१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

महाभारत क्षेत्रमा पानीको हाहाकार

वन फँडानी र सडक खन्ने होडबाजीले मूल सुक्न थाले
कान्तिपुर संवाददाता

डडेलधुरा — दुई साताअघि खानेपानी मुहानको विषयमा डडेलधुराको भागेश्वर गाउँपालिका–४ का दुई गाउँवासीबीच कुटाकुट हुँदा दुई जना घाइते भए ।

महाभारत पर्वतको सबैभन्दा मथिल्लो भेगका ती दुई गाउँको मुहानबारेको झगडा प्रहरी चौकीसम्मै पुग्यो । आफ्नो गाउंँमै पानी नपुगेकाले दिन नसकिने मेल्टा गाउँवासीको अडान थियो भने विकल्प नभएकाले त्यहीको मुहानबाट पानी लैजान पाउनुपर्ने आरुकुँडा गाउँवासीको माग थियो ।

गत माघ ११ गते सदरमुकामको अमरगढी–८ का बासिन्दाले खानेपानीको समस्या लिएर नगरपालिकाको कार्यालय घेराउ गरे । सदरमुकाममा ४० करोड रुपैयाँभन्दा बढीको योजना सञ्चालनमा रहे पनि आफूहरूले पानी नपाएको उनीहरूको गुनासो थियो । त्यसअघि वडा–६ का बासिन्दाले पनि खानेपानीको चर्को समस्या भोग्नुपरेको भन्दै सदरमुकाममा प्रदर्शन गरेका थिए । डडेलधुरा सदरमुकाम र आसपासका क्षेत्रलाई लक्षित गरी महाभारतको सतकटा लेकको मूलबाट पानी ल्याई वितरण भइरहेको छ । खानेपानीको समस्याबारे साविक कोटेली गाविसका दुई गाउँबीचको मुद्दा अहिले पनि जारी छ । अजमयेरु गाउँपालिकाको देवल क्षेत्रमा पनि खानेपानीको मूलको विषयमा तीनवटा मुद्दा चलिरहेका छन् ।

खानेपानीको संकट भोगिरहेको डडेलधुराका यी केही प्रतिनिधि घटना हुन् । पानीकै समस्याले विवाद, झगडा र प्रहरी चौकीदेखि अदालतसम्म मुद्दामामिला पुग्नु सामान्य भइसकेको छ । पानीको मुख्य स्रोत महाभारत क्षेत्रमा पछिल्लो दशकमा भएको वन फँडानी, जमिन अतिक्रमण र सडक खन्ने होडबाजीले पानीका मूल हराउने र सुक्ने समस्या देखिन थालेको छ, जसले खानेपानीसम्बन्धी विवाद बढेको हो । ‘जलवायु परिवर्तनको असर, वन फँडानी, अतिक्रमण र जथाभावी सडक निर्माणले डडेलधुरा मात्र होइन मध्यपहाडी क्षेत्र काकाकुल बन्न थालेको छ,’ खानेपानी विभागका पूर्ववरिष्ठ इन्जिनियर परीक्षित श्रेष्ठले भने, ‘एक दशकयता झन्डै ५७ प्रतिशतभन्दा बढी पानीका मूल सुकिसकेका छन् ।’

उनका अनुसार मानव सिर्जित समस्याका कारण नदीमा पानीको मात्रा आधाभन्दा बढी घटेको छ भने मध्यपहाडको जीवन रेखा मानिने महाभारतको संरक्षण हुन नसक्दा अधिकांश स्रोत समाप्त हुन थालेका छन् । ‘चुरे क्षेत्रमा भएको वन फँडानीका कारण भावर क्षेत्र पानीविहीन भइसकेको छ,’ उनले भने, ‘महाभारत संरक्षणमा ढिलाइ भए मध्यपहाडी क्षेत्रबाट खानेपानीका कारण विस्थापन हुने क्रम सुरु हुनेछ ।’ दुई वर्षयता खानेपानीको समस्याका कारण देवल क्षेत्रबाट करिब चार दर्जन परिवार विस्थापित भइसकेका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?