्रेजी विषय पढाइ भइरहेको थियो । शिक्षिका यशोदा जोशी अंग्रेजीमै पढाइरहेकी थिइन् । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका शाखा अधिकृत रूपराम तिरुवा र सोही नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख अर्जुनदत्त भट्ट अनुगमन टोली कक्षाकोठामा पुने । उनले झन् तीव्र गतिमा पढाउन थालिन् ।

बालमैत्री भएन पढाइ

शिक्षिका जोशीले पढाइरहेको विद्यार्थीले बुझेका थिएनन् । शाखा अधिकृत तिरुवाले विद्यार्थीलाई उक्त पाठ पढ्न सक्ने कति जना हुनुहुन्छ भनेर सोधे । तीन जनाले मात्रै हात उठाए । उनीहरूले पनि त्यसलाई नेपाली उल्था गर्न सकेनन् । उक्त कक्षामा १४ छात्र र २५ छात्रा अध्ययनरत छन् ।

दोधारा चाँदनी नगरपालिकाकै वडा नं. ४ मा रहेको मालिका आधारभूत विद्यालयमा पुग्दा कक्षा ३ मा नेपाली विषय पढाइ भइरहेको थियो । उक्त कक्षाका ४८ मध्ये ४४ विद्यार्थीमात्रै उपस्थित थिए । राम्ररी पढ्न सक्ने ३ जनामात्रै रहेको शिक्षिकाले अनुगमन टोलीलाई बताइन् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमै व्यवस्थापनमा अब्बल मानिने उक्त विद्यालयको शैक्षिकस्तर भने अन्यको भन्दा फरक थिएन । तीन वटा कक्षाको अनुगमन गर्दा हरेकमा राम्ररी पढ्न सक्ने २/३ जनामात्रै भेटिन्थे । पर्याप्त भौतिक पूर्वाधार, बालमैत्री कक्षाकोठा र विद्यालय परिसर सरसफाइ गरेर चिटिक्क पारिएको थियो । विद्यार्थी पनि हरेक कक्षामा ४० भन्दा बढी थिए । तर पठन सीप तथा सिकाइको स्तरमा भने कुनै परिवर्तन छैन । ‘लामो समय विद्यालय बन्द हुँदा बालबालिकाहरू विगतमा पढाएका कुराहरू बिर्सिसकेका छन्,’ मालिका आधारभूत विद्यालयका प्रअ पदमबहादुर सिंहले शैक्षिकस्तर खस्केको बारेमा अनुगमन टोलीसँग भने, ‘नयाँ भर्ना भएका विद्यार्थी र शिक्षकबीच त परिचयसम्म राम्ररी भएको छैन ।’

कञ्चनपुरकै लालझाडी गाउँपालिका–५ को वैजनाथ बालज्योति आधारभूत विद्यालयका बालबालिकाको सिकाइस्तर निकै कमजोर देखियो । यहाँको सिकाइस्तर मात्रै होइन विद्यालयको भौतिक पूर्वाधारसमेत जीर्ण थियो । बालबालिकाहरू चिसो भुइँमा बस्न बाध्य छन् । कक्षाकोठाको अभावमा ४ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ ।

उक्त विद्यालयमा दुई बाल विकास, १ र २ गरी ४ कक्षाका विद्यार्थीलाई तीन शिक्षिकाले एउटै कोठामा पढाइरहेका थिए । बालबालिका नेपाली विषय पनि राम्ररी पढ्न सक्दैनन् । भर्ना भएका पनि बीचमै कक्षा छाड्ने गरेको निमित्त प्रअ पूर्णानन्द भट्टले बताए । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदी शिक्षकहरू जिम्मेवार भएमात्रै शैक्षिकस्तर सुधार हुने बताउँछन् । यसका लागि नियमित अुनगमनसँगै दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्ने उनले बताए । ‘शिक्षकले जिम्मेवारीबोध गर्न सकेनन्, हामीले कारबाही गर्न सकेनौं,’ उनले भने, ‘शिक्षक संघ/संगठनहरू पनि विद्यार्थीको हितभन्दा शिक्षककै हितमा लागे ।’

प्रकाशित : वैशाख ४, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?