१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोल्टीमा प्रसूति सेवा

बाजुरा, हुम्ला, कालीकोट र मुगुका नौवटा पालिकाका बासिन्दालाई सहज हुने
वसन्तप्रताप सिंह

बझाङ — बाजुराको दुर्गम कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियासहितको आकस्मिक प्रसूति सेवा सुरु भएको छ । कोल्टीमा यो सेवा सुरु भएसँगै बाजुरा, हुम्ला, कालीकोट र मुगुका नौवटा स्थानीय तहका बासिन्दालाई सहज हुने भएको छ ।

कोल्टीमा प्रसूति सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा. अर्जुनप्रसाद तिवारी, स्त्रीरोग विज्ञ डा. दिल शाही रोकालगायतको प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले शुक्रबार पहिलो सफल शल्यक्रिया गरेको हो । यो टोलीले मुगुको खत्याड गाउँपालिकाकी २९ वर्षीया निर्मला चदाराको शल्यक्रिया गरी प्रसूति गराएको थियो । ‘अपरेसन गर्ने सुविधा यहाँ नभएका कारण सालसालै हाम्रा दिदीबहिनीहरूले ज्यान गुमाउँदै आएका छन्,’ बुढीनन्दा–२ कोल्टीकी संगीता विष्टले भनिन्, ‘अब कोल्टीमै अपरेसन हुने भयो भन्ने खबरले हामी सबै खुसी भएका छौं ।’

यसअघि पूर्वाधारलगायतका उपकरण भए पनि एनेस्थेसिया विशेषज्ञ नहुँदा यहा शल्यक्रिया सेवा सुरु हुन सकेको थिएन । प्रतिष्ठानले एनेस्थेसिया विशेषज्ञ पठाएको हो । बुढीनन्दा नगरपालिकाको प्रशासन सहायक पदमा कार्यरत विष्टले नगरपालिकाले समस्यामा परेका सुत्केरीको उद्धारका लागि २० हजार रुपैयाँ अनुदान दिने गरे पनि भनेका बेला जहाज नआउने, राति उद्धार सम्भव नहुने भएकाले बर्सेनि सुत्केरीले ज्यान गुमाउँदै आएको बताइन् । गत असोज अन्तिम सातामात्रै सुत्केरीपछि अत्यधिक रक्तश्राव हुँदा बुढीनन्दाकी २३ वर्षीया अम्बकला रोकायाको मृत्यु भएको थियो । स्वास्थ्य केन्द्रमा प्रसूति गराउने सुविधा नभएका कारण जटिलता देखिएका महिलालाई स्थानीयले हजारौं खर्च गरेर सदरमुकाम मार्तडी वा नेपालगन्ज र धनगढी पुर्‍याउने गरेका थिए ।

‘बाजुरामात्रै नभएर कालीकोट, हुम्ला र मुगुबाट पनि समस्या परेका दिदीबहिनीहरू यतै आउनुहुन्छ । यहाँ शल्यक्रिया नभएका कारणले आपत्कालीन बिरामीलाई पनि बाहिर रेफर गरिरहेका थियौं,’ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमि देउमा धामीले भनिन्, ‘भाग्यले कोही बाँच्थे कोही बाटैमा ज्यान गुमाउँथे । कोल्टीमै सेवा सुरु भएपछि अब मातृ मृत्युदर धेरै घट्छ भन्ने विश्वास छ ।’ कोल्टीमा मात्रै मासिक ३० जना प्रसूतिका लागि आउने र तीमध्ये स्वास्थ्यमा जटिलता देखिएका करिब ७ जनालाई बाहिर पठाउने गरिएको उनले बताइन् ।

यहाँ छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका, कालीकोटको पलाता र पाचाल झरना गाउँपालिका, हुम्लाको ताजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकाका स्थानीय आउने गरेको स्वास्थ्य केन्द्रको तथ्यांकमा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बाजुरालगायत कर्णालीका धेरै जिल्लाका स्थानीयको पायक पर्ने ठाउँ कोल्टी रहेको र विशेषज्ञ सेवाको अभावमा धेरै महिलाको स्वास्थ्य जोखिममा देखेर आकस्मिक प्रसूति सेवा सुरु गरिएको बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?