कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

धनगढीमा एमालेका रावल र थापा पक्षीय कार्यकर्ताबीच झडप 

अर्जुन शाह

धनगढी — धनगढीको चटकपुरस्थित साविक नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमाले कार्यालय स्थापना गर्ने क्रममा बुधबार ईन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको छ ।

धनगढीमा एमालेका रावल र थापा पक्षीय कार्यकर्ताबीच झडप 

थापा पक्षले कार्यालयभित्र रहेको ईन्चार्ज रावलको कार्यकक्षको ढोकामा रहेको नाम प्लेट हटाएर लेखराज भट्टको नाम प्लेट टाँसेपछि दुवै पक्षका युवा कार्यकर्ताहरुबीच झडप भएको हो । रावलको प्लेट हटाएपछि हात हालाहाल भएको युवासंघका दिपक सिंहले बताए । बिहान रावल पक्षीय कार्यकर्ताले नेकपा (एमाले)को बोर्ड टाँसेका थिए । दिउँसो अध्यक्ष थापा नेतृत्वको समूहले उक्त बोर्ड हटाएर अर्को बोर्ड झुण्ड्यायो । रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र थापा ओली समर्थन हुन् ।

कैलाली प्रशासनले संभावित झडपको आकलन गरेर बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको थियो । एमालेले उक्त भवन भाडामा लिएर प्रदेश कार्यालय स्थापना गरेको थियो । माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सोही भवनमा नेकपाको प्रदेश कार्यालय स्थापना गरिएको थियो । त्यतिञ्जेल घरधनीसँग नेकपाकै सम्झौता थियो ।

पछिल्लो समय नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षबीच दरार आएपछि दाहाल–पक्षीय नेकपाका ईन्चार्ज रहेका रावलले त्यसअघिको सम्झौता भंग गरेर आफ्नै नामबाट घरधनीसँग सम्झौता गरेका थिए । हाल उक्त कार्यालय भवनको सम्झौता ईन्चार्जका हैसियतले आफ्नो नाममा रहेको रावलले बताएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाबाट ओली र नेपाल समूह दुबै पूर्ववत् एमालेमा फर्किए पनि नेता कार्यकर्ताहरुमा पुरानो तुष देखिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?