कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट घर फर्कंदै

मनोज बडू

दार्चुला — सुदूरपश्चिम प्रदेशभर नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउन गाउँघरमा चहलपहल बढेको छ । चैतको सुरुआतदेखि बिसु मनाउन बाहिर रहेका आफन्त घर फर्कन थालेका छन् । 

भारतबाट घर फर्कंदै

बिसु पर्वका लागि घर जाने तथा आउनेहरूको भारतीय सीमानाका र बसपार्क क्षेत्रमा दिनहुँ भीड लाग्ने गरेको छ । बिसु पर्व दार्चुलाको मार्मा गर्खामा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । बिसुमा मार्मा गर्खाको सिप्टी र घोल्जरमा भव्य रूपमा ठूलो जात्रा लाग्दै आएको सिप्टीका स्थानीय जगतसिंह ठगुन्नाले बताए । सिप्टीमा बिसुको अघिल्लो दिन दिउँसोबाट सुरु हुने जात्रा तीन दिनसम्म चल्छ ।

‘सिप्टी र घोल्जरमा बिसुका लागि विभिन्न ठाउँबाट मानिस आइरहेका छन् । पूजापाठ गर्नेदेखि स्थानीय देउडा खेलका लागि यहाँ बिसुमा ठूलो भीड लाग्ने गर्छ’ सिप्टीका स्थानीय दीपक ठगुन्नाले भने, ‘बिसुका लागि घर आउनेहरूको भीड लागेको छ । पूजापाठ र आफन्तसँगको भेटघाटका लागि यो पर्व विशेष हुन्छ ।’

स्थानीय मन्दिरमा पूजापाठ हुने समयमा भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न स्थानीय प्रशासनले सूचना जारी गरे पनि ग्रामीण भेगहरूमा भीड लाग्ने गरेको छ । गत वर्ष पनि मार्मा गाउँपालिकाको घोल्जरमा कोरोना त्रासकै बीच जात्रा मनाइएको थियो । नयाँ वर्षको पहिलो दिन देवर भाउजू, नन्द भाउजू र साली भिनाजुले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेषगरेर सिस्नु लगाउने प्रचलन छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ ।

रोजगारी खोज्दै भारत गएकाहरू बिसु मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । भारतका विभिन्न क्षेत्रबाट सदरमुकाम खलंगाको नाका भएर मात्रै दैनिक सयौंको संख्यामा नेपाली कामदारहरू घर फर्किरहेका छन् । खलंगासँगै जिल्लाका अन्य नाकाबाट धेरैको संख्यामा बिसु मनाउन घर फर्किनेको लर्को लागेको छ । बिसु पर्वलाई धुमधामका साथ मनाइने भएको कारण परदेशबाट घर आएको नौगाड गाउँपालिका–४ का स्थानीय रतनसिंह धामीले बताए । ‘गत वर्ष कोरोनाका कारण नाका बन्द हुँदा घर फर्कन पाइएन्’ उनले भने, ‘परिवारसंँग बिसु मनाउन घर आउन पाइयो, तर यो वर्ष पनि कोरोनाले पहिलेजस्तो रमाइलो गर्न नपाइनेजस्तो छ ।’

यो वर्ष कोरोनाका कारण बिसु पर्व खल्लो हुने चिन्तामा स्थानीय छन् । भारतका विभिन्न सहरमा काम गरेर फर्किएकाहरू बिसु पर्व हुने नहुनेमा चिन्ता व्यक्त गर्छन् । वर्षभरि काम गरेर घर परिवारमा रमाइलो गर्न आएका उनीहरूको अनुहारमा खुसी भए पनि कोरोनाको दोस्रो लहर सुरु भएकाले चिन्ता थपिदिएको हो । ‘गत वर्ष यस्तै भयो, अहिले पनि कोरोना भन्दै गाउँ फर्किन डराउने गरेका छन’ भारतबाट फकिएका एक कामदारले बताए ।

प्रकाशित : वैशाख १, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?