कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छोरी बलात्कार आरोपमा पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुबा बिहीबार राति पक्राउ परेका छन् । प्रहरीका अनुसार फागुन २२ गते राति बुंगल नगरपालिकास्थित घरमा सुतिरहेकी छोरीलाई मदिराको नशामा रहेका बाबुले बलात्कार गरेका थिए ।

छोरी बलात्कार आरोपमा पक्राउ

‘छोरा (५ वर्षका) र म माथि खाटमा सुतेका थियौंं, छोरी त्यही कोठाको भुइँमा सुतेकी थिई, राति ११ बजे खाटमा अप्ठ्यारो भयो, म भुइँमा सुत्छु भनेर ऊ छोरीसँग सुत्न गयो,’ पीडित बालिकाकी आमाले भनिन्, ‘केहीबेरमा त छोरी चिच्याउन थाली, के भएछ भनेर सिरक उठाएर हेर्दा त पापीले बलात्कार गर्दै रहेछ ।’

त्यसपछि आफूले छोरीलाई छुटाएर छोरा सुतेकै अवस्थामा छोडेर भागेको र गहुँबारीमा गएर लुकेको बताइन् । श्रीमान्ले आफूहरूलाई केहीबेर लखेटे पनि अँध्यारोमा लुकेकाले भेट्न नसकेको बालिकाकी आमाले बताइन् । दाङ माइती भएकी उनले घटनाबारे केही छिमेकीलाई जानकारी गराए पनि वास्ता नगरेपछि राति नै घरमा सुटुक्क पसी छोरालाई समेत लिएर माइतीघर दाङ गएर घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् ।

दाङ प्रहरीले बझाङ प्रहरीलाई नै घटनाका विषयमा जानकारी गराउन भनेपछि उनले फोनमार्फत उजुरी दिएकी थिइन् । पीडितकी आमाले फोनमार्फत जानकारी दिनेबित्तिकै प्रहरीले उनका श्रीमान्लाई निगरानीमा राखेको थियो । बझाङ प्रहरीमा उजुरी दिन बिहीबार आमाछोरी आइरहेको जानकारी पाएपछि पीडक भागेर देउलेक पुगेका थिए । ‘पीडितकी आमाको फोन आउनेबित्तिकै उसलाई निगरानीमा राखेका थियौं,’ जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्काले भने, ‘फोनकै आधारमा मात्रै पक्राउ गर्न हामीलाई पनि गाह्रो भइरहेकाले तपाईंहरू यतै आएर उजुरी दिनुस् भन्यौं । उहाँहरू आउन लागेको थाहा पाएर भाग्न खोजेको रहेछ । हामीले पक्राउ गरिहाल्यौं ।’

पीडकलाई भागेर धनगढीतर्फ जान लागेको अवस्थामा बित्थडचिर गाउँपालिका–४, देउलेखबाट पक्राउ गरिएको र बझाङ जिल्ला अदालतबाट हिरासतमा राख्न ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । छोरी र आमालाई मदिराको मातमा कुटपिट गरेको र गहुँबारीमा लखेटेको स्वीकार गरे पनि बलात्कार गरेको नस्विकारेको प्रहरीको भनाइ छ । ‘उसले अन्य सबै घटना क्रममा आफू सहभागी भएको स्वीकार गरे पनि बलात्कार गरेको स्विकारेको छैन । घटनाक्रम हेर्दा बलात्कार भएको प्रस्ट देखिन्छ । अनुसन्धान भर्खर सुरु भएको छ । बाँकी खुल्दै जाला,’ डीएसपी खड्काले भने ।

पीडित बालिका, उनकी आमा र भाइलाई अल्पकालीन महिला सुरक्षा आवास गृहमा राखिएको छ । उनीहरूले गाउँमा पुन: फर्किंदा आफूमाथि सुरक्षा खतरा रहेको जनाएपछि प्रहरीकै पहलमा आवास गृहमा राखिएको र पीडितको सुरक्षाका लागि प्रहरी चनाखो रहेको जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका इकाई प्रमुख पार्वती अवस्थीले जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन २८, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?