१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भरिन थाल्यो आइसोलेसन

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्पताल धनगढीमा उपचाररत धनगढी मित्रनगरका ५० वर्षीय संक्रमितको शनिबार बिहान मृत्यु भएको छ ।

अन्य तीन जना संक्रमितको अस्पतालमै उपचार भइरहेको छ । योसँगै हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । सुदूरपश्चिममा पछिल्लो समय संक्रमणको अवस्था जटिल बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

चैत १४ गते भारतबाट आएकाहरूबाट संकलित नमुना परीक्षणका लागि काठमाडौं पठाइएकामध्ये तीन जनामा नयाँ प्रकारको भाइरस फेला परेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘त्यसबारे विस्तृत विवरण त आएको छैन, नयाँ भाइरस फेला परेको र थप अध्ययन भइरहेको जानकारी प्राप्त भएको छ,’ प्रजिअ रिजालले भने । अहिले भारतबाट फर्किनेहरूमा संक्रमण फेला पर्न थालेको छ ।

उनीहरूलाई सुरक्षित स्थानमा राख्ने चटारोमा स्वास्थ्यकर्मीहरू छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले धनगढीनजिकै कनरीमा ६० शय्याको आइसोलेसन कक्ष स्थापना गरेको छ । शुक्रबारसम्म त्यहाँ ५९ जना पुगिसकेका छन् । थपिने क्रम दिनदिनै बढिरहेको छ । ‘संक्रमितहरूको संख्या बढेको बढ्यै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘६० बेडको आइसोलेसन कक्ष भरिन थालिसक्यो, अब अरूलाई कहाँ राख्नु ?’

भारतका विभिन्न सहरमा संक्रमण बढ्न थालेपछि रोजगारीका लागि पुगेका सुदूरपश्चिमेलीहरू घर फर्किन थालेका हुन् । उनीहरूको जाँचका लागि स्वास्थ्य कार्यालयले गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण डेस्क स्थापना गरेको हो । ‘दैनिक करिब २० जना संक्रमित फेला परिरहेका छन्,’ डेस्कका स्वास्थ्यकर्मी अमित विकले भने । अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू बेखर्ची भएपछि भारततिरै लागेका थिए । अहिले भारतमा फेरि पहिलाकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्किन थालेका हुन् । उनीहरूसँगै संक्रमण भित्रिने त्रास बढेको छ । ‘दैनिक सरदर सात सय जना भारतबाट घर फर्किरहेका छन्,’ स्वास्थ्यकर्मी विकले भने । उनका अनुसार पोजिटिभ देखिएकालाई कनरीस्थित आइसोलेसनमा पठाउने गरिएको छ । जोखिम बढेसँगै संक्रमित राख्न आइसोलेसनको तयारी गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

प्रकाशित : चैत्र २२, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?