३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुक्न थाले पानीका मूल

मनोज बडू

दार्चुला — सुक्खायाम सुरु भएसॅगै दार्चुलाका ग्रामीण बस्तीमा खानेपानीको समस्या देखिन थालेको छ । यो समस्या बर्सेनि बढिरहेको छ । मुहान सुक्दा र पानीको मात्रा घट्दा स्थानीयले अभाव बेहोर्नुपरेको हो ।

सुक्न थाले पानीका मूल

जिल्लाका सबै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको मालिकार्जुन गाउँपालिका–२ का धनसिंह धामीले बताए । ‘चैत सुरुदेखि नै गाउँनजिकका मुहान सुक्न थाले, केहीमा पानीको मात्रा धेरै घटिसकेको छ,’ उनले भने, ‘अहिले गाउँदेखि निकै टाढाबाट पानी बोकेर समस्या टार्दै छौँ ।’ उक्त मुहान पनि वैशाखसम्म सुक्ने अवस्थामा पुगिसकेको उनले बताए ।

शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाका बस्तीमा खानेपानीको समस्या धेरै छ । मालिकार्जुनको भगवती, सिराड, हुनैनाथ, लेकम गाउँपालिकाको कुणी, सल्ला, रातामाटा, खरकडा, रिठाचौपाता, उचाकोट, बडीपुरलगायतका बस्तीहरूमा खानेपानीको सास्ती रहेको कुणीका स्थानीय चन्द्रदेव जोशीले बताए ।

‘विगतमा यो ठाउँमा दुइटा खानेपानीका योजना बने पनि संरक्षण नहुँदा सुक्खायाममा बढी समस्या भोग्नुपरेको हो,’ जोशीले भने, ‘ती खानेपानी योजनाका धारा र पानीका पाइप अहिले पनि छ । तर, मुहानमा पानी नहुँदा उपभोग गर्न पाइएको छैन ।’ कुणीमा करिब १२ किलोमिटर टाढा दोबाटाको मुहानबाट पानी ल्याउने गरिएको छ । सुक्खायाममा उक्त बस्तीका लागि ३/४ दिनपछि करिब डेढ घण्टाका लागि मात्र पानी आउने गरेको छ 

। नजिक भएका पानीका मुहान सुकेको जोशीको भनाइ छ । शैल्यशिखर–७ की रेवती जोशीले गाउँनजिक पानीका मुहान नहुँदा धेरै टाढाबाट पाइपमार्फत वितरण गरेको बताइन् । ‘एउटै मुहानको पानी चार गाउँलाई वितरण गर्नुपर्छ,’ उनले भनिन्, ‘यो सिजनमा गाउँमा पानी आउने पालो कुर्नुपर्छ ।’ पानी नआउने दिन स्थानीयले गाउँभन्दा तल अढाइ घण्टाको दूरीमा रहेको न्वालो (कुवा) बाट पानी बोक्नुपर्ने हुन्छ ।

खानेपानीका धेरै योजनाहरू निर्माण भए पनि सुक्खायाममा मुहान नै सुक्दा समस्या समाधान हुन नसकेको शैल्यशिखर–७ का वडाध्यक्ष जयराज जोशीले बताए । ५ वर्षअघिसम्म प्रशस्तै पानी पाइने मूलहरूमा पानीको मात्रा घट्दै गएको र केही सुकिसकेको स्थानीय बताउँछन् । जिल्लाका केही मूल बाढीपहिरोले क्षतिग्रस्त भएका छन् । धेरै ठाउँमा मूल नहुँदा पानीको समस्या हल गर्न ठूलो आयोजनाको खाँचो देखिएको वडाध्यक्ष जोशीको भनाइ छ ।

‘नगरपालिकाको सबै बजेट खर्च गरेर पनि समस्याको समाधान नहुने देखिन्छ । बृहत्त खानेपानी योजना निर्माण गर्नुपर्छ,’ उनले भने । मालिकार्जुनका अध्यक्ष नरेन्द्रसिंह धामीले जलवायु परिवर्तन र पूर्वाधार निर्माणले पानीका मूलहरूमा असर परेको बताए । चालु आर्थिक वर्षमा सडकपछि खानेपानीलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २७, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?