गाउँभरि बिसुको रौनक- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँभरि बिसुको रौनक

वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिकाको पिमी गाउँमा बुधबार बिहानैदेखि चहलपहल बेग्लै थियो । छोरीचेलीहरूले बिहानै घर–घर पुगेर दाल, चामल, तेल, तरकारी संकलन गरे । संकलित सामान र भाँडाकुँडा लिएर नजिकैको बिसु चौरमा भेला भए । कसैले चौरको एकछेउमा खाना पकाउन थाले ।

बझाङको सिल्कावाडामा बिसु पर्वमा पुतला खेल्दै । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

कसैले कपडाका रंगीविरंगी पुतली बनाए । कोही पुतलीलाई दूध–भात बनाउन थाले । कसैले सुख दुःख समेटिएका देउडा भाकामा गीत घन्काउन थाले ।

एक्कासि चउरमा बाघको प्रवेश भयो । चौरको बीचमा राखिएका दही चामलका बटुवा समाउँदै दर्शकतिर पस्न थाल्यो । नजिकै रहेका दुई–चार जनालाई बाघले झम्टियो । बाघको पछिपछि कौवाको हूल कराउँदै गर्दा सबैले हकार्दै बाघ आयो बाघ आयो भनेर चिच्याउँदा साँच्चैको बाघ नै गाउँमा प्रवेश गरेको हो कि भन्ने भान हुन्थ्यो । बाघ बन्नका लागि विभिन्न जंगली पात पतिङ्गरहरू पूरै शरीरमा बेरेर बाघको जस्तै अभिनय गर्ने गरिन्छ । बिसु मैदानको बीचमा रहेको दही–चामलको कचौरा बाघले समातेर दर्शकहरूलाइ तर्साउँदै दही–चामल छर्ने चलन छ । यसरी छरेको दही–चामल शरीरमा परेमा शुभ हुने जनविश्वास छ ।

बुधबार बझाङका सबैजसो गाउँमा पिमी गाउँजस्तै उत्सवमय थिए । कतै इष्ट–देवतालाई काँकर (काठको लिँगो) चढाइँदै थियो, कतै खसी–बोका र राँगाको बलि चढाएर देवीदेउताको पूजा आराधना हुँदै थियो ।

जिल्लाका विभिन्न ठाउँमा आआफ्नो चलनअनुसार बिसु पर्व मनाइएको छ । नयाँ वर्षको स्वागत र आगामी दिनमा गाउँमा रोगव्याधि नलागोस, जंगली जनावर तथा कीटपतंगहरूले दुःख नदेओस्, प्रेतआत्माले दुःख नदेओस् तथा दिवंगत आत्माहरूले शान्ति पावोस् भनेर यस्तो गर्ने जानकारहरू बताउँछन् । बिसुको अवसरमा पुतला सेलाउने, लठ्ठी नचाउने, सिस्नो लगाउने, बाघ बनेर खेल्ने, छेलो फाल्ने, कांकर ठड्याउने आदि विभिन्न कार्यक्रम गरिएका छन् ।

‘बिसु मस्टो संस्कृतिको सबैभन्दा ठूलो पर्व हो,’ बझाङको धार्मिक तथा पौराणिक परम्पराका अध्येता विष्णुभक्त शास्त्री भन्छन्, ‘यो पर्वले देशविदेशमा गएकाहरू घर फर्किने, आफैं विवाह गरेका छोरीचेली माइती आउने र गाउँका सबै जना एकै थलोमा बसेर शुभकामना आदानप्रदान गर्ने अवसर मात्रै होइन, कृषि र पशुपालन परम्परामा आधारित समाजले गर्ने प्रकृति पूजाको अनुपम उदाहरण पनि हो ।’

उनले कृषकहरू यस पर्वलाई आफ्नो बालीनालीमा लार्भा, कीरा नलागोस् भनेर पुतलीको विवाह गर्ने, पशुवस्तुलाई बाघ, स्यालले नपरोस् भन्नका लागि प्रतीकात्मक रूपले जनावरको पूजा र सुविकालका लागि देवीदेवताको आराधना गरिने बताए ।

