बन्द पसल कुर्दै बह्मदेवका व्यवसायी- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द पसल कुर्दै बह्मदेवका व्यवसायी

दिनेश रेग्मी, भवानी भट्ट

ब्रह्मदेव, कञ्चनपुर — व्यापारबाटै जीवन निर्वाह गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारका ५२ वर्षीय गोविन्द गिरीको व्यवसाय ११ महिनादेखि ठप्प छ ।

कञ्चनपुरको भीमदत्त नपा–९, ब्रह्मदेव बजारका घर, पसल र टहरा । यी पसल ११ महिनादेखि बन्द छन् । तस्बिर : दिनेश रेग्मी/कान्तिपुर

व्यापार गर्न नपाएर खाली बसेका गिरी हालैको एक दिन नेपाल–भारत सीमा महाकाली नदीको टनकपुर बाँधको डिलमा सुस्ताएका भेटिए । उनले त्यही डिलबाटै आफ्नो बन्द पसल र त्यही खेलिरहेका छोराछोरी नियालिरहेका थिए । ‘यो ठाउँ टनकपुर बाँध हुँदै भारत जाने–आउने बाटो हो । पहिलो लकडाउनदेखि व्यापार बन्द छ । अब बोर्डर कहिले खुल्छ, थाहै छैन,’ उनले भने, ‘पहिला बाख्रा पनि थिए, पोहोर साल हटाइदिएँ । अहिले टाइम पास गर्न गाह्रो भएर त्यत्तिकै यहाँ (बाँधको डिलमा) आई बसेको छु ।’

करिब तीन दशकअघि ब्रह्मदेव बजार आएका गिरीले सुरुका पाँच वर्ष यहीँ व्यापार गरे । केही वर्ष छाडेर फेरि यहीँ आएर व्यवसाय थालेको पनि १२ वर्ष भयो । तर एक वर्षदेखि उनलाई व्यापार नभएर सास्ती छ । ‘उः यो बजार छेउको मेरो दोकान हो । लकडाउन र महामारीका कारण बोर्डर सिल भएर बजार बन्द भयो,’ बन्द पसललाई देखाउँदै उनले भने, ‘मैले पहिल्यैदेखि व्यापार गर्थें । तर यस्तो अवस्था कहिल्यै भोग्नुपरेको थिएन ।’ यहाँ उनको खेलौना पसल छ । चिनियाँ खेलौना वस्तुका मुख्य ग्राहक भारतीय नागरिक हुन् । व्यापारको मुख्य मौसम हरेक वर्ष फागु पूर्णिमादेखि सुरु भएर असारसम्म चल्ने सीमापारि पूर्णागिरि मन्दिरको मेला हो ।

भारत उत्तराखण्डको चम्पावत जिल्लास्थित चुरे डाँडामा रहेको पूर्णागिरि मन्दिरमा दर्शन गरेपछि मनोकांक्षा पूरा हुने विश्वासमा भीमदत्त–९ ब्रह्मदेवस्थित सिद्धनाथ (सिद्धबाबा) मा पूजा गर्न आउँछन् । यही विश्वासका कारण पूर्णागिरि मेलाको अवधिमा ब्रह्मदेव बजारमा निकै बढी चहलपहल हुन्छ । पुर्णागिरिको मन्दिर ब्रह्मदेवपारिको टनकपुरदेखि करिब १५ किमि उत्तरमा पर्छ । सिद्धनाथको मन्दिरमा जब पूर्णागिरि मन्दिरबाट दर्शनार्थी आउँछन्, गिरीको व्यापार चम्किन्थ्यो । १९९० सालमा स्थापित सिद्धनाथ मन्दिरमा वार्षिक करिब ८० लाख दर्शनार्थी आउने गरेको मन्दिरमा टाँगिएको बोर्डमा उल्लेख छ । गिरीको मात्र होइन, ब्रह्मदेव बजारकै व्यापारको यो मुख्य सिजन पूर्णागिरि मेला हो । अघिल्लो वर्षको लकडाउन र सीमा सिलले मेला लागेन । यसपालि पनि नाका नखुलेकोले मेला हुने, नहुने निश्चित छैन ।

कञ्च‍नपुरको भीमदत्त नगरपालिका–९, ब्रह्मदेव बजारका ५२ वर्षीय गोविन्द गिरी टनकपुर बाँधको डिलमा बसेर आफ्नो बन्द पसल (दायाँतर्फको रातो–सेतो माटो पोतेको घर) नियाल्दै । गिरीसहित अधिकांश पसल ११ महिनादेखि बन्द छन् ।

