कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जथाभावी सडक खन्दा मुख्यमार्ग जोखिममा

शाखा सडक निर्माण गर्दा थुप्रिएको माटो र ढुंगा वर्षा हुनेबित्तिकै बग्दा राजमार्ग अवरूद्ध हुने गरेको छ
मनोज बडू

दार्चुला — जिल्लाको मुख्य पहुॅचमार्ग मानिने महाकाली लोकमार्ग गत बर्खामा १७ पटक अवरुद्ध भयो । यो लोकमार्गको माथितर्फ जथाभावी काटिएका सडकका कारण पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ । गाउॅ जोड्न निर्माण भएका ग्रामीण सडकले मुख्य राजमार्गलाई झनै जोखिममा पारेका छन् ।

जथाभावी सडक खन्दा मुख्यमार्ग जोखिममा

सडकमुनिका भाग धस्सिने र माथिबाट पहिरो खस्दा सडकको धेरै ठाउँमा जोखिम बढाएको छ । वर्षात्को साउन भदौ महिनामा एक/दुई दिन लगातार सडक अवरुद्ध हुने गरेको छ । सदरमुकाम खलंगादेखि गोकुलेश्वरसम्म सातवटा सडक मुख्य मार्गको माथितिरबाट खनिएका छन् । शाखा सडक निर्माण गर्दा थुप्रिएको माटो र ढुंगा वर्षा हुनेबित्तिकै बगाएर राजमार्गमा थुप्रिएर सडक अवरुद्ध हुने गरेको महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–तिंकर सडक योजनाका प्रमुख अभ्युतविलास पन्तले बताए । ‘स्थानीय तहहरूले कति सडक निर्माण गरिरहेका छन अनुमान लगाउन सकिने अवस्था छैन’ प्रमुख पन्तले भने, ‘कहाँ कति सडक कसरी निर्माण हुँदै छ भनेर कसैलाई थाहा छैन । बर्खामा ठूलो पानी पर्‍यो भने कति क्षति हुन्छ भन्ने कल्पना पनि गर्न सकिंदैन ।’ जिल्लाका सबैजसो स्थानीय तहमा कति ठाउँमा सडक खन्ने काम भइरहेको छ भन्ने यकिन विवरण पाउनै गाह्रो भएको उनको भनाइ छ ।

महाकाली लोकमार्गमा पर्ने शैल्यशिखर तथा महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनभन्दा बढी ग्रामीण सडकहरू निर्माणाधीन छन् । निर्माणाधीन अवस्थाका ग्रामीण सडकबाट खस्ने पहिरोका कारण महाकाली लोकमार्गमा सञ्चालन हुने यातायातका साधनहरूले सास्ती खेप्ने गरेका छन् । महाकाली लोकमार्ग भएर शैल्यशिखर नगरपालिका ७ पनेबाजदेखि बन्तोली सडक, ग्वानीदेखि माथिल्लो गाउॅ जोड्ने र मालिकार्जुन गाउँपालिका ४ ऐरिछानादेखि हुनैनाथ हॅँदै वडा नं ५ डाँडाकोट जाने सडकले सबैभन्दा बढी समस्या उत्पन्न गरेको छ ।

पनेबाजदेखि ऐरिछानासम्मको सडकको धेरै ठाउँमा नया निर्माणाधीन ग्रामीण सडकले क्षति पुर्‍याउनका साथै दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् । ‘यो सडकको ५/७ किमि सडक खण्डमा करिब आधा दर्जन ठाउँमा क्षति पुगेको छ’ शैल्यशिखर नगरपालिका–७ का स्थानीय रामसिंह खत्रीले भने, ‘राजमार्गको माथिल्लो भाग भएर शाखा सडक निर्माणाधिन हुँदा ढुंगा माटो खसेर दुर्घटनाको जोखिम बढाएको हो ।’

ग्रामीण सडक निर्माणका क्रममा आएको ढुंगा, माटोका ढिस्काले मुख्य राजमार्गलाई प्रभावित बनाएको छ । शाखा सडकका कारण पक्की सडकमा ढुंगा र माटोले भरिएकाले गाडी चलाउन निकै जोखिम बढेको खत्रीले बताए । उनले शाखा सडक नबन्दासम्म धेरै घुमाउरो र साँघुरो भए पनि जोखिम त्यति थिएन् । माथिबाट खसेको माटो–ढुंगाले सडक धसिएर तथा माथिबाट पहिरो खस्दा अहिले साह्रै दुर्घटनाको जोखिम बढाएको छ । ‘जिल्लाको मुख्य मार्गको बगौरादेखि शंकरपुर पस्ती खण्डमा धेरैजसो अवरुद्ध हुन्छ’ महाकाली नगरपालिका–९ का जयाकृष्ण जोशीले भने, ‘सडकबाट हुने क्षति र प्रभावको अनुमान नगरी जथावाभी सडक निर्माण हुँदा बर्सेनि सडक अवरुद्धको समस्या भोगिरहेका छौं ।’

त्यस्तै, दार्चुला–तिंकर सडक खण्डको ६ ठाउँमा सडकलाई प्रभावित गर्ने गरी सडक निर्माण भइरहेका छन् । दुहु गाउँपालिकाले तीन ठाउँ र व्यास गाउँपालिकाले तीन ठाउॅमा तिंकर सडक माथिको क्षेत्रमा शाखा सडक निर्माण सुरु गरेका छन् । यी सबै सडकहरू तिंकर सडकबाट सुरु गरेर बस्तीमा लगिरहेका छन् । तर, सडकको आवश्यकता नभएको ठाउँमा बाढीपहिरोको जोखिम बढाएर स्थानीय तहले सडक निर्माण गरिरहेको सरोकारवाला बताउँछन् ।

जिल्लाको दोस्रो मार्ग करकले–देथला–दल्लेक–खलंगा सडक खण्डमा पनि आधा दर्जन सहायक मार्ग डोजरले खनिरहेका छन् । महाकाली नगरपालिका–३ मालबेला जाने सडकले गत वर्षात्मा धेरै दिन सडक अवरोध गरेको थियो । प्रदेश सरकारको बजेटले असारमा सडकको ट्र्याक खोलियो । सडकले उक्त क्षेत्रको मुख्यमार्गसँगै सदरमुकाम बंगाबगड क्षेत्रमा आउने खानेपानी, सिँचाइमा क्षति पुगाएको छ । दुहु गाउँपालिका–३ बह्मदेवका उदयदेव जोशीका अनुसार बिनाप्लानिङ कटिङ गरिएको सडकले मुख्य सडकसँगै खानेपानी योजनामा क्षति पुर्‍याएको छ । सडकको तल्लो क्षेत्रको बस्तीमा पहिरोको जोखिम बढाएको छ ।

दल्लेक–नागु सिना सडकले नौगाड गाउँपालिका–३ चौड आसपासको खोला किनार क्षेत्रमा वर्षा भएमा जुनसुकै समयमा सडक अवरुद्ध हुने गरेको नौगाड गाउँपालिका–२ का गोविन्दसिंह ठगुन्नाले बताए । यो सडकले दल्लेक गाउँका केही घरमा जोखिम बढाएको छ । सडक गाउँपालिका र प्रदेश सरकारले बजेटबाट निर्माणाधीन अवस्थामा छ । उनले भने, ‘गाउँपालिकाले सडकहरू त धेरै निर्माण गरेको छ । अढाई वर्षअगाडि नौगाडमा ग्रामीण सडककै कारण धेरै ठाउँमा पहिरो र बाढीले क्षति पुगाएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?