नयाँ वर्ष सुरु हुनुभन्दा १५ दिन अघिदेखि नै चेलीहरूले प्रत्येक साँझ झिम्केउडा खेल्ने गर्छन् । झिम्केउडामा आफैं विवाह गरेका छोरी चेलीहरूले घरमा पाएका दुःख र माइतीको सम्झनामा विलौना गर्दै काटेका दिनहरूको सम्झना गरेका हुन्छन् । आफू दुःखमा पर्दा पनि माइतीले नहेरेको गुनासोदेखि देवर भाउजूबीचमा भएका रसिक छेडखानीका प्रसंगहरू देउडामार्फत गाएर रात बिताउने गर्छन् ।

यी लोक देउडाहरू एक पुस्ताले अर्को पुस्तालाई श्रुति परम्पराका आधारमा हस्तान्तरण गरेका छन् । ‘हामीले गाउने गीतहरूमा गहिरा अर्थ हुन्छन्, यिनलाई पुस्तौंपुस्तासम्म जोगाउन ठूलाले सानाहरूलाई सिकाउँछौं,’ खप्तडछान्ना गाउँपालिकाकी मन्धरी रोकायाले भनिन् ।

नयाँ वर्ष (बिसु) आउनुभन्दा केही दिनअघिदेखि नै बझाङका सबै गाउँघर बिसुमय हुन्छन् । पढाइ, रोजगार तथा व्यवसायले टाढा रहेका घर फर्किने भएकाले गाउँघरतिर निकै रमझम छ । नेपालको सुदूरपश्चिममा मनाइने बिसु पर्व नयाँ वर्षको स्वागत र जाने वर्षको बिदाइस्वरूप हरेक वर्ष हर्षोल्लासका साथ मनाइन्छ ।

सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा बझाङमा भव्य रूपमा मनाइन्छ । वर्षभरिको कामको चटारोलाई बिर्सेर पर्वमा रमाउँछन् । घर सिंगारपटार गरेर चिटिक्कै पार्छन् । घर रातो माटो र कमेरोले सिंगार्ने (स्थानीय भाषामा छिप्ने) गर्छन् ।

प्रकाशित : वैशाख २, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्

घरमा ढुंगा प्रहार भएको भन्दै सांसद रावलले गराए गृहमन्त्रीको ध्यानाकर्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले आफू बसेको घरमा बुधबार राति पटकपटक ढुंगा प्रहार भएको र सुरक्षा निकायलाई बोलाउँदा नआएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसद रावलले गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन् ।

'म बसेको शान्तिनगरस्थित घरमा बुधबार राति ५-१० मिनेटको अन्तरालमा पटकपटक ढुंगा प्रहार भयो । सुरक्षाकर्मी बोलाउन भनेर १०० मा फोन गर्दा उठेन,' रावलले गृहमन्त्रीलाई घटनाबारे समिति बैठकमा जानकारी गराउँदै भने ।

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताए । घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थल आएको रावलको भनाइ थियो ।

कसलाई लक्षित गरेर राति ढुंगा ढोकामा प्रहर भएको हो भन्नेबारे छानबिन गर्न रावलले गृहका अधिकारीलाई आग्रह गरेका छन् । उनले प्रहरीले राति फोन नउठाउने विषयलाई पनि गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । घटना राति १२ बजेतिर भएको रावलले बताए ।

'फोन गर्दा नउठ्ने र नलाग्ने अनि दुर्घटना भइसकेपछि प्रहरी आउनुको अर्थ हुँदैन, त्यसैले यसबारे पनि गृहमन्त्री र गृहसचिवको ध्यानाकर्षण गराउन चाहन्छु,' रावलले भने । रावल राज्यव्यवस्था तथा सुशासन समिति सदस्य पनि हुन् । उनी एमालेको आन्तरिक विवादमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा लागेका छन् ।

प्रकाशित : वैशाख २, २०७८ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×