गोली लागी घाइते भएका बैतडीका युवकको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार

गोली लागी घाइते भएका बैतडीका युवकको मृत्यु

तृप्ति शाही

बैतडी — आफैले चलाएको गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका अन्दाजी २५ वर्षीय लक्ष्मण चन्द हुन् ।

जिल्लामा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा बुधबार चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

चैत १४ गते घरमै रहेका बेला आफैले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएका थिए । प्रहरीले चन्दको घरबाट बन्दुक बरामद गरेको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

सांसदहरुको प्रश्‍न- सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो ?

रासस

काठमाडौँ — पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकारसमक्ष माग गरेका छन् ।   

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा डिला सङ्ग्रौला पन्तले कामविहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनःस्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाए । उनले ईपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करिब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराए ।

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीले केही समयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिएका सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद बलबहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताए ।

सांसद दिव्यमणि राजभण्डारीले कोभिड–१९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौताअनुरुप बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि तदारुकता देखाउन सरकारसँग माग गरे । सांसदद्वय बालकृष्ण खाँण र प्रकाश रसाइली ‘स्नेही’ले बागलुङमा हालै कांग्रेस कार्यकर्तामाथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरे ।

शून्य समयमा बोल्दै सांसदहरु देवेन्द्र कँडेल, दिलकुमारी, देवप्रसाद तिमिल्सिना, नवराज सिलवाल, नारायणप्रसाद खतिवडालगायतले समसामयिक विषयमा सभामुखमार्फत संसद् र सरकारको ध्यानाकर्षण गराए थिए ।

प्रकाशित : चैत्र १८, २०७७ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×