बझाङमा पानी ट्यांकी फुटेर २ जनाको मृत्यु - सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङमा पानी ट्यांकी फुटेर २ जनाको मृत्यु 

वसन्तप्रताप सिंह

बझाङ — जिल्लामा पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ । बझाङको तलकोट गाउँपालिका १, चौडमा पानी ट्यांकी फुटेर स्थानीय ५२ वर्षीया गोकुल कुँवर र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गतको लिफ्ट सिँचाईका लागि निर्माण गरिएको पानी जम्मा गर्ने ट्यांकी खोल्न खोज्दा गोकुलको घटनास्थलमै र सुन्दरीको उपचारको क्रममा मृत्यु भएको हो । उक्त परियोजनाद्वारा निर्माण गरिएको ट्यांकीबाट पानी चुहिन थालेपछि हप्ता दिनअघि मर्मत गरिएको थियो ।

सेती नदीबाट तानेको पानी चौड गाउँमा रहेको ट्यांकीमा जम्मा गरेर खेत सिँचाई गर्ने योजना बनाइएको थियो । मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्यांकी फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए ।

कम गुणस्तरको निर्माणका कारण ट्यांकी फुटेर स्थानीयको ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयले निर्माणमा संलग्न उपभोक्ता समिति र प्राविधिकहरुले आर्थिक प्रलोभनमा परी गुणस्तरहीन काम गरेका कारण ट्यांकी फुटेको आरोप लगाएका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

२०७० सालको चुनावमा म माथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : दाहाल 

'संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन्'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार गरेका छन् । रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका हुन् । 

जनप्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै दाहालले भने, 'संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।'

पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पठाएर रुकुम पूर्वतिर लागेका दाहालले भने, 'फटाहा-फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो । आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।'

दाहालले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको पनि दाबी गरे । 'प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन । जनयुद्धबाट प्राप्त उपलब्धिमाथिको षड्यन्त्र रोकिएको छैन । समाजवाद उन्मुख संविधान खतरामा छ । संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन् । हामी त्यसका विरुद्ध लडिराखेका छौं,' दाहालले भने ।

मुलुकमा निरंकुशतन्त्र ल्याइदिए हुन्छ भन्ने केही शक्तिलाई लागेको तर जनताले त्यस्ता शक्तिलाई परास्त गर्ने दाहालको भनाइ थियो ।

प्रकाशित : चैत्र २४, २०७७ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×