नेपाल–भारत सीमा नाका बन्द हुँदा भीमदत्त पन्तको सालिक भएको ब्रह्मदेव चोक, सिद्धनाथ मन्दिर र बजार वरपर मान्छेको चहलपहल न्यून छ । स्थानीयलाई लक्ष्य गर्दै न्यून संख्यामा पसल खुलेका छन् । प्रायः पसल बन्द छन् । ब्रह्मदेव बजार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट १३ किमि उत्तर–पश्चिममा पर्छ । ब्रह्मदेवमा प्रहरी चौकीसहित, होटल, चियापसल, कपडा पसल, किराना पसल, टेलरिङलगायत करिब अढाइ सय पसल छन् । ‘मैले खेलौनाका सामान धेरै बेच्थें । सीमापारिबाट भारतीयहरू खेलौना, बाम भिक्स, टर्च, चप्पल, छाता, जुत्ता, ज्याकेट किन्न आउँथे,’ गिरीले भने, ‘मैले इन्डियाबाट पनि सामान किनेर ल्याएर बेच्थें, महेन्द्रनगर वा जहाँ मिल्छ, त्यहाँबाट किनेर ल्याई बेच्थें । अहिले पाएको छैन ।’ यो भन्सार नभएर आवागमन गर्ने नाका हो । सीमापारिबाट लुगाफाटो किन्न आउँछन्, यताबाट नुनतेल गर्न जान्छन् ।

ब्रह्मदेव बजारबाट बाँधको डिलनिरका टहरा खाली छन्, जुन पूर्णागिरि मेला लाग्दा राख्न बनाइएका थिए । अहिले ती खाली मात्र छैनन्, भताभुंग पनि छन् । ‘यहाँ व्यापार गर्नेको लाइनै हुन्थ्यो, अहिले सुनासान छ,’ उनी प्रश्न गर्छन्, ‘अब कहिले होला पहिला जस्तो ?’ ब्रह्मदेव बजारबाट १० मिनेटमा टनकपुर ब्यारेज पुल पुगिन्छ । टनकपुर ब्यारेजको चार किमि पारि भारतको टनकपुर बजार छ ।

पूर्णागिरि मेलाका दर्शनार्थी टनकपुर बजार हुँदै बाँधसम्म गाडीमा पुग्छन् । त्यहाँबाट पैदलै मन्दिर दर्शन गर्नुका साथै किनमेल पनि गर्छन् । सीमा नाका सहज हुँदा मोटरसाइकलमा ओहोर–दोहोर गर्ने पनि उत्तिकै हुन्छन् ।

पलायन हुँदै व्यापारी

यस वर्ष पनि पूर्णागिरि मेलाको सिजन नजिकिँदै छ । तर ०७६ चैत्र ११ गतेको लकडाउनदेखि नै बन्द नाकाहरु कहिले खुल्ने निश्चित छैन । सरकारले माघ ११ गते भारतसँग जोडिएका देशभरिका ३० नाकामा आवागमन खुला गर्ने निर्णयसँगै कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका पनि खुले । तर यी दुवै नाकामा अहिले पनि सहज आवागमन हुन सकेको छैन । भारतीयलाई नेपाल भित्रिन गृह मन्त्रालयको अनुमति अनिवार्य गरिएको छ भने नेपालीहरु भारतीयले तोकेको समयभित्र लाइन लागेर प्रस्थान गर्नुपर्छ ।

यहाँका उद्योगी व्यवसायीहरुले नाका खुलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइसकेका छन् । सीमावर्ती भारतीय क्षेत्रका व्यापारीहरुले पनि पटक-पटक नाका खुलाउन माग राख्दै आएका छन् ।

मन्दिरको आम्दानी पनि गुम्यो

पूर्णागिरि मेलामा आउने दर्शनार्थीको भेटी र दानले सिद्धनाथ मन्दिरको आम्दानी एक करोड रुपैयाँको हाराहारीमा हुने गरेको थियो । एक वर्षदेखि आम्दानी ठप्प भएपछि मन्दिरको आम्दानीमात्रै गुमेको छैन, व्यापारीहरु समेत पलायन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्काले सुनाए । ‘मेला अवधिका प्रसादीको ठेक्कामात्रै एक करोड रुपैयाँभन्दा बढीको हुन्थ्यो,’ खड्काले भने, ‘दर्शनार्थीहरुबाट उठ्ने भेटीको रकम पनि राम्रै हुन्थ्यो ।’ मन्दिर व्यवस्थापन समितिले प्रसादी र भेटीबाट संकलित रकमबाट सडक निर्माण, खानेपानी मर्मत र विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गर्दै आएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सुनसान ब्रह्मदेव बजारका पसल । ब्रह्मदेवका भएका करिब अढाई सय पसलमध्ये अधिकांश पसल ११ महिनादेखि बन्द छन् । तस्बिर : दिनेश रेग्मी/कान्तिपुर



प्रकाशित : फाल्गुन १९, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली गाउँमा भारतको सिमकार्ड

नेपाल टेलिकमको टावर बने पनि खल्ला, टुँडिखेल र मुसेट्टी गाउँमा भारतीय सिमकै भर पर्नुपर्छ
दिनेश रेग्मी, भवानी भट्ट

ब्रह्मदेव (कञ्चनपुर) — गत असारमा भीमदत्त नगरपालिका–९ खल्ला गाउँमा बिजुलीको तार टाँग्ने क्रममा पोल भाँचियो । २५ वर्षीय रोहित लुहार गम्भीर घाइते भए । एम्बुलेन्स चालकसँग ढिलो मात्रै फोन सम्पर्क हुन सक्यो, जसका कारण उपचारमा ढिलाइ हुँदा उनको अस्पताल पुग्नेबित्तिकै ज्यान गयो ।

