२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

महाकालीमा र्‍याफ्टिङ

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा भारततर्फ एक दशकअघिदेखि नै र्‍याफ्टिङ सञ्चालन भएको छ । कञ्चनपुरको ब्रह्मदेवको उत्तरी पूर्णागिरिको फेददेखि टनकपुरसम्म नियमित रूपमा र्‍याफ्टिङ सञ्चालनमा छ । यहाँ र्‍याफ्टिङमा रमाउन नेपाल र भारतका विभिन्न ठाउँबाट पर्यटकहरू आउँछन् ।

महाकालीमा र्‍याफ्टिङ

सोही क्षेत्रमा नेपालतर्फ पनि र्‍याफ्टिङ सुरु भएको छ । भीमदत्त नगरपालिकाको सहयोगमा स्थानीय युवाले पूर्णागिरिको फेददेखि खल्लासम्म र्‍याफटिङ सुरु गरेका हुन् ।

चैत ९ गते विश्व पानी दिवसको अवसर पारी महाकालीमा औपाचारिक रूपमा र्‍याफ्टिङ सुरु भएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यसको शुभारम्भ गरे । महाकाली नदीको बहुउपयोग गरेर कृषि र पर्यटन विकास गर्ने योजनाअनुसार स्थानीय तहको निर्वाचन भएदेखि नै र्‍याफ्टिङ सञ्चालनको तयारी भइरहेको थियो ।

नगरपालिकाले यसअघि पनि उक्त क्षेत्रमा र्‍याफ्टिङको सम्भावनाका विषयमा परीक्षण पनि गरेको थियो । पूर्णागिरिको फेदमा महाकाली नदी शान्त भएर बग्छ । उक्त क्षेत्रलाई साइलेन्ट रिभर पनि भनिन्छ । नगरपालिकाले र्‍याफ्टिङ सञ्चालनका लागि साइलेन्ट रिभरसम्मै सडक निर्माण पनि गरेको छ ।

अहिले उक्त क्षेत्रमा महाकाली रिभर र्‍याफ्टिङ एन्ड रिसोर्ट प्रालिले नियमित रूपमा सञ्चालन गरिरहेका छन् । यहाँ साइलेन्ट रिभरबाट खल्लासम्म झन्डै ६ किमिको दूरीमा जलयात्राको आनन्द लिन सकिन्छ । भरखर र्‍याफ्टिङ गर्न लागेका र वृद्धवृद्धा तथा बालबालिकाका लागि यो क्षेत्र उपयुक्त छ ।

ब्रह्मदेव क्षेत्रमा मात्रै होइन नयाँ निर्माणाधीन महाकालीको पक्की पुलदेखि झोलुंगेपुलसम्म पनि र्‍याफ्टिङ सुरु भएको छ । पक्की पुल हेर्न आउने पर्यटकहरूलाई लक्षित गरि दुई महिनादेखि र्‍याफ्टिङ सुरु भएको हो । उक्त क्षेत्रमा झन्डै साढे ३ किमि दूरीमा करिब १ घण्टा र्‍याफ्टिङको आनन्द लिन सकिन्छ । चार लेनको पक्कीपुल र झोलुंगेपुल हेर्न आउने पर्यटकहरूले महाकाली नदीमा र्‍याफ्टिङको मनोरञ्जन लिन पाउने गरी पहिलोपटक र्‍याफ्टिङ सुरु गरिएको हो ।

‘शुक्लाफाँटा घुम्न आउने पर्यटकलाई महाकाली र्‍याफ्टिङको आनन्द पनि दिन सकिन्छ भन्ने योजनाअनुसार हामीले यो काम सुरु गरेका हौं,’ महाकाली रिभर र्‍याफ्टिङ एन्ड रिसोर्ट प्रालिका सञ्चालक सञ्जीव भट्टले भने, ‘पक्की पुल हेर्न आउने पर्यटकहरू पनि र्‍याफ्टिङमा रमाउन थालेका छन् ।’ हिउँददेखि बर्खा सुरु नहुँदासम्म पानी सफा देखिन्छ । नीलो पानीमा जलयात्रा गर्दै रमाइलो गर्नुको मजा नै बेग्लै हुन्छ । र्‍याफ्टिङ बोटबाट सुरक्षित साथ नदीमा हाम फालेर पौडी खेल्दै नुहाउन झनै रोमाञ्चक हुन्छ ।

‘महाकाली शान्त नदी हो, तल्लो तटीय क्षेत्रमा जलयात्रा गर्न धेरै जोखिम छैन,’ र्‍याफ्टिङ गाइड करन शाही भन्छन्, ‘हामीले यसको प्रचारप्रसार गर्न सके थुप्रै पर्यटक भित्र्याउन सकिन्छ ।’ उनका अनुसार हिउँदमा पानी कम हुने भएकाले केही ठाउँमा रोकिने समस्या भए पनि चैतदेखि पानीको मात्रा बढ्ने भएकाले जेठ अन्तिमसम्मै र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ ।

प्रकाशित : वैशाख ३, २०७८ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?