१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नौ मन्त्री फेरिए, बल्ल तयार पौडी पोखरी

नेपालगन्ज रंगशालामा शिलान्यासको ११ वर्षपछि मात्र पौडी पोखरी तयार
रूपा गहतराज

नेपालगन्ज — नेपालगन्ज रंगशालाभित्र रहेको पौडी पोखरी शिलान्यासको ११ वर्षपछि प्रयोगका लागि तयार भएको छ । मापदण्ड तयार गरी फागुन १४ देखि पोखरीमा परीक्षण सुरु गरिएको छ । फागुन २५ देखि पूर्ण सञ्चालनमा आउनेछ । पोखरी प्रयोगका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्षेत्रीय खेलकुद विकास समितिले शुल्क निर्धारणसमेत गरेको छ ।

नौ मन्त्री फेरिए, बल्ल तयार पौडी पोखरी

तत्कालीन युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले २०६६ सालमा शिलान्यास गरेको पौडी पोखरीको निर्माण कार्यले २०७३ सालमा दलजित श्रीपाइली खेलकुदमन्त्री भएसँगै बहुवर्षीय परियोजनामा परेपछि गति लिएको थियो । पौडी पोखरी निर्माण कार्य पूरा हुँदासम्म ९ जना मन्त्री परिवर्तन भइसकेका छन् । समितिले सर्वसाधारणका लागि प्रतिसिफ्ट २ सय र विद्यार्थीका लागि प्रतिसिफ्ट १ सय रुपैयाँ शुल्क निर्धारण गरेको साबिक मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।

एक सिफ्टमा १ सय ५० जनासम्मले पौडी खेल्न सक्नेछन् । मासिक, अर्धवार्षिक र वार्षिक सदस्यता शुल्कसमेत निर्धारण गरिएको छ । समितिले विशेष र सदस्य समूहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । सदस्य समूहका लागि बिहान ८–१० बजे र विशेष समूहका लागि बेलुकी ४ः३० देखि ६ः३० बजेको समय निर्धारण गरिएको चन्दले जानकारी दिए ।

‘सदस्य समूहका लागि बेलुकी ४ः३० देखि ७ः३० बजेसम्म निर्धारण गरिएको छ । सर्वसाधारण महिलालाई बिहान ११ देखि १ बजेको समय निर्धारण गरिएको छ,’ उनले भने, ‘महिलाका लागि दिइएको समयमा पुरुषलाई प्रवेश अनुमति छैन ।’

पौडी पोखरीका लागि प्रशिक्षक र लाइफगार्डको व्यवस्था गरिएको छ भने पौडी गर्नॅभन्दा पहिले अनिवार्य रूपमा नुहाउनुपर्ने नियम बनाइएको छ । पौडी खेल्नेहरूले अनिवार्य रूपमा ‘स्विमिङ कस्टम’ लगाउनुपर्ने नियम छ । कुल २१ करोड खर्चमा बनेको यो पौडी पोखरी कोरोना महामारीअगाडि तयार भएको हो । लकडाउनका कारण सञ्चालन हुन नसकेकामा अहिले मापदण्ड बनाएर गर्न लागिएको हो । पौडीको प्राविधिक जनशक्ति नहुँदा पनि पौडी पोखरी सञ्चालनमा कठिनाइ भइरहेको थियो ।

राखेपले २०७५/७६ मा तत्कालीन प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमै यो पौडी पोखरी सञ्चालनमा ल्याउने प्रयास गरेको थियो । निर्माण कार्य सम्पन्न नभएपछि अन्तिम समयमा स्थानीय होटलको पोखरीमा प्रतियोगिता गरिएको थियो । पौडी पोखरी सञ्चालनमा आउने आएपछि नेपालगन्जवासीमा उत्साह थपिएको छ । नेपालगन्ज देशकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिन्छ । ‘महिलाका लागि पनि विशेष व्यवस्था भएकाले अब सजिलो भयो,’ उद्योग वाणिज्य संघकी सदस्य विन्दु घर्तीमगरले भनिन्, ‘आम्दानीको स्रोत मात्र होइन, पर्यटन व्यवसायसमेत आकर्षित बन्न सक्छ ।’

खेलाडीले पनि शुल्क तिर्नुपर्ने ?

देशको खेलकुद नियामक निकाय राखेपको बजेटमा निर्माण भएको पौडी पोखरीमा खेलाडीहरूले समेत शुल्क तिरेर प्रयोग गर्नुपर्ने विवादास्पद मापदण्ड बनाइएको छ । राखेपअन्तर्गत क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्दले खेलाडीको स्तर हेरेर न्यूनतम शुल्क लिइने जानकारी दिए ।

‘हामीसँग चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरू छैनन् । सुरुआती खेलाडीहरूलाई न्यूनतम शुल्क लिइनेछ । तत्कालका लागि खेलाडीले पनि शुल्क तिरेरै पोखरी प्रयोग गर्नुपर्नेछ ।’ नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले खेलाडीले प्रशिक्षणका लागि पोखरी प्रयोग गर्दा शुल्क तिर्नुपर्ने मापदण्डप्रति असहमति जनाए । ‘मैले सबै कुरा त बुझेको छैन । पोखरी सञ्चालनमा आउन लागेको जानकारी पाएको थिएँ । कम्तीमा आठौं राष्ट्रिय खेलकुदमा सहभागी भएका खेलाडीहरूले पोखरीको प्रयोग निःशुल्क गर्न पाउनुपर्छ भन्ने संघको माग हो,’ अध्यक्ष वज्राचार्यले कान्तिपुरसँग भने, ‘यसबारे राखेप सदस्यसचिवज्यूसँग कुरा गर्नेछु ।’

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?