भारतीय सिमकार्ड प्रयोग गरी आफन्तसँग कुरा गर्दै कञ्चनपुरको बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर विक । तस्बिर : दिनेश रेग्मी/कान्तिपुर

सदरमुकाम महेन्द्रनगर बजारबाट १८ किमि उत्तर–पश्चिममा पर्छ, खल्ला गाउँ । स्थानीय बैजनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर विकले नियमितजसो नगर शिक्षा शाखामा सम्पर्क गरिराख्नुपर्छ । तर खल्लामा कुनै पनि नेपाली दूरसञ्चार प्रदायक कम्पनीको सेवा उपलब्ध छैन । त्यसैले भारतीय सिमकार्ड प्रयोग गर्नुको विकल्प छैन । उनका अनुसार भारतीय सिम प्रयोग गरी नेपाली मोबाइल नम्बरमा फोन गर्दा प्रतिमिनेट १८ रुपैयाँ जति लाग्छ । ‘शिक्षा विकास तथा समन्वय इकाइ र नगरपालिकाको सामाजिक विकास समितिका पदाधिकारीहरूले तपाईलाईं फोन कन्ट्याक्ट नै हुँदैन भनेर गाली गर्छन्,’ प्रधानाध्यापक विकले पीडा सुनाए, ‘कुनै सूचना र सेवासुविधाबारे थाहा पाउन सातादस दिन कुर्नुपर्छ, कुनै सूचना त म्याद गुज्रिएपछि मात्र थाहा हुन्छ ।’

६ महिनाअघि विकले बुबाको निधनको खबर आफन्तलाई सुनाउन पनि उस्तै सास्ती खेप्नुपर्‍यो । ‘धनगढीमा बुबा बित्नुभयो, आफन्तलाई त्यहाँबाट त नेपाली नम्बरबाटै खबर गर्‍यौं,’ हाल बरखीमै रहेका विकले कान्तिपुरसँग भने, ‘तर जब घर आयौं, त्यसपछि फोनै लागेन, असाध्यै कष्ट भोग्नुपर्‍यो अनि भारतीय नम्बरबाटै फोन गर्‍यौं ।’

भीमदत्त–९ स्थित खल्ला, टुँडीखेल र मुसेट्टीमा साढे चार सयभन्दा बढी घरपरिवार बस्छन् । यी तीन गाउँमा नेपाली सिमकार्डले काम गर्दैन । उनीहरूलाई भारतीय सिमकार्ड अनिवार्यजस्तै छ । नेपाली सिमकार्ड प्रयोग गर्न बस्तीबाट करिब १५ मिनेट हिँडेर महाकाली नदीको भंगालोतिर या ब्रह्मदेव बजार नै झर्नुपर्छ । कोरोना महामारीका कारण झन्डै एक वर्षदेखि नाका बन्द रहँदा रिचार्ज कार्ड अभावमा भारतीय सिम प्रयोग गर्नसमेत अप्ठ्यारो भएको स्थानीय बताउँछन् ।

खल्ला र मुसेट्टीमा गत पुसदेखि विद्युत् सेवा पुगेको छ । दुवै गाउँको बीचमा पर्ने टुँडीखेलमा नेपाल टेलिकमको टावर भए पनि सञ्चालनमा आएको छैन । उक्त टावरअगाडि नै घर भएका ५५ वर्षीय हीरा दमाईलाई टावर हुनु र नहुनु एकै छ । ‘टावर बनेको त छ तर चलेको छैन, यहाँ इन्डियन मोबाइल मात्रै चल्छ,’ उनले भने, ‘इन्डियाको गेट (सीमा) बन्द हुँदा रिचार्ज कार्ड किन्न नपाइएकाले त्यही फोन चलाउन पनि गाह्रो भइरहेको छ ।’

विद्यालय, स्वास्थ्यचौकी तथा गत असोजमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) पनि भारतीय सिमकार्डमै निर्भर छन् । यहाँ २२ जना सशस्त्र प्रहरी खटिएका छन् । नेपाली सिमकार्डले काम नगर्ने भएकाले बीओपीको साइनबोर्डमा समेत सम्पर्क नम्बर खाली छाडिएको छ ।

फागुनभित्र टुँडीखेलको टावर सञ्चालनमा आउने नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख रूपसिंह रावलले बताए । अप्टिकल फाइबर बिछ्याउने काम भइरहेकाले छिट्टै खल्ला क्षेत्रमा पनि नेटवर्क विस्तार हुने उनको भनाइ छ । ‘टावर सञ्चालनमा आएपछि खल्ला र टुँडीखेलमा नेटवर्क टिप्छ । तर मुसेट्टीमा नटिप्न पनि सक्छ, यसबारे अहिल्यै भन्न सकिन्न,’ उनले भने । मोबाइल प्रयोगकर्ता ग्राहकका आधारमा मुसेट्टीमा अर्को टावर निर्माण पनि गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×