अछाममा वडाध्यक्षको अवैध मेडिकल सिल- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाममा वडाध्यक्षको अवैध मेडिकल सिल

मेनुका ढुंगाना

अछाम — अछामका एक वडाध्यक्षले अवैध रुपमा संचालन गरेको मेडिकल शनिबार सिल भएको छ ।

साँफेबगर नगरपालिका –१३ का वडाध्यक्ष सागर सिंह बाब्लीले बाब्लाका संचालन गरेको मेडिकलमा नेपालमै दर्ता नभएका औषधि राखेको, म्याद नाघेको औषधि बिक्रीवितरण गरेको र भेटेनरीको औषधि राखेको भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सिनाले बताए । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले ताला नै लगाएर सिल गर्न प्रशासनलाई पत्र पठाएको थियो ।

‘औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले ताला नै लगाएर बाब्ली मेडिकल हललाई सिल गरिदिनु भन्ने पत्र प्रशासनलाई आएकाले हामीले सिल गरेका हौं’, सहायक प्रजिअ तिमिल्सिनाले भने, ‘अनुगमनका क्रममा भेटेनेरी पढेको व्यक्तिले मेडिकल संचालन गरेको पाइयो । यसअघि पनि औषधि व्यवस्था विभागले अनुगमन गरेर सच्चिने मौका दिएको थियो ।’

औषधि ऐन २०३५ को दफा २० उपदफा ४ बमोजिम अनुगमनसहित कारबाही गरिएको तिमिल्सिनाले बताए । वडाध्यक्ष बाब्ली र उनकी श्रीमतीले नै मेडिकल संचालन गरेका हुन् । १५ दिनसम्म सिल गरेको प्रमाण औषधि व्यवस्था विभागमा पुर्‍याएपछि मात्रै नियमानुसार संचालन गर्न प्रक्रिया अघि बढ्ने छ । सिंह तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित : फाल्गुन ९, २०७७ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीले सडकबाट अदालतलाई धम्क्याए : गगन थापा

नारायण शर्मा

नवलपलरासी — कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउने गरेको बताएका छन् ।

‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ?’ बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको उनले चर्चा गरे । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिँडेका उदाहरण संसारमा कहीँकतै नभएको बताए ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाद्वारा आइतबार हुप्सेकोटमा आयोजित आमसभामा बोल्दै थापाले उक्त कुरा बताएका हुन् ।

‘केपी ओली सन्काहा हुन्,’ थापाले अगाडि भने, ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।’

प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको बताए ।

त्यसैगरि न्यायाधीशले विवेक पुर्‍याउँछन् कि पुर्‍याउँदैनन् भनेर जनताले प्रतीक्षा गरेका छन् भन्ने तर्क गरे । न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त रहेको थापाले सुनाए । उनले कम्युनिस्टहरु गरिबीमा उम्रिने र हुर्किने गरेकाले उनीहरुबाट विकास र स्थायित्वको काम हुनै नसक्ने बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×