जग्गा पाइने लोभमा वनमा धमाधम टहरा- सुदूरपश्चिम - कान्तिपुर समाचार

जग्गा पाइने लोभमा वनमा धमाधम टहरा

सरकारको भूमि आयोग गठन भएयता वन अतिक्रमण गर्दै डेढ सातामा थपिए तीन सय टहरा 
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको लालझाडी मोहना संरक्षित क्षेत्रअन्तर्गत भेटघाट शिविर र बयलकुन्डी क्षेत्र बाढीपीडितका नाममा वर्षौंदेखि अतिक्रमित छ । पछिल्लो समय भने उक्त क्षेत्रमा टहरा बनाउने क्रम झन् बढेको छ । जग्गा पाउने लोभमा वन अतिक्रमण गरेर धमाधम टहरा बनाउने क्रम बढेको हो ।

कञ्चनपुरको कृष्णनगर नगरपालिका क्षेत्रमा पर्ने नवदुर्गा सामुदायिक वनको भेटघाट शिविरमा बनाएका टहरा भत्काउँदै सुरक्षाकर्मी । तस्बिर सौजन्यः सवडिभिजन वन कार्यालय वाणी ।


जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएपछि वन क्षेत्रमा धमाधम घरटहरा बन्न थालेका हुन् । ‘एक/डेढ हप्तायता वन अतिक्रमण गरेर धमाधम घर टहराहरू बनिरहेका छन्,’ सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘वनका कर्मचारी टहरा भत्काउने र अतिक्रमणकारीले भने रातारात टहरा बनाउने क्रम चलिरहेको छ ।’ डेढ सातायता विभिन्न क्षेत्रमा गरी तीन सय बढी छाप्राहरू थपिएका छन् ।

सबडिभिजन वन कार्यालय वाणीले मंगलबार बयलकुन्डी क्षेत्रमा एक दर्जन बढी टहराहरू भत्काएको छ । त्यसको अघिल्लो दिन भेटघाट शिविर, त्यस नजिकै कुमगडा, गौजेगडा र एक्लेगडामा ३५ भन्दा बढी टहरा भत्काएको सबडिभिजन वन कार्यालय वाणीका प्रमुख बालमुकुन्द भट्टले बताए । टहरा भत्काउँदा झडपकै अवस्था आउने गरेको उनले बताए । भेटघाट शिविरमा बसोबास गर्नेहरू ब्यानर बोकेर आन्दोलनमै निस्किने गरेका छन् । ‘जग्गा पाउने आसमा धमाधम टहराहरू बनाइरहेका छन्,’ भट्टले भने, ‘हामी भत्काउँछौं, भोलिपल्ट फेरि बनाइहाल्छन् ।’ उनका अनुसार सोही क्षेत्रमा घरजग्गा भएकाले समेत वन क्षेत्रमा टहरा बनाएका छन् । टहरा बनाएर बालबालिका र महिलालाई बसाइएको उनले बताए ।

भेटघाट शिविरमा २०६५ देखि छाप्राहरू बनाएर बसोबास गर्न थालेका हुन् । बाढीपीडितका नाममा एक सय बढी छाप्राहरू बनाइएका छन् । पछिल्लो पटक नयाँ छाप्रा थपिने क्रम पनि बढेको छ । बयलकुन्डी क्षेत्र मछेली नदी किनारमा पर्छ । यहाँ राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा निर्माण भइरहेका हुन् । कञ्चनपुरकै पुनर्वास नगरपालिका–९ सीताबस्तीको जनजागरण सामुदायिक वनमा पनि टहरा निर्माणको काम भइरहेको छ । उक्त क्षेत्रमा पनि आधा दर्जन टहरा निर्माण भएको सबडिभिजन वन कार्यालय कुन्डाका सहायक वन अधिकृत दिनेश यादवले बताए ।

जिल्लाका सबै स्थानीय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोगले लगत संकलनको काम सुरु गरेको छ । जो जहाँ बसेका छन् त्यही ठाउँमा जमिन दिने हल्ला फैलाइएका कारण घरजमिन भएकाहरू पनि धमाधम वन क्षेत्रमा टहरा निर्माण गरिरहेको सामुदायिक वन समन्वय समितिका अध्यक्ष पन्त बताउँछन् । उनका अनुसार सामुदायिक वनहरूले पनि अतिक्रमण रोकथामको पहल गरिरहेका छन् ।

पुरानो अतिक्रमित क्षेत्र भेटघाट र बयलकुन्डीमा अहिले धमाधम टहरा बनिरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताए । ‘पुरानो अतिक्रमणका कारण नयाँ अतिक्रमण हुन थालेको छ,’ उनले भने, ‘अब हामी पुरानो अतिक्रमण पनि हटाउने गरी योजना निर्माण गरिरहेका छौं ।’ उनले नयाँ अतिक्रमण हुन नदिन दिनहुँ घर टहराहरू भत्काउने काम भइरहेको बताए ।

