पहाडमा वनैपिच्छे डढेलो

बाजुरामा २ सय ९३ हेक्टर जल्यो , नियन्त्रणको प्रयास हुन सकेन

धनगढी/डोटी — सुदूरपश्चिममा पहाडी जिल्लाका विभिन्न सामुदायिक र राष्ट्रिय वनमा डडेलोले वन क्षेत्रमा क्षति भएको छ । महाकाली किनारदेखि सेती पहाडसम्मका विभिन्न वन क्षेत्रमा डढेलो दन्किरहेको छ । राजमार्ग छेउछाउका जंगलमा अझ बढी आगलागी भइरहेको छ ।

पहाडमा वनैपिच्छे डढेलो

बाजुरामा २ सय ९३ हेक्टर जंगलमा आगलागी भएको डिभिजन वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख शुभारचन्द अयडीले बताए । सदरमुकाम मार्तडी नजिकै रहेका चारवटा सामूदायिक वनहरू भेरालमाण्डौ, सल्लेना, जाल्पा जनशक्ति कृषि सामुदायिक वन र खिरिडा भुजन्तोला सामुदायिक वनमा एकसातादेखि डडेलो दन्किरहेको छ । आगलागीबाट जंगलमा जडिबुटी, घाँस, सानाठूला रुखहरू जलेर नष्ट भएका छन् । जनावर चराचुरुंगीको बासस्थान जलेको छ ।

नियन्त्रणका लागि भने कुनै प्रयास हुन सकेको छैन । सचेतनाका नाममा वर्षेनी ठूलो रकम खर्चिदै गरेको भएपनि डडेलोले वनजंगल नष््ट हुने क्रम भने घटेको छैन । ‘प्रहरी प्रशासन र जिल्ला वन कार्यालयसमेत रहेको सदरमुकामको साम्नेमा यतिठूलो डढेलो लाग्दा त कसैले वास्ता गरेका छैनन भने टाढाको ठाउँमा वास्ता गर्ने त कुरै भएन,’ मार्तडीका स्थानीय बलबहादुर रोकायाले भने, ‘आगलागी गराउनेहरूलाई कार्वाही गर्ने भएको भए यस्तो हुन्थेन होला ।’ स्थानीय बासिन्दाहरू सामुदायिक वन उपभोक्ता समितिको लापरवाही र सम्बन्धित निकायको मौनताले जिल्लाका धेरै वनहरू डढेलो लागेर सखाप भइरहेको बताउँछन् ।

राजमार्ग छेउछाउको अधिकांश जंगलमा सल्किएको आगोले कुहिरीमण्डल भएको यातायात ब्यवसायीहरू बताउँछन् । ‘महाकाली किनारको दार्चुलादेखि सेती किनारको बझाङमा पर्ने सडक छेउछाउमा भीषण आगलागी भइरहेको छ,’ यातायात व्यवसायी रामबहादुर बोगटीले भने, ‘कतिपय ठाउँमा त गाडी चलाउन पनि जोखिम छ । डोटी र कैलाली सीमावर्ती जंगलमा झन ठूलो डडेलो सल्किएको छ । कैलालीको गोदावरी क्षेत्रमा पनि ठूलो डडेलो सल्किएको छ ।’

डढेलोले राजमार्ग प्रभावित

डोटीको जोरायल गाउँपालिकाको २ घट्टेकुलोस्थित बनमा फैलिएको डढेलोले एक नास्ता पसलमा आगलागी भएको छ । नजिकै रहेका अन्य पसल र घरहरू पनि डढेलोको चपेटामा पर्न सक्ने स्थानीयले बताएका छन् । मंगलवार बुडरबाट दुई सय मिटर मात्रै टाढा धनगढीतर्फ डढेलो फैलदा भिमदत्त राजमार्ग समेत केही समयका लागि अवरुद्ध भएको थियो । जोरायल गाउॅपालिका अध्यक्ष दुर्गा ओझाले स्थानीय नरसिंहा होटलमा आगलागी भएको बताए । पसल भित्र खाना पकाउने ग्यासका सिलण्डर रहेकाले नजिकै कोही जान सकेका थिएनन । लामो समयदेखि उक्त क्षेत्रमा आगलागी भएपनि निभाउने प्रयास नहुॅदा मंगलबार दुर्घटना भएको हो ।

घटनाबारे बेखबर रहेका स्थानिय प्रहरी, जनप्रतिनिधि र प्रशासनलाई कान्तिपुरकर्मीले खबर गरेपछि मात्र उद्धारका लागि खटिएको छ । स्थानीयले सम्भाबित जोखिम न्युनीकरण गर्न दमकल माग गरेका थिए । नजिकै दमकल नभएकाले डडेल्धुरामा सम्पर्क गरेर घटनास्थल पठाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले बताए ।

प्रकाशित : वैशाख २, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?