कञ्चनपुरमा ८८ हजार २ सय हेक्टर वन क्षेत्र छ । डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकामा २ सय १, वेदकोटमा ६ सय ३३, शुक्लाफाँटामा ८ सय ७९, कृष्णपुरमा १ हजार ८६, लालझाडीमा ३ सय ८१, बेलौरीमा १२ हेक्टर गरी जिल्लाभरिमा ३ हजार १ सय ९२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । भीमदत्त नगरपालिकाको खल्ला मुसेट्टी, शुक्लाफाँटाको पिल्लहरी फाँटा, वेदकोटको पोल्खरी र बगुन तथा कृष्णपुरका भेटघाट र बयलकुन्डी क्षेत्र वर्षौंदेखि अतिक्रमणमा परेका छन् । खल्ला मुसेट्टी, पिल्लरीफाँटा र पोल्खरी क्षेत्रमा बाक्लो बस्ती छ । पोल्खरीमा २०२२ देखि नै बसोबास भए पनि उक्त क्षेत्र वनमै राखिएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

तरकारीमा रोकिएन विषादी

कान्तिपुर संवाददाता

धनकुटा — तरकारी बालीमा मानव स्वास्थ्यका लागि अत्यन्त घातक हुने विषादी प्रयोग गर्ने गरे पनि त्यसको नियन्त्रणका लागि विनियोजित लाखौं बजेट औपचारिक गोष्ठीमै सकिने गरेको छ । तरकारी खेतीका लागि अग्रणी धनकुटामा अघिल्ला वर्षहरूमा देखिएको समस्या न्यूनीकरण नभएको उपभोक्ताको गुनासो छ ।

तरकारी किसानले कीटनाशक र रोगनाशक गरी दुई प्रकारका विषादी प्रयोग गर्दै आएका छन् । तर विषादीको प्रयोग घटाउन र भरसक प्रयोग नै नगर्न उल्लेख्य बजेट रहे पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरिँदा मानव स्वास्थ्यमा समस्या देखापर्न थालेको छ । विषादी प्रयोग नगर्न कृषि समूहमार्फत किसानलाई सचेतनामूलक गोष्ठीलगायत औपचारिकतामा सीमित हुने गरेको छ । संघीय, प्रदेश तथा स्थानीय पालिकामार्फत विषादी न्यूनीकरणका लागि विनियोजित लाखौं बजेट प्रभावहीन देखिएको छ ।

किसानले कीटनाशक विषादीका रूपमा साइफरमेसिन, क्लोरोफाइडिप्स, थायडिन, डाजागाड, किङस्टारलगायत विषादी प्रयोग गर्दै आएको धनकुटा नगरपालिका कृषि सेवा प्रमुख भक्तमान राईले बताए । रोगनाशक विषादीका नाममा उनीहरूले डाइमिटाफर्मा, डाइटानेम ४५ क्लिरोसिल, क्लोरियमलगायत विषादी प्रयोग गर्दै आएका छन् । ती विषादी तरकारी बालीमा प्रयोग नगर्न र प्रयोग घटाउन भनिए पनि अझ अत्यधिक मात्रामा प्रयोग गरिँदा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरेको छ ।

टमाटर, खुर्सानीलगायत बालीमा त्यस्ता विषादीको मात्र अधिक प्रयोग गरिने राईको भनाइ छ । नगरपालिकाले विषादी न्यूनीकरण तथा प्रांगारिक खेतीबारे बजेट विनियोजन हुने भए पनि त्यसबारे आफूलाई जानकारी नगराइने उनको गुनासो छ । ‘कर्मचारी र गैरकृषि प्राविधिकको मिलेमतोमा बजेट सकिने गरेको छ,’ उनले भने, ‘आफूहरू सम्बन्धित भए पनि असम्बन्धित व्यक्तिले औपचारिकतामा बजेट खर्चिने गरेको छ ।’

यता कृषि ज्ञान केन्द्र धनकुटामा यस वर्ष विषादी घटाउन र त्यसको विकल्पमा प्रांगारिक खेती गर्न किसानका लागि १ करोड ७० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट कृषक सहकारी, समूह र व्यक्तिगत फर्मका प्रतिनिधिलाई प्रांगारिक खेतीका लागि अनुदान दिन लगानी गरिने ज्ञान केन्द्रका प्रमुख पूर्णमाया लिम्बूले बताए ।

प्रत्येक वर्ष विषादी न्यूनीकरणका लागि कृषि ज्ञान केन्द्र तथा पालिकास्तरीय कृषि केन्द्रमा बजेट विनियोजन हुने गरेको छ । प्रायः बजेट औपचारिक कार्यक्रममा सीमित हुने गरेको छ । जसका कारण उद्देश्यअनुसारको उपलब्धि हात परेको छैन । भकारो सुधार, थोपा सिँचाइ, प्लास्टिक घरलगायतका लागि बजेट विनियोजन गरिएको ज्ञान केन्द्र प्रमुख लिम्बूले बताइन् । ‘विषादी प्रयोग न्यूनीकरण जरुरी छ,’ उनले भनिन्, ‘किसानलाई बर्सेनि सचेतनाका कार्यक्रम गरिए पनि ठोस प्रभावकारी हुन सकेको छैन ।’

प्रकाशित : फाल्गुन १६, २०७७ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×